पानीको अभावमा शौचालय प्रयोगविहीन



बैतडी, (नेस)।

बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थित दुर्गा मावि सिमारमा खानेपानीको व्यवस्था नहुँदा समस्या हुने गरेको छ। विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीले विद्यालय नजिकै रहेका गाउँवाट पानी पिउन बाध्य भएका छन्।

चमेलिया किनारमै विद्यालय रहेको भएपनि खानेपानीको अभाव रहेको उक्त विद्यालयका शिक्षक गंगासागर जोशीले जानकारी दिनुभयो। पानीकै अभावमा शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेका छन्।

यसका साथै महिनावारी भएका बेला छात्राहरूलाई समेत समस्या हुने गरेको छ। खानेपानीको व्यवस्था गरिदिन डिलाशैनी गाउँपालिकालाई अनुरोध गरेको भएपनि कुनै चाँसो नदिएको विद्यालय व्यवस्थापनि समिति अध्यक्ष विरेन्द्र बहादुर बोहराले बताउनुभयो।

उक्त विद्यालयले चमेलिया जलविद्युत आयोजनाको प्रभावित क्षेत्र भएकोले उक्त आयोजनाले खानेपानीको व्यवस्था गरिदिने भनेपनि हालसम्म नगरेको उहाँले बताउनुभयो।

वि स २०१७ स्थापना भएको उक्त विद्यालयमा १२ कक्षासम्म पढाई हुदैं आएको छ। करिब ७५० विद्यार्थी उक्त विद्यालयमा विज्ञान विषय,प्राविधिकधारको समेत पढाई हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्