जताततै मानव अधिकार हनन्



रामधन राई, खोटाङ।

खोटाङमा यत्रतत्र मानव अधिकार हनन् भईरहेको वताईएको छ। राष्ट्रिय मानव अधिकार आयोगले दिक्तेलमा आयोजना गरेको ‘खोटाङ जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरूले यस्तो वताएका हुन्।

ज्येष्ठ नागरिकले यातायातमा ५० प्रतिशत छुट नपाएको, सरकारी कार्यालय ज्येष्ठ नागरिकमैत्री नभएको, विद्यालयको संरचना वालमैत्री र अपांगमैत्री नहुँदा मानव अधिकार हनन् भएको पूर्व प्राचार्य पवन थापाले वताउनुभयो।

‘अस्पताल जाऔं, बैंकमा जाऔं, बृद्ध–बृद्धा थरथर काम्दै लाईनमा उभिइरहेको देखिन्छ। छुट्टै काउन्टर बनाउँदा सहज हुन्थ्यो,’ थापाले भन्नुभयो–‘एक्सरे गर्न जाँदा तीन महिनापछि बोलाईन्छ, तीन महिना वित्दा उसको मृत्यु नै भइसकेको हुन्छ।’

यस्तै, नेतृ एबं अधिकारकर्मी डिल्लीकुमारी आचार्यले मानव अधिकार उल्लंघनका घटनामा राजनीतिकरण हुँदा अधिकारकर्मी नै विभाजित हुने स्थितिले वास्तविक पीडितले न्याय पाउन समस्या हुने गरेको औंल्याईन्।

युवा खेलाडी सञ्जयकुमार राईले सकेसम्म कतिपय घटना गाउँमै सामसुम पर्ने गरिएको, प्रहरीसम्म पुग्दा एक पक्ष दोषीलाई बचाउन र अर्को पक्ष दोषीलाई कारबाही गराउनमा मरिहत्ते गर्ने गरेको देखिएको बताउनुभयो।

नागरिक समाजका हरि राजभण्डारीले पनि मानव अधिकारको अवस्था फितलो रहेको टिप्पणी गर्नुभयो। यस्तै, अधिवक्ता चन्द्रबहादुर खड्काले मानव अधिकारको कोणबाट हेर्दा कहीँपनि मानव अधिकार कायम नदेखिएको सुनाउनुभयो।

उहाँले सरकारबाटै तोकिएको औषधि भनेको बेला नपाईने, स्वच्छ खानेपानीको व्यवस्था नभएको खड्काले वताउनुभयो।, संविधानले दिए अनुसारको अधिकार नागरिकले उपयोग गर्न नपाइरहेको उहाँको भनाई छ।

यस्तै, शिक्षिका सविता ढकालले एकल महिला सामाजिक र आर्थिक हिसावले समाजबाटै प्रताडित भइरहेको बताउनुभयो।

अपांगका प्रतिनिधि उमेशचन्द्र आचार्यले जिल्लाका अपांगको लगत संकलन नहुँदा अपांग सम्वन्धी योजना सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गर्नुभयो। आदिवासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले आइएलओ १६९ अनुसार आदिवासी जनजातीले अधिकार उपयोग गर्न नपाएको वताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेवी खत्री, सहायक प्रमुख जिल्ला अधिकारी श्याम राई, प्रहरी नायव उपरीक्षक बामदेव गौतम लगायतले वोल्नुभएको थियो।

जिल्लामा मानव अधिकारको अवस्थाको विषयमा जानकारी लिएर सोही अनुशार योजना बनाउनका लागि राष्ट्रिय मानव अधिकार आयोगले दिक्तेलमा अन्तरक्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डाक्टर टिकाराम पोखरेलले मानव अधिकारको रक्षा गर्नु सवैको दायित्व भएको औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्