रोकिएला त युवाशक्ति विदेशिने क्रम ?



संसारका जुनसुकै देशलाई पनि सफलताको शिखरमा पुर्याउने तत्व युवा समूह नै हो। हाम्रो देशमा पनि यिनै युवा हुन्, जसले २००७ देखि २०३६ हुँदै २०४६, र २०६२–६३ को जनआन्दोलनको अग्रमोर्चामा उभिएर प्राणको आहूति दिए।

तर विडम्बना भन्नुपर्छ, यिनै युवाले खोजेको एउटा सानो रोजगारी पनि राज्यले अझैसम्म प्रदान गर्न सकेको छैन।वर्तमान अवस्थामा देशमा युवाहरू कुल जनसंख्याको झन्डै ४० प्रतिशत छन्।

यो लगभग आधाजस्तै हो। तर पनि देशको दुर्भाग्यपूर्ण अवस्था रहेको हामीले देखेका छौँ। न त राज्यले काम नै दिन सकिरहेको छ, न परदेशी जीवन बिताउनेलाई स्वदेश फर्काउने प्रयास नै गरेको छ।

यसले के देखाएको छ भने, देश गरिबीको संघारमा फस्ने देखिएको छ। यसले राज्यलाई नोक्सानी हुन्छ र कालान्तरसम्म पनि एउटा स्लो पोइजनका रूपमा विकसित हुँदै जान्छ, जसको परिणाम अत्यन्तै पीडादायक हुन्छ।

२०६८ को जनगणनालाई हेर्दा हाम्रो देशमा १५ देखि ५९ वर्ष उमेर समूहका काम गर्न सक्ने मानिस झन्डै ५७ प्रतिशत छन्। तर राज्यमा काम नपाएर खाडी मुलुकमा जानेको संख्या दिनहुँ १५ सयदेखि माथि छ।

हजारौँ विद्यार्थी उच्च शिक्षाको लागि विदेश जाने क्रम पनि दनानुदिन बढ्दो क्रममा छ। यसरी पढेका पनि विदेश अनि कामदार पनि विदेश जाने बढ्दो क्रमले देश दुर्घटनामा फस्न सक्ने प्रस्टै देखिएको छ।

राज्यमा पर्याप्त मानव संसाधन हुँदाहुँदै पनि राज्यले उपभोग गर्न सकिरहेको छैन। आफ्नै देशभित्र बसेर जीवनयापन गर्न चाहिने सीपमूलक काम दिन पनि राज्य निरीह छ। एउटा डकर्मी, सिकर्मीको कामका लागि पनि छिमेकी मलुकबाट ल्याउनुपरेको सुन्दा मन नै खिन्न हुने गरेको छ।

राज्यले जनसंख्या नीति २०७१ जारी गरे पनि यसलाई कार्यान्वयन गर्न ढिलाइ गरिरहेको छ। यदि यही गतिले नेपाल अघि बढेको खण्डमा सन् २०३० सम्म बूढाबूढीहरू मात्रै भएको देशका रूपमा नेपालको नाम दर्ज हुने सम्भावना छ, जसलाई व्यवस्थापन गर्न राज्यलाई निकै चुनौती खेप्नुपर्ने देखिएको छ।

हाल नेपालमा ४० प्रतिशत परनिर्भर बालबालिका र वृद्धवृद्धालाई छाडेर ६० प्रतिशत काम गर्न सक्ने उमेर समूहका मानिस छन्। यति धेरै काम गर्न सक्ने मानिसको संख्याको उचित व्यवस्थापन गरी राज्यले आवश्यक लाभ लिनुपर्छ।

होइन भने युवाशक्ति विदेशिने क्रम रोकिनेछैन। हरेक दिन अन्य मुलुक जाने र उतै घरजम गरेर बस्नेहरूको ताँती देख्दा मन कुँडिएर आउँछ। यो क्रमलाई रोक्न राज्य निरीह छ। राज्यले यो देखेर पनि नदेखेझैँ गरी बसेको छ। यस्तो लाग्छ कि राज्यको कुनै उत्तरदायित्व नै छैन। यसमा पनि राज्यको ध्यान जाओस्।

– भीम मोक्तान, हेटौडा।

प्रतिक्रिया दिनुहोस्