विमानस्थलको सुरक्षा



मुलुकको एक मात्र अन्तर्राष्ट्रिय उड्डयन केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बेला–बेलामा चर्चा र विवादमा पर्ने गरेको छ।

त्रिभुवन विमानस्थललाई संसारकै असुरक्षित विमानस्थलको सूचीमा युरोप अमेरिकाले राख्दै आएका छन् भने छिमेकी मुलुक भारतले त नेपालको विमानस्थलमा आफ्नै सुरक्षा संयन्त्रलाई सक्रिय बनाउने गरेको पनि देखिन्छ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा राष्ट्रिय प्रतिष्ठा र अस्मिताको विषय हुने गर्दछ। २०५६ सालमा काठमौंबाट इन्डियन एयरलायन्स अपरहरण भएपछि नेपालले भोग्नुपरेको क्षति आर्थिक मात्र थिएन, राष्ट्रिय प्रतिष्ठालाई पनि धक्का दिने हदसम्मको थियो।

यी र यस्तै कमजोरीलाई पृष्ठभूमिमा राखेर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा भारतले नेपालको विमानस्थलमा भारतीय सेना नै राख्ने तयारी गरेको थियो।

यद्यपि व्यापक विरोधका कारण उक्त प्रस्ताव कार्यान्वयन हुन सकेन, त्यो आफ्नो ठाउँमा छ, तर अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा लापरबाही गर्दा मुलुकले कस्तो प्रकारको दबाब र राष्ट्रिय प्रतिष्ठामा चुनौतीको सामना गर्नुपर्छ भन्ने यो तीतो यथार्थ हो।

विभिन्न मुलुकले अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने सामान्य मापदण्डसमेत पूरा नभएको भन्दै नेपालको आलोचना गर्ने गरेका छन्। तर नेपाल सरकारले विमानस्थललाई सुरक्षित बनाउनेतर्फ खासै पहल गरेको देखिँदैन।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगलागी हुँदा घण्टौंसम्म विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनुले पनि विमानस्थलको सुरक्षा कस्तो छ भन्ने अड्कल काट्न सकिन्छ।

सोमबार राति विमानस्थलको प्रस्थान कक्ष नजिकै रहेको एक कफी सपमा आगलागी हुँदा उक्त आगो नियन्त्रण गर्न झण्डै दुई घण्टा लागेको थियो भने अन्तर्राष्ट्रिय उडान दुई घण्टाभन्दा बढी समय ठप्प हुन पुगेको थियो।

यसले के देखाउँछ भने विमानस्थलमा हुने कुनै पनि दैवी प्रकोप नियन्त्रणका लागि अपनाउनुपर्ने पूर्वतयारी नै छैन। नियामक निकाय यस विषयमा मौन छ वा काम गर्ने जांँगर त्यहाँं कार्यरत कर्मचारीमा छैन।

विमानस्थलमा भएका बारुण यन्त्र घटना भएको धेरै समयपछि उक्त ठाउंँमा पुग्नु र विमानस्थलभित्र राखिएका अग्नि नियन्त्रक सामग्रीलाई समयमा प्रयोग गर्ने व्यक्तिको अभाव हुनुले पनि विमानस्थलमा असुरक्षाको अवस्था यथावत रहेको प्रष्ट हुन्छ।

दैनिक हजारौं हवाई यात्रु आवतजावत गर्ने विमानस्थलमा सामान्य ढंगका अग्नि नियन्त्रक सामग्री चलाउने व्यक्तिलाई तयारी अवस्थामा राख्न नसक्नुले पनि विमानस्थल प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ।

विमानस्थलमा चौबीसै घण्टा तयारी हालतमा राखिनुपर्ने उपकरण नराखिएको र दक्ष जनशक्तिको अभाव रहेको सरकारले नै स्वीकार गरेको देखिन्छ। राजधानीका विभिन्न ठाउंँका दमकल समयमा नै नपुगेको भए विमानस्थलमा अझ बढी अप्रिय घटना हुने अवस्था सिर्जना हुने थियो।

विमानस्थलमा आगलागी रातिको समयमा भएका कारण उपत्यकाभित्रका दमकल समयमा नै विमानस्थल पुगेर आगो नियन्त्रणमा सहयोग गरे।

उक्त आगो नियन्त्रणभन्दा बाहिर भएको भए नजिकै रहेको विशाल तेल भण्डारमा आगो पुगेको भए विमानस्थल मात्र होइन वरपरका वस्तीसमेत प्रभावित हुने अवस्था थियो। त्यस कारण राज्यले यस्ता संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन कुनै कसर बाँकी राख्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस्