विश्व निकेतनको ७४औं वार्षिकोत्सव



विश्व निकेतन स्कुलको ७४औं वार्सिकोत्सव सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले विश्वमा अंग्रेजी भाषाको महत्व बढिरहेको परिप्रेक्ष्यमा अंग्रेजीलाई प्राथमिकता दिइनुपर्ने तर नेपाली भाषा नै बिर्सिने किसिमले विद्यालयहरूमा अंग्रेजी भाषालाई आवश्यकताभन्दा बढी हावी हुन दिन नहुने विचार व्यक्त गर्नुभयो।

विद्यालयको प्रसंसा गर्दै मन्त्री पोखरेलले भन्नुभयो– ‘राजधानीको यो विद्यालयले स्तरीय शिक्षा प्रदान गर्न अब्बल छ। यसको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्छु।

कार्यक्रममा बागमती प्रदेश काठमाडांै १ का प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ ,सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, त्रिवि पनिकाका सहनियन्त्रक डा. घनश्याम ठाकुर, शिक्षा विकास तथा समन्वय इकाई काठमाडांैका प्रमुख नन्दलाल पौडेल ,कंकाली माविका प्रधानाध्यापक तथा एनएनटीए काठमाडौंका अध्यक्ष विष्णु पनेरुलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले ६५ प्रकारका विज्ञान सामग्री प्रदर्शन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रअ हेरम्वराज कँडेलले चालु शैक्षिक सत्रमा यस विद्यालयका थुप्रै विद्यार्थीले विभिन्न संकायमा उच्च शिक्षा हासिल गरी विभिन्न शिक्षण निकायमा पूर्ण छात्रवृत्ति पाउन सफल भएको उल्लेख गर्नुभयो। ‘यो नै विद्यालय परिवारको सफलता र गौरवको विषय हो’ –उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो– ‘विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना छोराछारीलाई त्यहीँ अध्यापन गराएका कारणले पनि विद्यालयको पठनपाठनको गुणस्तर र स्तरीयता कायम भएको छ। सहायक प्रधानाध्यापक गंगा थापाले विविध गतिविधिमाथि प्रकास पार्नुभएको थियो।

समारोहमा अघिल्लो शैक्षिक वर्षमा उत्कृष्ट शिक्षण तथा सेवा गरेवापत मावि शिक्षक नारायण नेपाल, निमावि शिक्षिका मिना कँडेल, प्रावि शिक्षक पूर्णभक्त श्रेष्ठ र कार्यालय सहायक बालकृष्ण लामालाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।

समारोहमा विभिन्न कक्षा र विषयमा उत्कृष्ट नतिजा ल्याउने तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पदक, नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्