विराटनगरमा लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग



सरोज यादव, विराटनगर।

भारतीय नाका जोगबनीबाट लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ। लागूऔषधसहित साना उमेरका बालबालिका पक्राउ परेसँगै लागूऔषध कारोबारीले पैसा दिने आश देखाएर बालबालिकालाई ओसारपसारमा लगाउने गरेको खुल्दै गएको हो।

विराटनगर–१२ स्थित आइतबारे चोकबाट लागूऔषधसहित एक बालक पक्राउ परेका छन्। जोगबनीबाट लागूऔषध लिएर अटो टेम्पोमा आउँदै गरेका घर धरान बताउने एक बालकलाई प्रहरीचौकी बखरीको टोलीले पक्राउ गरेको थियो।

प्रहरी हवल्दार गंगाबहादुर खत्रीको टोलीले बालकलाई शंका लागि चेकजाँच गर्ने क्रममा बालकको छातीमा टेपले बेरेको अवस्थामा लागूऔषध फेला परेको थियो। बालकको छातीमा डाइजी २५ थान, नर्फिन २५ थान र एभिल २५ थान गरी ७५ थान लागूऔषध फेला परेको थियो।

लागूऔषध ओसारपसारमा बालकको प्रयोग भएको बताउँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी विश्व अधिकारीले बालकले आफूलाई १५ सय दिने शर्तमा धरान उपमहानगरपालिका–८ बस्ने अनुप भन्ने व्यक्तिले लागूऔषध लिन पठाएको बताएकोले उक्त बालकलाई लिन पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइने बताउनुभयो।

कक्षा ७ मा पढ्दै गरेको बताउने बालकले जोगबनीबाट ३ हजार ४ सयमा उक्त लाग्रूऔषध किनेको बताएका छन् भने उनले समेत लागूऔषध सेवन गर्ने गरेको पाइएको छ।

उनले आफूसँगै लागूऔषध किन्ने दुइजना साथी रहेको तर, उनीहरू जोगबनीमै छुटेको बताएको प्रहरीले जनाएको छ। यसरी लागूऔषधको कारोबारमा ठुलै गिरोह रहेको आशंकामा थप अनुुसन्धान शुरू गरिएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्