क्यान्सर जितेका साहसी बालक रिम्पो निमोनियासँग हारे



विगत दुई वर्षदेखि ब्लड क्यान्सरको नियमित उपचार गरी स्वस्थ भएर विद्यालय जान थालेका पोखराका १३ वर्षे साहसी बालक रिम्पो योल्मोले क्यान्सरभन्दा साधारण रोग निमोनियालाई भने जित्न सकेनन्। अन्ततः उनले १३ वर्षको कलिलो उमेरमै ओम अस्पताल चाबहिलमा मंगलबार राति देह त्यागे।

गत पुसको अन्त्यतिर साधारण बिरामी भएर पोखराको फिसटेल अस्पतालमा चार दिन उपचार गरी माघ १ गतेदेखि रिम्पो ओम अस्पतालमा निमोनियाको उपचार गराइराखेका थिए।

चार दिन आईसीयू र १७ दिन साधारण शैय्यामा राखेर उपचार गरी डिस्चार्ज हुने क्रममा रहेका रिम्पो मंगलबार राति एक्कासि सिकिस्त भएका कारण उनलाई फेरि आईसीयूमा लगिएकोमा त्यहीं नै उनको निधन भएको रिम्पोका बुबा नर्बु योल्मोले बताए।

ओम अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीको प्रत्यक्ष रेखदेखमा दुई वर्षसम्म ब्लड क्यान्सर (एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया)को उपचार गरी स्वस्थ भएपछि उनी गत केही महिनादेखि आफू पहिला पढ्दै आएको पोखराकै मेरिगोल्ड बोर्डिङ स्कुलमा ८ कक्षामा भर्ना भएर विद्यालय जान थालेका थिए।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर एवम् नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर निको भएका र उपचार गराइराखेका बालबालिकालाई सहभागी गराई गत साउन १८ गते नेपालमै पहिलोपटक आयोजना गरेको ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर र्याम्प वाक’ मा रिम्पोले आफ्नो मनको वह पोख्दा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अतिथिहरू भावविह्ल भएका थिए।

‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने जनमानसमा सन्देश फैलाउँदै आएका साहसी बालक रिम्पो २०६४ साल साउन १३ गते पोखरामा जन्मेका थिए। स्वर्गीय रिम्पो योल्मोको पार्थिव शरीरको बुधबार बिहान बौद्ध धर्मसंस्कृतिअनुसार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा शवदाह गरियो।

प्रतिक्रिया दिनुहोस्