जागिर छाडेर व्यावसायिक बाख्रापालन, वार्षिक २० लाख आम्दानी (तस्वीरसहित)



प्रताप, बानियाँ, म्याग्दी ।

२१ वर्षसम्म निजी कम्पनीमा काम गरेका एक व्यक्तिले जागिर त्यागेर व्यावसायिक बाख्रापालन सुरु गरेपछि अहिले वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी काफलबोटका आनन्द रिजालले बाख्रापालनबाटै वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

शर्मा एण्ड कम्पनीमा सुपरभाइजर पदमा कार्यरत रिजालले २०७० सालमा आएर जागिर छाडेपछि ०७१ सालबाट बाख्रापालन सुरु गरेका थिए । सुरुमा ८ ओटा स्थानीय जातका बाख्रापालन सुरु गरेका उनले व्यावसायिक रुप दिएपछि ७२ ओटासम्म बाख्रा पालेको जानकारी दिएका छन् । उनीसँग अहिले खोरमा ठूला माउ र साना पाठापाठी गरी जम्मा ३३ ओटा बोयर जातका बाख्रा रहेका छन् ।

धौलागिरी व्यावसायिक बाख्रापालन बोयर मोडेल फर्म नै दर्ता गरी व्यवसाय सुरु गरेका रिजालको खोरमा हाल सबै बोयर (उन्नत) जातका बाख्राहरु छन् । बोयर जातको बाख्रालाई उन्नत जातको साथै उत्पादन राम्रो र आम्दानी आकर्षक हुने बाख्राका रुपमा मानिन्छ । रिजालको खोरमा अहिले ठूला (माउ) बाख्रा १९, बोका ७ र पाठापाठी ७ ओटा रहेका छन् । रिजालसँग बाख्राको गोठमा ५० ओटा बाख्रा अट्ने क्षमताको खोर रहेको छ । उनले चालु आर्थिक वर्षको माघ महिनासम्म बाख्रा बिक्री गरेर साढे १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको अनुभव सुनाए ।

 

कृषक रिजालले बोयर जातको एउटा बोकाको मूल्य न्युनतम १८ हजारदेखि तीनलाख रुपैयाँसम्म पर्ने जानकारी दिएका छन् । बोयर जातको बाख्रा पालेका उनले अहिलेसम्म बोयरको एउटा बोकालाई तीनलाख रुपैयाँमा बिक्री गरेको बताउँदै उक्त बोको ९६ केजीको रहेको बताए ।

निजी कम्पनीमा कति काम गर्ने भन्दै जागिर छाडेर व्यावसायिक बाख्रापालनमा लागेका कृषक रिजालको गोठमा देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु बाख्रा खरिद गर्न आउने गरेका छन् । बोयर जातको बाख्रालाई उत्कृष्ट मानिने भएकाले व्यापारीहरु पनि बोयरको उत्पादन खरिद गर्न खोजीखोजी आउने हुँदा बोयर जातको बाख्रापालनलाई प्राथमिकता दिएको उनले बताए ।

व्यावसायिक बाख्रापालनको थालनी गरेका कृषकले रिजालले बाख्राको घाँसका लागि ३६ रोपनीको जग्गामा जै–घाँस लगाएका छन् । जै–घाँसका साथै डाले घाँसको बिरुवा समेत रोपेका उनले खेतबारीमा खनिउ, रायखन्यु, निमारो, चुलेत्रो, दुधिलो, टाँकी, बेडुलो, सुपरनेपियर र सेतरिया जातको डालेघाँसका विरुवाहरु छन् । उनले १६ सयवटा डालेघाँसका विभिन्न जातका विरुवाहरु लगाएको जानकारी दिए । भुइँघाँस सिचाईंका लागि पोखरी समेत निर्माण गरेको कृषक रिजालको भनाइ छ ।

बाख्रापालन व्यवसायमा सक्रिय रिजाल सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेका छन् । जिल्ला बाख्रापालन व्यवसायी संघका उपाध्यक्ष रहेका रिजाल स्थानीय भूमे आधारभूत विद्यालय काफलबोटको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्भने निलोपहरा सामुदायिक वन समूहका सदस्य छन् ।

तस्वीर: प्रताप, बानियाँ, म्याग्दी ।

 

प्रतिक्रिया दिनुहोस्