सुरु भएकाे २ मिनेटपछि प्रदेश १ को संसद बैठक स्थगित



सरोज यादव, विराटनगर ।

प्रदेश १ को प्रदेशसभा बैठक लगातार दोस्रो दिन पनि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले सोमबार बैठक सुरु भएलगत्तै उठेर बिरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशससभाको बैठक सुरु भएलगत्तै उठेर बिरोध गरेका कांग्रेसका सांसदहरूलाई सभामुख प्रदिपकुमार भण्डारीले बस्न पटक पटक आग्रह गर्नुभएको थियो । भण्डारीले ललिता निवास प्रकरण प्रदेशसभाबाट समाधान हुने विषय नभएको र अदालतमा विचाराधिन मुद्धा पनि भएकाले वस्न आग्रह गर्नुभएको थियो ।

२ मिनेट २६ सेकेन्ड संचालन भएको प्रदेश सभाको बैठक सबैभन्दा कम समय बसेको हो । सभामुख प्रदिपकुमार भण्डारीले अदालतमा गएको बिषय सदन अबरुद्ध गरेर समाधान नहुने जिकिर गर्दा गर्दै पनि कांग्रेसका सांसदहरुले अबरुद्ध गरेका थिए । यो बिषय प्रदेश सभाबाट समाधान नहुने भन्दै सभामुख भण्डारीले सम्बन्धित ठाउँबाट नै समाधान हुने भएकोले प्रदेश सभाको बैठक अबरुद्ध नगराउन आग्रह गर्नुभएको थियो । सभामुखको आग्रह विपरित प्रतिपक्ष सांसदहरू निरन्तर उठेर बिरोध गरिरहेपछि सभामुख भण्डारीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

बालुवाटारस्थित ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साध्ने गरी नियोजित रुपमा आफना पार्टीका नेता विजयकुमार गच्छदारलाई मुद्धा चलाईएको र तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपाल,डा.बाबुराम भट्टराई, मुख्यसचिव लीलामणि पौडेललाई बचाएको भन्दै कांग्रेसले विरोध जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्