जैमिनीका छात्रालाई सेनेटरी प्याड



सिर्जना पन्त,बागलुङ ।

सरकारले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधी पारित गरेको २ महिना पछि बागलुङको जैमिनी नगरपालिकाका छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालु आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि सरकारले बजेट विनियोजन गरेपनि विद्यार्थीले प्याड पाएका थिएनन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयमा गठित बालअधिकार चेतना समुहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लिला रानाले सेनेटरी प्याड हस्तान्तरण गरेर प्याड वितरण कार्यक्रम सुरु भएको उद्घोष गर्नुभएको छ ।

विभिन्न कारणले प्याड वितरण कार्यक्रममा ढिलाई भएको थियो प्याड हस्तान्तरण गर्दै उपप्रमुख रानाले भन्नुभयो– ‘बालअधिकार चेतना समुहलाई प्याड हस्तान्तरण गरेर सुरु भएको यो कार्यक्रम आजैबाट नगरपालिकाका २२ विद्यालमा लागु हुनेछ ।’

जैमिनी नगरपालिका सामुदायिक विद्यालयका १हजार ७ सय ८७ जना छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने नगर शिक्षा अधिकारी खेम आचार्यले बताउँनुभएको छ । महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ वटाका दरले महिनाको १६ वटाका दरले वितरण गरिने उहाँको भनाई छ ।

महिनाबारीको समयमा छात्राहरुले विद्यालय छोड्ने समस्या समधानको लागि सरकारले थालेको अभियान सफल बनाउनको लागि नगरका सबै विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताउनुभयो ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि १ अर्व २७ करोड ७३ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्