चीनबाट धरहरालाई नेपालीको पत्र



प्रिय धरहराजी, नमस्कार ! म छिमेकी मुलुक चीनको उहानबाट यो पत्र लेख्दै छु। यत्रो हल्लाखल्ला भएर पनि आजका मितिसम्म मलाई कोरोना भाइरसले छोएको छैन। उहिल्यै एकपटक धामन सर्पको सुप त दन्काएको थिएँ, मनमा चिसो त परेको थियो, तर गोर्खालीको छोरोलाई त्यसले आजसम्म हातहाल्न सकेको छैन।

यो गौरवको विषय हो।गौरवको अर्को विषय हो– म र मेरा साथीहरू चीनबाट घर फर्केपछि केही अवधि परीक्षणका लागि हामीलाई राख्ने ठाउँ, जसलाई क्वारेन्टाइन भनिन्छ, त्यस प्रकारको केन्द्र मेरो गाउँबस्तीमा राख भनेर हामीप्रति अपार मानवीय संवेदना देखाउँदै नेपाली बन्धुहरूले धर्ना र जुलुस नै गर्न लागेछन्।

भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाउने सरकारको निर्णयप्रति कत्ति पनि आपत्ति नजनाई दुवै हात फिँजाएर स्वागत गर्ने त्यहाँका कर्मचारी र स्थानीय नागरिकको कत्रो छाती !

चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको क्षेत्रमा क्वारेन्टाइन केन्द्र राखे हुन्छ, बस्तीभन्दा दुई किलोमिटर टाढा मात्र यस्ता केन्द्र हुनुपर्छ भन्ने सब वाहियात हो, हाम्रा सम्भाव्य बिरामीलाई हामी आँखैअगाडि देख्न चाहन्छौं भन्दै स्थानीय जनप्रतिनिधिले पनि सरकारलाई अपीलपत्र पठाएछन्।

यस प्रकारको माया–सद्भावको तारिफ जति गरे पनि थोरै हुन्छ। यो मेरो पत्र धरहराको टुप्पोबाटै बिगुल फुकेर सबैलाई सुनाइदिनु है। उही तपाईंको कोरोना भाइरस लागेको हुनसक्ने आफन्त।

प्रतिक्रिया दिनुहोस्