बन्धनमा नेपाली



चीनमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्कने आशमा बन्दीजस्तै जीवन बिताएको धेरै समय भइसक्यो । सरकारले उनीहरूलाई नेपाल फर्काउने भनी वचन दिँदा उनीहरूको अब नेपाल फर्कन पाइन्छ भनेर गरेको आश पनि अब निराशामा परिणत हुने अवस्था आएको हो कि जस्तो भएको छ । उनीहरू चीनमा घरबाहिर निस्कन पाएका छैनन् ।

खानलाई जोहो गरेको सामग्री पनि सकिएर भोकमरीको अवस्था आउन लागेको भुक्तभोगीहरूले बताउन थालेका छन् । कोरोना भाइरसका कारण सयौंको संख्यामा चिनियाँ नागरिक मारिइसकेको खबरले नेपालीहरूलाई चिन्तित त बनाएकै छ, त्यसमा पनि नेपालीहरूलाई नेपाल ल्याउन ढिलाइ भएका कारण दुखद् खबर सुन्नुपरेको खण्डमा झन् कस्तो अवस्था आउला भन्ने बारेमा अन्दाज नै गर्न सकिँदैन ।

चीनमा कोरोना भाइरस देखापर्नासाथ सरकारले नेपालीलाई केही दिनभित्रमा नै स्वदेश फर्काउने गरी तामझाम गरेको अवस्था थियो । दिन बित्दै जाँदा त्यस्तो तामझाम केवल सरकारको चाहना मात्र थियो जसलाई पूरा गर्ने उसको सामथ्र्य नै छैन कि भन्ने आभाष हुन थालेको छ । अन्य देशका नागरिकहरूलाई सम्बन्धित देशका सरकारले घर फर्काइसकेको अवस्थामा नेपाल सरकारले यसमा हेलचेक्रयाइँ गर्नु निश्चिय पनि दुखद् कुरा हो ।

कोरोना भाइरस देखा परेपछि नेपालीहरू स्वदेश फर्कन चाहेको पनि एक महिनाको अवधि पुग्न लागिसकेको छ । यस बीचमा खालि कुरा मात्र गर्ने, कामचाहिँ नगर्ने सरकारी प्रवृत्ति निश्चय पनि सह्य हुन सक्दैन । चीनमा कोरोना भाइरसको आतङ्क अझै पनि कायम नै छ ।

उक्त भाइरस कम हुने छाँट अझै पनि छैन । यसका कारण सो देशमा व्यक्ति मर्ने क्रम अझै जारी छ । आफ्ना देशका नागरिक जुन देशमा भए पनि ख्याल गर्नुपर्ने कर्तव्य सम्बन्धित देशको सरकारको हो । कुनै नागरिक अन्य देशमा गई कुनै आपत्मा परेको छ भने देशमा रहेको जुनसुकै समस्यालाई थाती राखी पहिले त्यस्तो आपत्मा परेको नागरिकलाई उद्धार गर्नुपर्छ ।

अन्य देशमा रहेका आफ्नो नागरिकलाई आपत्मा रहेका बेला सकुशल स्वदेश फर्काउने कार्यको सफलताले त्यस मुलुकको सक्षमता र सफलता प्रकट गर्दछ ।
अब सरकारले चीनमा रहेको नेपालीलाई स्वदेश फर्काउने प्रक्रियालाई कत्ति पनि ढिलाइ नगरोस्। उसै त वर्तमान सरकारले केवल कुरा मात्र गर्छ, कार्य गर्न भने सक्दैन भन्ने आरोप लागिरहेको छ।

यसको अर्को उदाहरणका रूपमा चीनबाट नेपालीलाई स्वदेश फर्काउने भनी दिइएको वचन नथपियोस् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुवेई प्रान्तबाट फर्कन चाहेका नेपालीलाई अबिलम्व स्वदेश ल्याउन निर्देशन दिनुभएको थियो । तर आजसम्म पनि निर्देशनको कार्यान्वयन भएको पाइएको छैन ।

अब सरकारले यस विषयमा गम्भीर भएर सक्दो छिटो चीनका नेपालीलाई स्वदेश फकाउने कार्यलाई मूर्त रूप दिनुपर्छ । एकातिर सरकारको जिम्मेवारीको कुरा छ भने अर्कातिर मानवीय पक्ष पनि छ । रोगको भुंग्रोमा आफन्तलाई राखेर यता उनीहरूको परिवार आनन्दले सुत्न सक्तैन । चीनमा रहेका नेपालीको पीडा त आफ्नो ठाउँमा भयानक छँदै छ ।

प्रतिक्रिया दिनुहोस्