भ्रमण वर्षको सफलतामा कोरोनाले खडा गरेको चुनौती



गत मंगलबार नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेको पहिलो पृष्ठको समाचार मलाई अत्यन्तै जायज लाग्यो। मध्य–पूर्वतिर प्रचार बढाउनुपर्ने व्यवसायीको सुझाव पनि निकै राम्रो छ।

जसरी नेपालमा तामझामका साथ शुरू गरिएको नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो महिनामै यस्तो चुनौती खडा भएको छ। हेरौं अब सरकारले कसरी भ्रमण वर्षको अपेक्षा पूरा गर्छ।

विश्वभरि यति बेला नोबेल कोरोना भाइरसको सन्त्रास चुलिएको छ। थुप्रै मुलुकले आफ्ना नागरिकलाई विदेश भ्रमण नगर्न चेतावनी दिइरहेका छन्। नेपालको उत्तरी छिमेकी चीनबाट शुरू भएको कोरोना भाइरस नेपाल भ्रमण वर्षको मुख्य चुनौती देखिएको छ।

नेपालले धेरै पर्यटक भित्रिने अपेक्षा गरेको तथा विश्वकै अत्यधिक जनसंख्या भएको मुलुक चीनसँगका सीमा नाकाहरू बन्द गर्नुपरेको परिपे्रक्ष्यमा अन्य मुलुकबाट नेपाल भित्रिने पर्यटकहरूसमेत चीनसँग सीमा जोडिएकै कारण भ्रमण गर्न आनाकानी शुरू भएको आँकलन गर्न सकिन्छ।

चीनबाट नेपाल आउने पर्यटकहरूको संख्यामा तीव्र गिरावट आएको छ। केही दिनअघि मात्रै नेपालमै पनि कोरोनाको संक्रमण भेटिएको तथ्य बाहिरिनुले नेपालप्रति झन् थप आशंका खडा भएको छ।

हुन त यो विषयमा विभिन्न खालका भ्रम र यथार्थहरू बाहिर आइरहेकै छन्। यद्यपि नेपालको स्वास्थ्य सुरक्षाको अवस्था र यसले पर्यटन क्षेत्रलाई पार्ने प्रभावका विषयमा सरकार आफ्नो किसिमको पहलकदमी लिइरहेको होला तर जनतामा देखिएको सन्त्रासमय अन्योलता र विश्व समुदायले नेपालप्रति राखेको चासो चिर्न सरकारको मौनधारण भ्रमण वर्षको सफलताका लागि घातकसिद्ध हुन सक्छ।

सन् २०२० कै पहिलो महिना जनवरीदेखि नै देखिएका केही यस्ता लक्षणहरूले कतै सरकारको महत्वाकांक्षी योजनामा पहिलो गाँसमै ढुङ्गोको संकेत त होइन।

नेपाल सरकारले विश्व समुदायमा फेरि कोरोना भाइरसले नेपालमा पार्न सक्ने प्रभाव, यसको अवस्था र भावी सुरक्षा रणनीतिका विषयमा स्पष्ट पार्दै भ्रमण वर्षप्रति लक्षित हुनुपर्ने देखिन्छ।

– प्रशान्त बुढा, कोहलपुर, बाँके

प्रतिक्रिया दिनुहोस्