दशगजाबाट चेकपोस्ट हटाउन अटेरी



सुभेन्द्र दास, लहान।

सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाँडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले दशजगा मिचेको छ। उक्त ठाउँमा भारतीय पक्षले दशजगा मिचेको समाचार आएपछि दुवै देशले संयुक्त रूपमा सर्वेक्षण टोली खटाएको थियो।

गत शनिबार सशस्त्र प्रहरी सिराहाले अस्थायी जाँच चौकी स्थापना गर्न खोज्दा भारतीय सुरक्षा बल (एसएसबी)ले रोकेको थियो। सोही विवाद समाधन गर्न भारततिरका टोली प्रमुख मंजिल ममगाँई र नेपालतर्फबाट उमेश कुमार पुगेका थिए।

सर्वेक्षण टोलीले दशगजा क्षेत्रभन्दा दुई फिट उत्तरतिर सारेर सशस्त्र प्रहरीलाई अस्थायी जाँच चौकी बनाउन अनुमति दिएको थियो। प्रहरीले चौकी बनाउन शुरु गरेको थियो।

तर भारततिर दशगजा कब्जा गरी कस्टम अफिस र एसएसबीले चेक पोस्ट वर्षौंदेखि राखेको छ। भारतीय पक्षले स्वागतद्वार र पक्की सडक पनि दशगजामै बनाएको छ। त्यो हटाउन भारततर्फका सर्वेक्षण टोलीका प्रमुख ममगाँईले केही बोलेनन्।

गत पुस तेस्रो साता भारतीय कस्टम अफिसले थप एउटा स्वागतद्वार निर्माण गर्न थालेका थिए। स्थानीयले विरोध गरेपछि प्रहरी प्रशासनले चासो लियो।

पुस २२ देखि २४ गतेसम्म सीमा सर्वेक्षण टोलीले नापी गरेको थियो। दशगजामै परेपछि काम रोकियो। ‘भारतका कस्टम र एसएसबीको चेक पोस्ट दशगजा मै रहेको छ। हामी नापी गरेर रिर्पोट सम्बन्धित निकायमा बुझाउँछौँ। खाली गराउने भारत सरकार निर्देशन चाहिन्छ।

त्यो आएको छैन,’ ममगाँईले भन्नुभयो –यहाँ पिलर नभएका कारण समस्या देखिएको छ।पहिले दशगजा खाली थियो। अहिले दुवैतिर बस्ती छन्। नेपाल–भारत दुवै देशका बासिन्दाले पसल र टहरा थापेका छन्। दुवै देशले जग्गामा आ–आफ्नो दाबी गरिरहेको उहाँले बताउनुभयो।

‘पटक–पटक भारतीय पक्ष दशगजामा दादागिरी देखाउन आउने गरेको छ। सकेसम्म हामीले रोक्ने प्रयास गरेका छौं,’ स्थानीय कन्हैया भट्टले भन्नुभयो –‘माथिल्लो निकायबाट समस्या निराकरण गर्न ठोस कदम चाल्नुपर्छ।’

दशगजाको ‘मिड प्वाइन्ट’बाट दुवैतिर ९ दशमलब १ मिटर खालि हुनुपर्ने हो। तर भारतीय पक्षले दशगजाको मिड प्वाइन्ट कब्जा गरी नेपालतर्फ कस्टम अफिस र एसएसबीको चेकपोस्ट खडा गरेको उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्