अवैध उत्खनन ढाकछोप गर्न जनप्रतिनिधि नै सक्रिय



गोकुल घोरसाइने, बारा।

निजगढ नगरपालिका ९ स्थित बकैया खोला बगरमा हुँदै आएको गिटी बालुवा ढु·ाको अवैध उत्खनन ढाकछोप गर्न जनप्रतिनिधि नै सक्रिय देखिएका छन्।जिल्ला अनुगमन समितिको टोली अनुगमनमा आउन लागेको सूचना पाएपछि नगरपालिकाका मेयर सुरेश खनालसहित जनप्रतिनिधिको निर्देशनमा बगरका खाल्डा रातारात पुरिएका हुन्।

जथाभावी उत्खनन हुने गरेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी फणिन्दमणि पोखरेलसहित समितिको टोली अनुगमनका लागि मंगलबार बकैया खोलामा पुगेको थियो।

तर, टोली पुग्नुअघि नै नगरपालिकाको निर्देशनमा अघिल्लो रात र भोलिपल्ट बिहान ११ बजेसम्म लगाएर खाल्डा पुरेर बगर सम्याइ सकिएको थियो । निजगढ नगरपालिकाको अनुरोधमा स्थानीय क्रसर उद्योगी र व्यवसायीले ५ वटा एक्साभेटर र डोजर प्रयोग गरी खाल्डा पुरेका हुन्।

अनुगमनमा टोली आउन लागेको सूचना पाएपछि बकैया खोलाका खाल्डा हतारहतारमा पुरिएको पाइएको प्रजिअ पोखरेलले बताउनभुयो।‘जथाभावी खाडल पारेर नदीजन्य पदार्थ उत्खनन गरिएका भनिएका स्थानहरूको अनुगमन गर्न गएका थियौँ, समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो ।

तर, बकैयाको बगर भने पुरेर समथर परिसकिएको रहेछ।’ जभाभावी उत्खनन नभएको भन्ने देखाउन रातारात खाल्टा पुर्ने कार्य भएको पनि उहाँले बताउनुभयो। निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले भने, ‘कार्यालयको निर्देशनमा क्रसर उद्योगको मेसिन प्रयोग गरेर खाल्टा पुर्ने काम भएको बताउनुभयोे।’

‘मेयर सुरेश खनालसहित जनप्रतिनिधिको उपस्थितिमा व्यवसायीलाई बोलाएर खाल्डा पुर्न पत्राचार गरेका थियौं, प्रशासकीय अधिकृत ढकालले भन्नुभयो, ‘तर, अनुगमन टोली आउने दिन ढिला गरेर हतारहतारमा पुरेका रहेछन्।’

जिल्ला अनुगमन समितिले जथाभावी उत्खनन गर्ने व्यवसायी र स्थानीय तहमाथि पनि कारबाही गर्ने चेतावनी दिएपछि नगरपालिकाले व्यवसायीहरूलाई कार्यालयमै बोलाएर गिटी, बालुवा र ढु·ा निकाल्ने क्रममा बगरमा बनेका खाल्टा पुर्न डेढ साताअघि पत्राचार गरेको थियो।

मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो बढेपछि समितिले तत्कालका लागि जिल्लाका सबै खोला बगरमा उत्खननमा रोक लगाएर अनुगमन थालेको छ।अनुगमन कार्य जारी रहेको भन्दै प्रजिअ पोखरेलले रोक लगाइएको समयमा पनि केही नदीमा मापदण्डविपरीत गिटी र बालुवा निकाल्ने काम गरिएको पाइएकोे बताउनुभयो।

उहाँले अनुगमन सकिएपछि समितिले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर मापदण्डअनुसार मात्र उत्खनन गर्न निर्देशन दिने तयारी गरेको पनि जानकारी दिनुभयो। जिल्लाको निजगढ र कोल्हवी नगरपालिकामा पर्ने बकैया तथा धन्सार र जितपुरसिमरा उपमहानगरपालिकाको पसाहा, दुधौरा र वालगंगा नदीमा मापदण्डविपरीत उत्खनन हुँदै आएको छ।

नगरपालिकाले तयार पारेको इइए प्रतिवेदनमा घरेलु साधनको मात्र प्रयोग गरेर उत्खनन गर्नुपर्ने र त्यसमा पनि ३ फिटभन्दा बढी गहिराइमा खन्न नपाउने व्यवस्था गरेको छ।

तर, गिटी र बालुवाको ठेक्का सकारेका व्यवसायीले ठूला उपकरणको प्रयोग गरेर मापदण्डविपरीत १० फिट र ४० मिटर चौडाइसम्मका ठुल्ठुला खाल्डा बनाएर बगरबाट जथाभावी गिटी, बालुवा र ढु·ा निकाल्दा पनि नगरपालिकाहरूले भने कुनै चासो नदेखाएको गुनासो छ।

 

 

प्रतिक्रिया दिनुहोस्