क्यान्सरमुक्त समाज बनाऔं



अन्तर्राष्ट्रिय क्यान्सर दिवस २०२० मनाइरहँदा नेपालमा क्यान्सरको भयावह स्थिति सिर्जना भएको देखिएको छ। नेपालमा बर्सेनि २६ हजार १ सय ८४ नयाँ क्यान्सर रोगी थपिँदै छन्। जसमध्ये १९ हजार ४ सय १३ जनाको क्यान्सरकै कारण हरेक वर्ष मृत्यु हुने गरेको बताइन्छ।

क्यान्सरको जोखिम दिनानुदिन बढिरहेको छ। समयमै पहिचान गर्न सके क्यान्सर पूर्णरूपमा निको हुन्छ। तर बिरामीहरू ढिलो अस्पताल पुग्ने भएकाले क्यान्सरका बिरामी बढिरहेका छन्। बदलिँदो जीवनशैली, खानपान, वंशाणुगत र सुर्तीजन्य पदार्थले क्यान्सरको उच्च जोखिम बढाइरहेको छ।

क्यान्सर लाग्ने मुख्य कारण सुर्तीजन्य प्रदार्थको सेवन मानिन्छ। सुर्तीजन्य वस्तुको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सोमा क्यान्सरको जोखिम बढी हुन्छ। अनियमित जीवनशैली, रक्सीको अत्यधिक सेवन र वंशाणुगत कारणले पनि क्यान्सर रोग लाग्छ। पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्य कारण वातावरण प्रदूषणसमेत हो।

यसबाहेक फलफूल, तरकारीलगायतका खाद्यान्नमा अत्यधिक मात्रामा विषादीको प्रयोग, धूलो–धुवाँ, असन्तुलित आहार, जनचेतनाको कमीलगायतका कारणले नेपालमा क्यान्सरको जोखिम बढ्दो छ। क्यान्सरको कारणमध्ये ८० प्रतिशत सुर्तीजन्य पदार्थ हो।

क्यान्सरबाट बच्न सन्तुलित खानेकुरा खानुपर्छ। फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ। सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानुहुँदैन। रासायनिक पदार्थ मिसावट भएका मिठाई, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ। यसका साथै विकिरणहरूबाट समेत टाढा बस्नुपर्छ।

चर्को घाममा समेत बस्नुहुँदैन। घाममा हुने विकिरणबाट छालाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।नेपालमा पाठेघरको मुखको क्यान्सर अर्को एक समस्याका रूपमा रहेको छ। कतिपय ग्रामीण क्षेत्रका महिलाहरूमा अहिले पनि जनचेतनाको कमीका कारण आफ्ना यौन समस्याहरू लुकाएर बस्छन्।

फलस्वरूप समय बित्दै जाँदा सामान्य समस्याले पनि भयावह रूप लिन सक्छ। ग्रामीण भेगका महिलाले उच्च शारीरिक परिश्रम गर्नुपर्ने खालका काम गर्ने भएकाले पनि आङ खस्ने समस्यासँगै क्यान्सरले पीडित बन्ने गरेका छन्। जनचेतना बढाई समयमै सचेत बनेर क्यान्सर निर्मूल पार्ने अभियानमा अघि बढौं।

– सुधा शर्मा, बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्