सहिदेऊ सबै दोष



सीताराम अधिकारी
किन चिन्तित देखिन्छौ वासन्ती फूल पाउँदा
सुरभि स्वाद मैल्यो कि धूलाका कण अल्झिँदा
काँडा बिझे कि गोडामा ठेस लाग्यो कि अल्झियौ
गालीगलोज भो यद्वा पुरानो घाउ सम्झियौ।
अनुशासित छौ आफै ज्ञानका हौ महाधनी
अरूलाई दियौ अर्ती सल्लाहकार हौ तिमी
हँसिलो रसिलो बानी कसरी धमिलो भयो
शान्ति स्वाधीनतामाथि बार कस्तो लगाइयो।
हार्यौ के खेलमा यद्वा नराम्रोसित हेपियौ
जित हार हुनै पर्छ सत्य यो किन बिर्सियौ
निराश हुन्न खेलाडी खेलमा नै बहार छ
विजयी पनि हार्नेछन् हार्ने को नव बार छ।
यौटैले मात्र जित्तैन पुरस्कार सधैंभर
क्षमता सीपले मिल्छ उँचो स्थान उँचो शिर
ओराली र उकालीमा हिँड्नै पर्छ बराबर
चौतारीमा बसे मिल्छ हावा शीतल सर्सर।
मनमा हाउ आएर दाउ मर्दैन खेलमा
विद्रोही सपना देखी जानुपर्दैन जेलमा
मान्छे नै हो उँचो निचो टाँसिने स्वर्थमोहमा
वैराग्य वेदना आई त्यागे जीवन अन्तरमा।
चेतनाहीन छन् सारा वनका ती वनस्पति
काँचुली फेर्दछन् आफै ईष्र्या छैन कसैप्रति
ईष्र्या राग महादम्भ त्याग्न सक्तैन मानिस
सहिदेऊ सबै दोष मिल्ला आनन्द आशिष।

प्रतिक्रिया दिनुहोस्