“यस्तै छ”



रजनी मल्ल
न्यु जर्सी, अमेरिका
‘विशेष अध्ययनको सिलसिलामा बक्सिङ मास्टर विवेक अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ’ भन्ने शीर्षक सँगसँगै खित्का छोडीछोडी हाँस्न पुग्छ विवेक। सायद त्यो खुसीको हाँसो हो या दुःखको ऊ आफैलाई थाहा छैन।

चार–पाँच वर्षअघि आफ्नो देश छोडी अमेरिकामा आइपुगेर मेसिनरी जीवन बिताइरहेको विवेकलाई आज किन हो कुन्नि आफ्नो परिवार साथीभाइ र देशको यादले ज्यादै सताउँछ। अञ्जान ठाउँमा अञ्जान मानिसहरूको बीच आफूलाई बेग्लै खालको अनुभव गर्नु पनि स्वाभाविकै हो।

आफ्नो देशमा छँदा बक्सिङ मास्टरको नाममा अनगिन्ती मानमर्यादा बटुली राखेको विवेक यहाँ बिहान छ बजेदेखि बेलुकीको सात बजेसम्म मेसिनले जस्तै काम गरी लखतरान पर्दै आफ्नो डेरामा फर्किन्छ अनि खाना बनाएर खाई लामो सुस्केरा हाल्दै चुरोट सल्काई एक दुई पेग लिन्छ। पेग लिँदै चुरोटको धूवाँ सँगसँगै आफ्ना परिवार साथीभाइसित बिताएका अतीतका कुराहरू सम्झन्छ, अनि कहिलेकाहीं उसका आँखाहरू रसाएर आएको पनि पत्तो नै हुँदैन उसलाई।
त्यस्तै लिँदै गरेको पेगले भिज्दै गरेको उसको घाँटी पनि सुक्दै गरेको जस्तो उसलाई लाग्दछ। कहिलेकाहीं उसलाई आफ्ना स–साना छोराछोरीले ‘बाबा’ भनी बोलाएको झैं भान हुन्छ। कहिलेकाहीं उसलाई घर फर्कूझैं लाग्छ पनि। मीठो खाए नि पिठो खाए नि आफ्नो परिवारसितै बिताऊँ, फेरि लाग्छ के ऊ घर फर्केपछि आफ्ना छोराछोरीलाई पहिलेझैं महँगा र राम्रा स्कुलमा पढाउन सक्ला त?

उसले त्यहाँ राम्रो काम पाउला त? त्यसमा पनि अहिलेको परिस्थितिमा। फेरि आफूले आफैलाई सम्झाउँछ, केही पाउनलाई केही गुमाउनु त पर्छ नै।

यसरी आफूले आफैलाई चित्त बुझाएर आधा रातजति बितेपछि बल्ल ऊ निद्रादेवीको काखमा मस्तसित निदाउँछ तर निद्रा नपुग्दै मिर्मिरे उज्यालोमै आफ्नो दैनिक काममा जान तयार हुन्छ।

घडीको घुमिरहने सुईसँगसँगै दिनभरि आफूलाई काममा नै व्यस्त राख्नुपर्ने विवेकलाई कहिलेकाहीं दिन र रातको पनि पत्तो नै हुँदैन। यसरी आफ्नो हाँसीखुसी परिवार अनि आफ्नो जन्मभूमि छोडेर यहाँ एक्लो जीवन बिताइरहेको विवेकलाई समयसमयमा वर्ष दिनमा आउने चाडपर्वको यादले पनि ज्यादै सताउँछ साथै आफ्ना ससाना दुई छोराछोरीको पनि।

जब ऊ त्यही उमेरका ससाना बालबालिकालाई देख्दछ। दिनभरिको कामपछि जब ऊ आफ्नो डेरामा फर्किन्छ, जहाँ सन्नाटाले छाएको हुन्छ। कहिलेकाहीं उसलाई आफ्ना कोठाका भित्ताले त कहिले सिलिङले खान आउला कि जस्तो लाग्दछ।हप्ता दिनमा आउने दुई दिनको बिदामा ऊ बजार गई आवश्यक दैनिक उपभोग्य सामानहरू खरिद गर्ने, कोठा सफा गर्ने र लुगा धुने काम गरी

बिताउँछ। यसरी दिन बितिरहेको विवेकले पछि पहिलेको भन्दा राम्रो काम पाउँछ। होटलमा नाइट ड्युटी, अनि चिप्लो फराकिलो सडकमा गुडिरहेका अनगिन्ती गाडीसँगसँगै ऊ पनि काममा निस्कन्छ र समयसमयमा मोबाइल फोनमार्फत साथीहरूसित कुरा पनि गर्दछ। दिनभरिको चहलपहल हुँदा आफू मस्तसित निदाउनुपर्ने र रातको चकमन्न सन्नाटामा ग्राहकको प्रतीक्षामा त कहिले ग्राहकको सेवामा आफू व्यस्त रहनुपर्ने।
कहिलेकाहीं उसका साथीहरूले उसलाई ‘तँ त लाटोकोसेरोझैं’ भनी जिस्काउँछन् पनि। महिना दुई महिनामा ऊ आफ्नो घरमा पैसा पठाउँछ। त्यहाँ आफ्नी श्रीमतीमार्फत नयाँ घर पनि बनाउँदै गर्छ, साथै आफ्ना छोराछोरीलाई महँगो बोर्डिङ स्कुलमा पढाउँछ पनि, तर आफ्नो परिवारबिनाको एक्लो जीवन ज्यादै उराठलाग्दो र एक्लो महसुस हुन्छ नै असंख्य मानिसको भीड र रमझममा पनि।

कहिलेकाहीं फोनमा कुरा हुँदा आफ्ना छोराछोरीले प्रश्न गर्छन्– ‘बाबा कहिले फर्कने? हाम्रा साथीहरूलाई त स्कुलमा उसका बाबाले पनि पुर्याउन आउँछन्। हाम्रो स्कुलको अभिभावक दिवसमा हाम्रा साथीका बाबाहरू पनि आएका थिए।’ कहिलेकाहीं उसकी श्रीमतीले पनि प्रश्न गर्छिन्– ‘हाम्रो नयाँ घर तयार हुन लागिसक्यो अब कहिले फर्कनुहुन्छ?’ तर ऊ आफैसित पनि जवाफ छैन ऊ कहिले फर्किने भनेर…. यस्तै छ।

प्रतिक्रिया दिनुहोस्