परम्पराभन्दा फरक “पृथक् बाटो”



पुष्पराज गिरी

[email protected]

“पृथक् बाटो” लघुकथा संग्रह एक नवीनतम प्रकाशित कृति हो। लघुकथा संग्रहका लेखक कथाकार युवराज मैनाली हुन्। ‘मुर्दा बोल्यो’ कथा संग्रह २०३७ सालमा प्रकाशित गरेर कथाकारका रूपमा तीसको दशकबाट नेपाली साहित्य क्षेत्रमा उदाएका मैनालीका क्रमिक रूपमा केही प्रतिभा केही प्रवृत्ति समालोचना २०४२, भ्रष्टाचारको भाङ व्यंग्य निबन्ध संग्रह २०६५, समको पौराणिक नाट्य कौशल समालोचना २०६९, कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण समालोचना २०७० र प्रस्तुत लघुकथा संग्रह ‘पृथक् बाटो’ २०७६ र विभिन्न फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन भइसकेका छन्।
मैनालीका लेखन सहज नभईकन अति नै गम्भीर, गहन भाषाशैलीका साथ सामाजिक विसंगतिका यथार्थता सशक्तरूपमा प्रवाहित भएका हुन्छन्। तर बोझिलो र अनावश्यक शब्द संयोजनको तन्काई विल्कुलै भेटिँदैन बरु मुक्त, स्वतन्त्र र निर्भीकताका साथ प्रकटीकरण व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका देखिन्छन्। 
वर्तमान समय आधुनिकता र प्रविधि विकासले ज्यादै रफ्तारको समय। रफ्तारकै कारण समय अभाव छ अध्ययनका लागि। बढ्दो व्यस्तता, बेफुर्सदी समयमा अध्ययन गर्न पनि अनुरोध गर्नुपर्ने परिस्थितिको सिर्जना भएको छ। कम समयमै बुझ्नु र बुझाउनुपर्ने भएको छ।

कथा, निबन्ध वा उनका धेरै कलम चलेका विधा समालोचना नै किन नहोस् विषयगतरूपमा यथार्थ सामाजिक विसंगति र शैली व्यंग्यात्मक नै हुने गरेका छन्, तर अनावश्यक शब्द तन्काइएर जबरजस्ती लम्ब्याइएको नभई सीधै प्रस्तुत गर्न सक्नु र गहन शब्दावलीको उपयोग वा संयोजन गरेर प्रस्तुतीकरणलाई गम्भीर बनाउनु उनको विशेषता हो।
यस्तै विकृति विसंगतिमाथिको व्यंग्य, चोटिलो र कठिन शब्दावलीको उपयोगद्वारा विषयवस्तु सीधै प्रस्तुत गरेर छोटा कथानक र एउटै परिवेशका भिन्नभिन्न घटनाक्रमका उदाहरणहरूको लघुतम आख्यानका थुप्रै गोरेटोलाई एउटै मूलबाटोका रूपमा यति बेला ‘पृथक् बाटो’ लघुकथा संग्रहभित्र समेटेका छन् कथाकार मैनालीले।

लघुकथा ‘पृथक् बाटो’ कथाकार युवराज मैनालीले लेखेको पछिल्लो कृति जसलाई तन्नेरी प्रकाशनले यसै वर्ष २०७६ सालमा प्रकाशित गरेको हो। कृतिको सौभाग्य भनौं प्रकाशनसँगै कथातर्फ उत्कृष्ट पुरस्कार दिलाउन सफल बन्यो। अनेसासद्वारा प्रत्येक दुई वर्षमा दिइने अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको विभिन्न विधामध्ये कथातर्फको उत्कृष्ट कथा पुरस्कारद्वारा कथाकार मैनाली सम्मानित भए।

लघुकथा संग्रह ‘पृथक् बाटो’ शीर्षकको अर्थलाई सजिलै बुझ्दा फरक वा भिन्न बाटोका रूपमा अथ्र्याएर बुझ्न सकियो। वर्तमान समयमा चलिरहको सामाजिक, राजनीतिक तथा प्रवासी हावापानीले भित्रिएको विसंगतिपूर्ण वस्तुस्थितिको यथार्थ विषयवस्तु विल्कुलै नयाँपन दिएर पृथक् शैलीमा ‘पृथक् बाटो’ लघु आख्यानका रूपमा कथाकारले प्रस्तुत गरेका छन्।
संग्रहभित्र ‘अनिष्ट’ शीर्षकबाट यात्रा अगाडि बढ्दछ। ‘दोलखाका भीमसेनलाई दुई–दुईपल्ट पसिना आउनु, भक्तपुरमा बिस्केटको लिंगो टुक्रिनु कम होइन है। यो अनिष्टको सूचक पक्कै हो।’ रामनाथ बाजे सबै कुराको भाउ बढेको कुरा अनिष्ट नै ठानिरहेका छन्। युवापुस्ता आफ्नै अनिष्टमा रुमलिएको छ। अर्को शीर्षकमा ‘अर्कै क्रान्ति’ क्वाँक्वाँ रुन सक्दैन कुनै वादी होइन, निरपेक्ष र उसले धारण गरेको निरपेक्षता नै सापेक्षहरूको डर चिन्ता निरपेक्षता बन्न पुग्यो। कथाकार आगामी अनिष्टको संकेत गरिरहेका छन्, अर्को क्रान्तिको खतरा सापेक्ष निरपेक्ष सबैका लागि।

‘पृथक् बाटो’भित्रको सम्भवतः सबैभन्दा छोटो गोरेटो हो शीर्षक ‘खोज’। कथाकार चिन्तन र खोजको गहन गहिराइमा प्रवेश गर्दै भन्दछन्– ‘अब लरोतरो भएर हुँदैन राम चाहियो। राम बन्न लायक कोही भएन। मात्र हनुमानै हनुमान बन्न मात्र लायक हुलका हुल भए, लङ्का जलाउन उद्यत।’ स्पष्ट छ कि अब विवेक र मर्यादालाई स्वयं पालना गर्न सक्ने ‘राम’को खाँचो यो देशलाई परेको छ। यस्तैयस्तै कैयन शीर्षकहरू पृथक् बाटोभित्र भेट्न सकिन्छ।

चोटिला, रहस्यमयी, रोचक र घोचक विषयस्तुलाई लघु आख्यानमा प्रवाहित गरेर कथाकार मैनालीले कथासंग्रहमा समेट्न भ्याएका छन्।कथासंग्रहका बारेमा वरिष्ठ समालोचक प्राडा खगेन्द्रप्रसाद लुइँटेलका भनाइमा आधारित भएर भन्नुपर्दा संग्रहमा संकलित लघुकथाको उल्लेख्य पक्ष प्रयोगशीलता हो। यो कथ्य र शिल्प दुवै क्षेत्रमा पाइन्छ। कतिपयमा कविता, निबन्ध र नाटकको सम्मिश्रण भेटिन्छ, कतिपयमा परम्परालाई भत्काइएको भेटिन्छ। यही प्रयोगशीलताका कारण यिनका कतिपय लघुकथा सामान्य पाठकका लागि अलि क्लिस्ट र दुर्बोध पनि हुन पुगेका छन्।

प्राडा लुइँटेल भन्छन्– ‘यस संग्रहका लघुकथाहरूको खास पहिचान विषयगत विविधता परम्पराबाट पृथक्, व्यंग्यात्मकताको प्रबलता, स्पष्टता र निर्भीकता रहेको छ। कथा र शिल्प दुवै प्रचलित परम्पराभन्दा पृथक् र नवीन बाटोतर्फ उन्मुख भएकाले मूल शीर्षक ‘पृथक् बाटो’ सान्दर्भिक एवं सामञ्जस्यमूलक छ।’
वर्तमान समय आधुनिकता र प्रविधि विकासले ज्यादै रफ्तारको समय। रफ्तारकै कारण समय अभाव छ अध्ययनका लागि।

बढ्दो व्यस्तता, बेफुर्सदी समयमा अध्ययन गर्न पनि अनुरोध गर्नुपर्ने परिस्थितिको सिर्जना भएको छ। कम समयमै बुझ्नु र बुझाउनुपर्ने भएको छ। त्यसैले साहित्य पनि हतारिएको छ वा छोटिन बाध्य भएको छ भनौं। यसै तथ्यलाई आख्यानकारले लघुरूपमा पनि लेख्न शुरू गरिसके। पाठक पनि यस्तै छिट्टै र सोझै बुझ्न खेज्ने भइसकेकाले नै हो। हिजोआज लघुकथाका लागि पनि समय त छ तर कृति र कघुकथाचाहिँ थोरै नै छन्। यो अभावको समयमा कथाकार मैनालीको लघुकथाहरूको संग्रह ‘पृथक् बाटो’ले ठूलै राहत पुर्याउँछ।

जसरी पनि सन्देश प्रवाह गर्नु, प्रस्ट्याउनु पढ्न खोज्नेहरूलाई बुझाउनु नै हो। चाहे सन्देश होस् वा परिवेश। उद्देश्य एउटै हो, तर समययानुकूल परिवर्तन मात्र हो, भन्ने शैलीको। यसै परिवर्तनलाई आत्मसात् गरेर कथाकार मैनाली यति बेला लघुकथाकार बनेका छन्। पृथक् बाटो कृतिको शीर्षक नामकरणबाटै प्रस्ट हुन सकिन्छ। कथाकार यति बेला आम मानिसको समय व्यस्ततालाई बुझेर कम समयमै अध्ययन गर्न आशा र अभिप्रेरणा दिइरहेका छन्।

भनिन्छ परिवर्तन गराउन आफै परिवर्तित हुनुपर्छ। तर आफ्नो मूल शैली व्यंग्यात्मक यथार्थ प्रकटीकरणलाई अक्षुण्ण राख्न भने कथाकार कत्ति पनि चुकेका छैनन्। परम्परागत धारमा धेरै कथा वा लघुकथा चलेका छन्। तर ‘पृथक् बाटो’ नयाँ धारमा छ, समयको माग हो। तर कठिनतम शब्दावलीको चयन गर्ने शैली पाठकका लागि सहजै बुझ्न कठिन देखिन्छ जसले कथाको भावशैलीलाई समेत कतिपय ठाउँमा अस्पष्टता लाग्न सक्छ।

कथाकारको शैली गम्भीर छ तर पाठक सहजरूपमा बुझ्न चाहन्छ, यसले पाठकको इच्छालाई मूल मान्नुपर्ने हुन्छ। नेपाली साहित्यमा कमी देखिएको लघुकथाका संख्या र पाठक दुवैमा वृद्धि गर्नेतर्फ पनि लघुकथाकार ठूलै योगदान दिन सफल हुने देखिन्छन्। साहित्य क्षेत्रमा यो गोरेटो नौलो नवीनता पूर्ण मूलबाटोको यात्रा बन्न सकोस्, हार्दिक शुभकामना।

प्रतिक्रिया दिनुहोस्