उहिलेका कुरा र अहिलेका कुरा विमोचित



वरिष्ठ साहित्यकार डा. महेश्वर शर्माको २७औं सृजना ‘उहिलेका कुरा र अहिलेका कुरा’ विमोचन भएको छ।पुस्तक विमोचन गर्दै वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले नेपाली महिलाको अवस्था र हाम्रो सोच परिवर्तन गर्नका लागि अझै धेरै लेख्नुपर्नेछ भन्दै लेखक अथवा सृजनाकर्मीको कलम समाजका लागि हुनुपर्ने बताउनुभएको छ।

देशको सीमा सुरक्षा राजनीतिले गर्ने हो भन्दै जेष्ठ नागरिकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सीमाबारे कुरा गरेको बताउनुभयो। उहाँले लिम्पियाधुरा हाम्रो हो अरूले नक्सामा राखे हाम्रो नक्सामा खोई भनेर प्रश्न गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा मन्त्री नरहरि आचार्यले लेखकीय स्तन्त्रता नभएको पञ्चायतको समयमा पनि पत्रिका प्रकाशनमा महेश्वर शर्माले दिएको हौसला र प्रेरणालाई स्मरण गर्नुभयो। शर्मा सकारात्मक ऊर्जा र प्रेरणाको स्रोत भएको उहाँले बताउनुभयो।

नेता आचार्यले २००८ सालदेखि लेख्न थालेका शर्माले प्रशासनिक सेनावाट निवृत्त भएपछि सक्रियरूपमा विभिन्न विधामा थुप्रै किताब प्रकाशन गरेको बताउनुभयो। आचार्यले मानिस सक्रिय जीवनमा रहँदासम्म निवृत्त हुँदैन भन्नुभयो।

डा. रजनी ढकालले पुस्तक समीक्षा गर्दै विषयको गहिराइमा पुग्नु नै लेखकको खुबी भएको बताउँदै समाजमा रहेको नारी पीडालाई यो पुस्तकले देखाएको उल्लेख गर्नुभयो।कार्यक्रममा पुस्तक लेखक डा. महेश्वर शर्माले आफूले मन भुलाउन लेख्ने गरेको भन्दै मूल्यांकन गर्ने जिम्मा पाठक स्रोतालाई सुम्पिएको बताउनुभयो।

राजनीति, प्रशासनिक क्षेत्रबाट आफ्नो विशिष्ट परिचय बनाउन सफल भएका शर्माले लेखनीको शुभारम्भ भने २००८ सालबाट गरी जागिरे जीवनबाट निवृत्त भएपछि यसलाई तीव्रता दिँदै ८९औं जन्मजयन्तीको अवसरसम्म आइपुग्दा २७ वटा कृति सार्वजनिक गरिसकेका छन्।

गण्डकी साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार, लेखक, पूर्वमन्त्री, राजनीतिज्ञ, पेसा व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम परिषद्का अध्यक्ष प्रेमराज लुइँटेलको सभापतित्वमा भएको थियो भने साहित्यकार शारदा शर्माले धन्यवाद तथा रमेश शुभेच्छुकले स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्