हजारौंले आवातजावत गर्ने ९० वर्ष पूरानो पुल जीर्ण बन्दै



सरोज यादव, विराटनगर ।

विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका वडा नम्बर ६ स्थित थलाहा नहरमा रहेको जुडी पुल जीर्ण भएको लामै समय भयो ।

पुलको सुनसरी–मोरङ सिंचाई आयोजनामा सरुवा भएर आउने हरेक प्रमुखले अनुगमन नगरेको पनि होइन । सरोकारवाला निकायले ध्यान नदिंदा पुल झन्झन् जीर्ण बन्दै गएको छ ।

कटहरी गाउँपालिका–६ स्थित थलाहा नहरमा रहेको जुडी पुल करीब ९० वर्ष पुरानो पुल हो । स्थानीय र सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा निर्माण भएको पुल जिर्ण भएको लामै समय भयो । नहरबाट किसानले ६ हजार ७० हेक्टर जमीनमा पानी प्रयोग गरिहेका छन् । जुडी पुलको मुनीबाट नहर निकालिएको छ ।

यदि यो जीर्ण हुँदै गएको पुल मर्मत नगरे कुनै पनि बेला भत्किन सक्ने देखिएको छ । पुल भत्किदा महादेवकोलका सयौं उपभोक्ता किसानहरु खेतमा सिंचाई गर्नबाट बञ्चित हुनेछन् । जुडी पुल मर्मतका लागि नेपाल सरकार एवं सम्बन्धित निकायले कुनै पनि प्रयास गरेका छैनन् ।

यससलाई मर्मत गर्नका लागि तत्काल आवश्यक रहेको स्थानीय सुरज सरदार बताउनु हुन्छ । नहरसमेत प्रयोग भएको जुडी पुलबाट थलाहा, हुरहुरीया, केसोरीया, तकिया, मोतीपुर गाउँ लगायतका दैनिक १ हजारभन्दा बढी मानिसले विराटनगर आवतजावत गर्छन् । साथै हजारौं किसानले सिंचाई प्रयोग गर्दै आएका छन् ।

यसका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले तत्काल पुलको जीर्णोद्वारमा ध्यान दिनुपर्ने स्थानीय विजय यादवले बताउनुभयो । नहर प्रयोजनमा रहेको जुडी पुल मर्मत गर्नका लागि तत्काल सुनसरी–मोरङ सिंचाइ आयोजनाले पुल निर्माण काममा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुलको तल्लो भागबाट पानी बगेर जुडी खोलामा झर्ने गरेको छ । खोलामा पानी झरेका कारणले लौहन्द्रा घाटदेखि दक्षिणी क्षेत्रका कृषकहरु यतिबेला नहरको सिंचाइ गर्नबाट बञ्चित भएका छन् । जुडी पुलदेखि एक किलोमिटरको दूरीमा रहेको लोहन्द्रा पुल पनि जीर्ण बनेको छ ।

यस पुलको मुनिबाट पनि सिंचाइ गर्नका लागि आयोजनाले नहर निकालेकोे छ । यसका लागि स्थानीय सरकारले पुल निर्माण गर्न पहल गर्नुपर्ने अर्का स्थानीय दशरथ बरही बताउनुहुन्छ । पुलको मर्मत नगर्दा दैनिक जीवनयापन गर्न र वर्षायाममा झन् बढी समस्या हुने गरेको उहाँले बताउनुभयो ।

तत्काल जुडी पुल निर्माण गर्न आयोजनामा पहलका गर्ने महादेव कोलका अध्यक्ष सुजित चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले पुल मर्मतका लागि ठूलो रकम खर्च हुने भएकाले केन्द्र बजेटबाट मात्र पुल निर्माण गर्न सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्