अपहरित बालक मुक्त २ अपहरणकारी पक्राउ



नेपाल समाचारपत्र, बारा।

बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोकाबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले उद्धार गरेको छ। बालक अपहरणमा संलग्न प्रसौनी गाउँपालिका ५ प्रष्टोकाका राजकुमार राम र पर्साको वीरगञ्ज १४ गण्डक बहुअरीका रमेश रामलाई प्रहरीले पक्राउसमेत गरेको छ।

प्रष्टोकास्थित पब्लिक बोडिङ स्कुलमा अध्ययरत जयप्रकाश साहको १० वर्षीय छोरा आकाशकुमार साह सरस्वती पूजापछि मूर्ति सेलाउन गएको बेला एक साताअघि बेपत्ता भएका थिए। छोरा घर नफर्किएपछि हराएको हुन सक्ने आशंकामा अभिभावकले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खाजेजतलास थालेको थियो। यसैक्रममा अपहरणकारी मध्येका एक राजकुमार रामले साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको भनेर स्थानीयले खबर गरेपछि प्रहरीले बालक आकाशसहित उनलाई कलैया उपमहानगरपालिका २४ श्रीपुरस्थित सडकबाट आइतबार पक्राउ गरेको थियो।

पक्राउ परेका रामकुमारले प्रहरीसंग मामा राजु रामको योजनामा बालकलाई ललाइफकाइ अपहरण गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो। मिश्राका अनुसार मामा राजुले अपहरण गरेर बुझाएबापत ५० हजार दिने सहमति भएको रामकुमारले प्रहरीलाई बताएका छन्। बालक आकाशलाई सीमावर्ती भारतमा रहेका मामा राजुलाई बुझाउन जाने क्रममा रामकुमार पक्राउ परेको प्रहरीको भनाइ छ।

उनकै बयानको आधारमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका १४ गण्डक बहुअरीका १८ वर्षीय रमेश रामलाई पनि पक्राउ गरेको हो। अपहरणबाट प्राप्त हुने रकम बाँडफाँड गर्ने सहमति भएपछि बालकलाई नसालु पदार्थ सेवन गराएर २ दिनसम्म आफ्नो दिदीको घरमा लुकाएर राख्न रमेशले सहयोग गरेका थिए। पक्राउ परेका दुवैविरुद्ध बालकको काका ओमप्रकाश साहले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन्।

उनीहरूविरुद्ध बारा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ५ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिश्राले जानकारी दिनुभयो। अपहरणको मुख्य योजनाकार राजु राम अझै फरार रहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्