“पञ्चाङ्ग निर्णायक समितिलाई धम्की” समाचारप्रति ध्यानाकर्षण



नेपाल ज्योतिष परिषद्द्वारा आयोजित २२आंै वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्री रामचन्द्र गौतमजीले युरोपियन युनियनको इशारामा पञ्चाङ्ग निर्णायक समितिलाई धम्की आएको भन्ने अभिव्यक्ति दिनुभएको कुरा गत पुस २५ गतेको एउटा राष्ट्रिय दैनिक पत्रिकामा तथा केही अनलाइनहरूमा समाचार प्रकाशित भएको रहेछ।

सो कार्यक्रममा ‘युरोपियन युनियनको इशारामा हाल एक तत्व लागिपरेर ज्योतिषीय सिद्धान्त विपरीत कार्य गर्दै धर्म–संस्कृतिमाथि प्रहार गरिरहेको छ’ भनी उहाँले भन्नुभएको भन्ने सो समाचारमा उल्लेख गरिएको छ।

सो समाचारमा उल्लेख गरिएअनुसार २०७७ सालमा ११ महिना कायम गर्नुपर्ने तथा असार १ गतेलाई दक्षिणायन संक्रान्ति र पुस १ गतेलाई उत्तरायण संक्रान्ति बनाउनुपर्ने लगायतका माग राख्दै सो समूहले यी माग पूरा नभए उहाँ लगायत अन्य पञ्चाङ्गकारहरूलाई कारबाही गर्ने धम्की दिएको हो भन्ने अभिव्यक्ति दिएको देखिन्छ।

सो समाचारमा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षले युनियनको इशारामा हाल एक तत्व लागिपरेर ज्योतिषी सिद्धान्त विपरीत कार्य गर्दै धर्म–संस्कृतिमाथि प्रहार गरिरहेको छ भनी कडा आरोप लगाएको भए तापनि कुनै व्यक्ति वा समूहको नाम किटानी गरेको भने देखिँदैन।

तर जोसुकै किन नहोस्, यदि कसैले हाम्रो सनातनी शास्त्रअनुकूल शुद्ध समयमा आफ्नो पर्व मनाउन पाउनुपर्ने अधिकारमाथि अंकुश लगाउन खोज्दै धर्म–संस्कृतिमाथि प्रहार गर्ने कुचेष्टा गर्छ भने हामी सनातनीलाई पक्कै पनि सह्य हुनेछैन।

मान्यवर रामचन्द्र गौतमजीलाई म सनातनीको प्रश्न के छ भने, आजको समय परिस्थितिमा सूर्य दक्षिणायन लाग्ने समय साउन १ र उत्तरायण लाग्ने समय प्रचलित पञ्चाङ्गमा उल्लिखित समय माघ १ नै हो त ? के प्रकृतिले सूर्यको चलायमान गति त्यही नै दृश्य देखाएको छ त ?  रात र दिन बराबर भएको विषुवत् दिनमा मनाउने परम्परागत विषुवत् (विश्वकेतु– बिस्का) जात्रा वैशाख १ को दिनमानअनुसार रात र दिन बराबर छ त ?

पृथ्वीको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पूरा हुने सिद्धान्तअनुसार ७०.६ वर्षमा प्रत्येक ऋतु एक दिन अगाडि सर्दै जाने प्राकृतिक नियमअनुसार सायन संक्रान्ति र गणितगत संक्रान्ति याने प्रचलित संक्रान्तिहरू २४ दिनसम्मको फरक परिसकेको भन्ने प्रकृतिले देखाएको सूर्यको गति अयनलाई स्वीकार गर्दा प्राचीन अयनकै गणितीय आधारमा तयार गरिएका ‘सफ्टवेयर’ विद्युतीय ज्योतिष प्रकरण काम नलाग्ने हुन गई आर्थिक घाटा हुने डरबाट त्रसित ज्योतिषहरूको रजाइँमा तयार भई आएका पञ्चाङ्गमा उल्लिखित पर्व–समयमा सनातनी कर्म संस्कार तथा पर्व मान्दा शास्त्रअनुकूल हुन्छ त ?

एक दशकअगाडि पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति, नेपालबाट प्रकाशित ‘पर्व सुधारका आधारहरू’ नामक पुस्तकमा मान्यवर रामचन्द्र गौतमजी तपाईं आफैंले ‘पर्वसुधार– शास्त्रीय चिन्तन’ शीर्षकको लेखमा यस्तो लेख्नुभएको छ, ‘अहिले व्यवहारमा सायन र निरयणको विवाद गरी विविध कारणले गर्दा यो व्यवस्था लागू हुन सकेको छैन। सो हुन नसक्दा चाडपर्व मनाउने समय शास्त्रप्रतिकूल भइरहेको छ।

सो समय शास्त्रअनुकूल बनाउनको लागि निरयण मीन संक्रान्तिलाई निरयण मेष संक्रान्तिमा परिणत गर्नै पर्छ। त्यसो गरेको खण्डमा मात्र पर्व समय सुधार (शुद्ध) हुने निश्चित छ।’ तपाईं आफैंले यसरी पर्वसमय सुधार गर्न नितान्त आवश्यक देखाउनुभएको छ। के त्यो लेख पनि तपाईंले कसैको इशारामा लेखेको हो त ? अथवा त्यो लेख तपाईंको अल्पज्ञानको परिणाम हो ?

मान्यवर गौतमजी, पृथ्वीको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको गणितीय आधारमा पञ्चाङ्ग तयार गरी आगामी वर्षको अधिकमास (मलमास) लाई सदुपयोग गरेर पञ्चाङ्गमा पर्वसमय सुधार गराई हामी सनातनीहरूलाई शास्त्रअनुकूल शुद्ध समयमा फल प्राप्त हुने किसिमले सनातनी धर्म कर्म संस्कार तथा पर्व मनाउन पाउनुपर्छ भन्ने यथोचित माग अगाडि सारेर पञ्चाङ्ग निर्माणको सरोकारसामु दबाबमूलक कार्य गर्दाको स्मरणलाई आवेशको रूप दिएर मिथ्या आरोप लगाउनु के तपाईंको प्रबुद्धता हो ?

कतै सफ्टवेयर विद्युतीय ज्योतिष प्रकरणका व्यापारी ज्योतिषीहरूलाई रिझाउन शास्त्रअनुकूल पर्वसमय सुधार गर्न अक्षमता प्रकट गर्दै फलित ज्योतिषीहरूको सामु लम्पसार भएको त हैन ?

यदि तपाईंमा साहस छ भने नेपाल सरकारबाट गठित तत्कालीन पर्वसमय सुधार राष्ट्रिय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझाएको ‘प्रचलित सिद्धान्त र ज्योतिष शास्त्र र सनातनी धर्मशास्त्रलाई यथावत् नै राखी ऋतु बिग्रिएको अयन विषुवत् संक्रान्ति दिन तथा पर्वलाई बिग्रिएको हदसम्म परिवर्तन गर्नु/गराउनुपर्ने’ सुझावसहितको प्रतिवेदनलाई गलत साबित गरेर देखाउनुस्।

यदि त्यसो गर्न तपाईं सक्नुहुन्न भने चन्द्रमा बिग्रेर राजनीतिक, सामाजिक, आर्थिक तथा प्रशासनिक क्षेत्रहरूमा लथालिंग भइरहेको यो देश नेपालमा अन्तर्राष्ट्रिय स्तरको खगोलशास्त्र, भौगोलिकशास्त्र तथा ज्योतिषशास्त्र विज्ञहरूको बृहत् सम्मेलन गरी शास्त्रसम्मत सनातनी धर्म, कर्म संस्कार तथा पर्व मनाउन पञ्चाङ्गमा पर्वसमय सुधारको निकास खोल्नुस्।

– प्रकाशमान शिल्पकार,
काठमाडौं।

प्रतिक्रिया दिनुहोस्