चीनमा रहेका नेपालीको उद्धारमा किन ढिलाइ ?



यति बेला छिमेकी मुलुक चीनमा कोरोना भाइरसको कहर छ। विश्व नै यही विषयमा केन्द्रित बनेको छ। चीनमा तीव्ररूपमा फैलिँदै गरेको नोबेल कोरोना भाइरसबाट बच्न थुपै्र देशले आफ्ना नागरिकलाई देश फर्काइसकेको र कतिपय देशले चिनियाँ पर्यटकहरूमा प्रतिबन्ध नै लगाइरहेका छन्।

नेपाली नागरिक पनि अध्ययनलगायत विविध कामको सिलसिलामा चीनमा बस्दै आएका छन्। तर उनीहरूलाई भने नेपाल फर्काउन ढिलाइ भएको छ। सरकारले आफ्ना नागरिक फिर्ता ल्याउने निर्णय गरे पनि यो आपत्कालीन अवस्था भएकाले आफ्नो निर्णयलाई तत्कालै कार्यान्वयन गराउनुपर्नेमा विलम्ब हुँदै गएको छ। यो विषयमा संघीय संसद्मै सरकारको आलोचना पनि भएको छ।

विभिन्न सञ्चारमाध्यममा आएका खबरहरू सुन्दा नेपालीहरू स्वदेश फर्कन निकै अत्तिएका छन्। उनीहरू अरू देशले आफ्ना नागरिकको छिटो उद्धार गरेको हेर्दै आफू भने टुहुराजस्तो महसुस गरिरहेको बताइरहेका छन्।

चीनबाट नेपालीको उद्धार गर्ने निर्णय कार्यान्वयनमा देखिएको ढिलासुस्ती सरकारको गैरजिम्मेवारीपन नै हो। यो विषयमा सबैले आवाज उठाउन जरुरी छ। यसमा नेपाल सरकार अत्यन्तै जिम्मेवार हुन आवश्यक छ। तत्काल नेपालीलाई सकुशल नेपाल ल्याइपुर्याउन सरकार र राजदूतावासले ठोस कदम चाल्नै पर्छ।

– रेशम बजगाईं, लम्की, कैलाली।

प्रतिक्रिया दिनुहोस्