‘मेरो देश म चिनाउँछु’ शीर्षकमा राष्ट्रिय कविता महोत्सव



न्युज अफ नेपाल, काठमाडौँ ।

टोखास्थित न्हुजः खलः पुस्तकालयले ‘राष्ट्रिय युवा कविता प्रतियोगिता तथा राष्ट्रिय युवा कार्यशाला– २०७६’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा देशका ७७ वटै जिल्लाबाट छानिएका एक सय जना युवा कविले प्रतिस्पर्धा गर्नेछन् ।

युवा पुस्तामा व्याप्त नकारात्मक धारणा र निराशालाई हटाउन जागरण युवा कविता महोत्सवका रूपमा कविता महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उक्त कविता प्रतियोगितामा देशभरका १८ देखि ४० वर्षका युवाहरूले सहभागिता जनाउने बताइएको छ ।

युवा पुस्तामा देशभक्तिको भावना, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षपोषण, राष्ट्रिय दायित्व र कर्तव्यको अभिव्यक्ति तथा राष्ट्रिय समृद्धिको चाहना तथा दीर्घकालीन योजनाले परिपूर्ण कविताहरू उक्त प्रतियोगितामा समावेश हुने आयोजक समितिले जनाएको छ । राष्ट्रिय सञ्चार माध्यम र राष्ट्रिय युवा परिषद्का जिल्ला कार्यसमितिहरूमार्फत त्यस्ता युवाहरूको खोजी गरिने र यसरी संकलित कविताहरू मध्येबाट विज्ञ समूहको सिफारिसमा ७७ जिल्ला नै समेट्ने गरी १०० जना युवा कविहरूलाई प्रतियोगितामा सहभागी हुन ३ दिनका लागि काठमाडौं बोलाइनेछ । देशभक्ति भावना र त्यस भावनालाई शब्दमा सजाउन सक्ने १०० जना युवामाझ टोखा नगरपालिकाका ११० जना सोही उमेर समूहका स्नातक उत्तीर्ण युवाहरूबिच अन्तर्क्रिया र छलफल गर्ने योजना बनाइएको न्हुजः खलका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार फागुन ११ गते काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगितामा २५ वर्षमुनिका युवाले १५० शब्दमा समेटिएका कविता प्रस्तुत गर्नेछन् । माघ २५ गतेसम्म कविता बुझाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने युवा कविले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । अन्य दुई कविलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने श्रेष्ठले बताए ।

सो अवसरमा देशको विकास र समृद्धिका बारेमा विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिनेछ । ‘मेरो देश म चिनाउँछु’ शीर्षकमा प्रत्येक प्रदेशका सहभागीबाट छानिएका व्यक्तिले आफ्नो प्रदेशको अवस्था, समस्या र सम्भावनाका बारेमा प्रस्तुतिकरण गर्नेछन् । ३ दिन सँगै रहँदा स्थानीय युवाहरूले नेपालभरका सम्पूर्ण जिल्लाहरूको अवस्था, चुनौती, सम्भावना, भाषा, साहित्य, संस्कृति तथा संस्कारका बारेमा यथेष्ट जानकारीसमेत पाउने हुँदा देशको विविधता र अवस्थाका बारेमा सबै परिचित हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्