कोरोनाको सुरक्षा सतर्कतामा जुट्यो प्रदेश १ सरकार



सरोज यादव, विराटनगर।

छिमेकी राष्ट्र चीनको बुहानबाट शुरु भई विश्वभर तीव्ररुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि यसको सम्भावित खतराबाट बच्न प्रदेश १ सरकार आवश्यक तयारीमा जुटेको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको बैठकले सम्भावित खतराबाट बच्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रमुख सचिव सुरेश अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, मेडिकल कलेज, अस्पताल, सुरक्षा निकायका प्रतिनिधिलगायत सम्बन्धित क्षेत्रका व्यक्तिसहितको सहभागीतामा बसेको बैठकले सचेतना फैलाउने, उपचारको व्यवस्था मिलाउनेलगायतका विषयमा छलफल गरी निर्णय गरेको छ।

जसअनुसार, संक्रमण हुन नदिन सचेतना र कार्यक्रम सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय भएको छ। त्यसैगरी नोबेल कोरोना भाइरसको संक्रमण परीक्षण गरी संक्रमितहरूलाई आइसोलेसन बेडको व्यवस्थापन कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बीएन्ड सी अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल विराटनगरमा सामाजिक विकास मन्त्रालयले मिलाउनेछ।

त्यसैगरी प्रदेशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छलफल गरी सर्तकता अपनाउन निर्देशन गरिएको छ भने चीनसँग सीमाना जोडिएका स्थानमा चीनतर्फका नाका बन्द हुँदा खाद्यान्नलगायतका संकट हुने अवस्थालाई मध्येनजर गर्दै संखुवासभा र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशित गर्ने बैठकले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्