लगानी विस्तारमा केन्द्रित गर्नुपर्नेमा जोड



काठमाडौं, (नेस)।

नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच परिसंघको सचिवालयमा भेटवार्ता भएको छ।

त्यसक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल स्वीट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने समय आएको बताउनुभयो।

स्वीट्जरल्यान्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका साथै नेपालको गलैंचाको उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गर्नुभयो।

उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावना रहेकोतर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराउनुभयो।

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानको संरक्षण गर्न परिसंघले स्वीस दूतावाससँग सहकार्य गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीट्जरल्यान्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता पनि राजदूत ओस्वाल्डले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्