भ्रमण वर्ष सफल बनाउन चिनियाँ पर्यटकको विकल्प खोजिँदै



नेपाल समाचारपत्र, काठमाडौं

नेपालमा दोस्रो धेरै पर्यटक भित्रिने चीन कोरोना भाइरसका कारण प्रभावित भएपछि अन्य मुलुकका पर्यटक भित्र्याउन निजी क्षेत्रले पहल गर्ने भएको छ। होटल संघ नेपालले चीनको विकल्पमा अन्य देशबाट पर्यटक ल्याउने पहल गर्न अग्रसरता लिने भएको छ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दैे विदेशी पर्यटक लक्षित थप आकर्षक योजना ल्याउन सरकारसँग सहकार्य गर्ने जनाएको छ। संघकी अध्यक्ष सिर्जना राणाले सरकारसँगै वायुसेवा सञ्चालक संघ, नेपाल पर्यटन बोर्डलगायतका संस्थासँग सहकार्य गरेर पर्यटक प्रवद्र्धनमा लाग्ने बताउनुभयो।

‘चीन नेपालको दोस्रो पर्यटक बजार हो। तर, भ्रमण वर्षको शुरूआतमै चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमात्रै नभएर विश्वका विभिन्न पर्यटकीय मुलुकमा प्रभाव परिरहेको छ। हामीले यो घटनामा नआत्तिएर सतर्कतापूर्वक अघि बढ्नुपर्छ’–उहाँले भन्नुभयो।

उहाँले नेपालमा कोरोना भाइरसको संक्रमण नरहेकाले नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य रहेको बताउनुभयो। ‘हामीले भारत, बंगलादेश, मध्य–पूर्व, दक्षिण–पूर्वी एसियालगायत अन्य मुलुकबाट लक्ष्यअनुसारको पर्यटक भित्र्याउन अहोरात्र खटिरहेका छौं’ – उहाँले भन्नुभयो।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले चीनबाट आउने पर्यटक घट्दा नेपालमा पनि समस्या परेको बताउनुभयो। उहाँले चीनको विकल्पमा अन्य मुलुकमा बजारीकरण अगाडि बढाउने योजना सुनाउनुभयो।‘वायुसेवा कम्पनी, नेपाल सरकार, होटल संघको सहकार्यमा यो वर्ष पाँच लाख चिनियाँ पर्यटक ल्याउने लक्ष्य राखेका थियौं। तर, ‘अनएक्सपेक्टेड’ रूपमा कोरोना महामारी फैलियो,’ उहाँले भन्नुभयो–‘कोरोना भाइरस छिट्टै अन्त्य होस् भन्ने हाम्रो प्रार्थना हो।

अब छिट्टै मध्य–पूर्वी मुलुकका पर्यटक भित्र्याउनका लागि थप आकर्षक योजना ल्याउने तयारीमा छौं।’संघका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाको हल्लाको पछाडि नलागी पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो। शाह नेपालका लागि कोरोना भाइरस समस्या नै नभएको बताउनुहुन्छ।

उहाँले चीनमा यसको प्रभाव धेरै भए पनि नेपालमा नरहेको भन्दै यसबारे धेरै हल्ला फिँजाउन नहुने बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘कोरोना भाइरस हाम्रो लागि समस्याको रूपमा आइसकेको छैन, धेरै हल्ला फिंँजाइयोमात्रै।’

भ्रमण वर्ष सफल बनाउन कोरोना भाइरसले प्रभावित नबनाउने बताउँदै उहाँले अहिले चीनबाट आउने पर्यटकको संख्यामा केही कमी आएको भने सत्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘स्वभाविक रूपमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ। तर, अब भ्रमण वर्ष सफल नै हुँदैन भन्ने जस्ता तर्क चाहिँं जायज होइनन्, बाहिर बढी हल्ला भयो।’

भ्रमण वर्ष सफल बनाउनका लागि नेपालले कोरोना भाइरसको जोखिम नरहेको सन्देश विश्वस्तरमा फैलाउनु आवश्यक रहेको उहाँको भनाइ छ। ‘सरकारले नै जोखिम नरहेको बताइसकेको अवस्थामा बाहिर जति प्रचार गरिएको छ, त्यसले राम्रो सन्देश दिँदैन,’ उहाँले भन्नुभयो–‘हामीले सकारात्मक सन्देश विश्वसामु फैलाउनुपर्यो।’

भ्रमण वर्ष सफल बनाउन नयाँ प्याकेज घोषणा गर्नुपर्ने बताउँदै उहाँले यसबारे पर्यटन व्यवसायी तथा सरकारसँग छलफल चलिरहेको बताउनुभयो। नयाँ मुलुकबाट पर्यटक भित्र्याउनका लागि आवश्यक तयारी गर्नुपर्नेमा उहाँको जोड छ।

प्रतिक्रिया दिनुहोस्