कोरोना भाइरसविरुद्ध प्रहरीको सचेतना



रोशन पराजुली­/हेटौंडा

चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार जनचेतनामूलक र्याली तथा कोणसभा गरेको छ।

सभामा कलैया अस्पताल बारामा डा. प्रेमशंकर चौरसियाले कोरोना भाइरसविरुद्ध जानकारीमूलक मन्तव्य राख्नुभएको थियो। प्रहरी प्रमुख प्रउ विकासराज खनालले भाइरसबाट बच्न आग्रह गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय बारा प्रमुख प्रउ खनालको सभाध्यक्षता तथा कलैया उपमहानगर मेयर राजेशराय यादबको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्ष, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, महिला सञ्जाल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नेपाल स्काउटआबद्ध विद्यार्थी तथा शिक्षक, सामुदायिक प्रहरी अध्यक्षलगायत शिक्षक, विद्यार्थी, प्रहरीको सहभागिता थियो।

भरत चोकबाट बाजा, पम्पेल्ट तथा ब्यानरसहितको र्यालीले बजार परिक्रम गरी पुनः भरत चोकमा कोणसभामा परिणत भएको थियो। कोरोना भाइरसविरुद्ध पर्चा वितरण गरिएको थियो।

उच्च सतर्कता अपनाउँदै हेटौंडा अस्पताल

चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि हेटौंडा अस्पतालले उच्च सतर्कता अपनाउने भएको छ। अस्पतालले शंकास्पद बिरामी आए उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार गर्ने भएको हो।

बिरामीको चाप हुने अस्पतालमा तीनवटा कोठाको एक कक्ष खडा गरी सेवा शुरू गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले जानकारी गराउनुभयो। अस्पतालले नयाँ भवनको ओपीडी कक्षमा उपचार कक्ष खडा गर्ने तयारी गरेको डा. श्रेष्ठले बताउनुभयो। उक्त भवनका कोठामा यसअघि चमेनागृह सञ्चालनमा ल्याउने भनिएको थियो।

कोरोना भाइरसको महामारी फैलिएको जानकारी आएपछि उच्च सतर्कता अपनाएर चमेनागृहको कार्य रोकी शंकास्पद बिरामी आए उक्त कक्षमा राख्ने निर्णय गरिएको उहाँले बताउनुभयो।

उक्त कक्षको जिम्मेवारी फिजिसियनले लिने श्रेष्ठको भनाइ छ। परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका भए नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइनेछ। हालसम्म अस्पतालमा कोरोना भाइरसका शंकास्पद बिरामी आएका छैनन्।

बिरामी र सर्वसाधारणका लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक कार्य शुरू गरिने उहाँले बताउनुभयो। नियमितरूपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरे कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने डा. श्रेष्ठले जानकारी गराउनुभयो।

अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तत्र्रिmया गर्न जरुरी रहेको उहाँले बताउनुभयो।

हेटौंडा अस्पतालमा मकवानपुरसहित तराईका जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। अस्पतालमा वर्षेनी ६० देखि ८० हजार बिरामीले सेवा लिने गरेका छन्।

खोक्दा वा हाच्छ्यँु गर्दा नाकमुख छोप्ने, लक्षण देखाउने जोकोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान डा. श्रेष्ठले सुझाउनुभयो।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले तीन समिति गठन गरेको छ। विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो। सदस्यमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन्।

समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखा निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गत सबै परिषद् अध्यक्षलाई पदेन सदस्य तोकिएको छ। उच्चस्तरीय अनुगमन समितिले कोरोना रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामको अनुगमन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्