समय जतिसुकै बेला चम्कन सक्छ



समय बलवान् छ। समयअनुसार हामी सबै चल्न सक्नुपर्छ। समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरू छुट्ने तथा बिग्रने हुन सक्छन्। विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई रोक्न भने सकिएको छैन। समयले मानिसलाई चलाउने काम गर्छ। अझ भनौँ घडीको सुईको गतिमा हामी चल्नुपर्ने हुन्छ।

घडीको सुईको निर्देशनमा चलिएन भने ठूलै नोक्सानसमेत चुकाउनुपर्ने अवस्था आउन सक्छ। हामीले थोरै समयलाई ख्याल गरेका हुदैनौँ। जानाजान हामीले लापरबाही गर्दा समयले नेटो काटिसकेको हुन्छ।

पछिल्लो समय आयोजना गरिने विभिन्न कार्यक्रमहरू निर्धारित समयभन्दा निकै अबेर गरी सञ्चालन गरिएका छन्। भनिन्छ, एक–एक सेकेन्ड समयको ठूलो महत्व छ। बितिसकेको समयलाई हामीले फर्काउन सक्दैनौँ।

एउटा सामान्य कार्यक्रम एक–दुई घन्टा ढिला गरिदिँदा त्यसले दिनभरिको काममा प्रभाव पारिरहेको हुन्छ। कतै कुनै काममा जान वा कुनै महत्वपूर्ण भेटघाटका लागि तयार पारिएको कार्यक्रममा एकठाउँमा ढिला हुनेबित्तिकै यसले दिनभरिकै काममा असर परेको हुन्छ।

पछिल्लो समय आयोजना गरिने औपचारिक कार्यक्रमहरूमा समयलाई ख्याल गरेको पाइँदैन। आयोजकले एक–दुई जनाको इच्छाअनुसार कार्यक्रमलाई ढिला शुरू गर्छन्। निर्धारित समयमा कार्यक्रम शुरू हुन नसक्दा कतिपय मानिस कार्यक्रम छोडेर जानुपर्ने हुन्छ।

त्यस्तै, कति मानिसले आफ्नो अरू कामबाट हात झिक्नुपर्ने अवस्था आउँछ। पछिल्लो समयको कुरा गर्ने हो भने चितवनको गरिमा र गौरवमय प्रस्तुति भन्दै आयोजना गरिएको चितवन महोत्सवमा समयको ख्याल कत्ति पनि गरिएको पाइएन। अझै महोत्सवका अवसरमा आयोजना हुने गोष्ठी तथा सेमिनार दुई घन्टासम्म ढिला भएर शुरू भएका थिए।

उद्योग वाणिज्य संघजस्तो एउटा व्यवसायीको प्रतिष्ठित संस्थाले समयमा नै कार्यक्रम शुरू नगर्दा यसले अन्य सेवाग्राहीलाई मर्का परेको छ। ११ बजे कार्यक्रम आयोजना गर्ने भनेर निमन्त्रणा गरिएको भए पनि १ बजे मात्रै कार्यक्रम शुरू हुँदा यसले धेरैलाई मर्कामा पारेको छ।

उद्योग वाणिज्य संघमा भएको घटना एउटा प्रतिनिधि घटना मात्रै हो। एक–दुई जनाको कारणले धेरैलाई पर्खाउने काम कदापि राम्रो होइन। सबैले समयको महत्व बुझ्दै समयमा कार्यक्रम गरेर समयमा नै सक्ने बानी बसाल्न सक्यौँ भने समृद्धिको शुरूआत हुनेछ।

– विपिन कार्की, भैरहवा।

प्रतिक्रिया दिनुहोस्