कोसी टप्पु महोत्सव शुरू



सरोज यादव, विराटनगर।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोशी टप्पु प्रथम महोत्सव’ को उद्घाटन गर्नुभएको छ।चराको स्वर्गभूमि र अर्नाको राजधानी भनेर चिनिँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षमा आइतबारदेखि शुरु भएको महोत्सव ११ दिनसम्म चल्नेछ। चरा र अर्नाप्रति मोहित हुने आन्तरिक तथा बाह्य एक लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ कोशी गाउँपालिकाले महोत्सव आयोजना गरेको हो।

हात्ती चढेर आउनुभएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सव उद्घाटन गर्नुभयो। महेन्द्र राजमार्गस्थित जमुवाबाट हात्ती चढेर जानुभएका मुख्यमन्त्री राईले चराको राजधानीको रुपमा चिनिने कोशीटप्पुमा पर्यटन महोत्सव उद्घाटन गर्नुभएको हो।

संघीय र प्रदेश सरकारको उद्देश्यअनुरुप पर्यटक भित्रयाउन कोशी पर्यटन महोत्सव गरिएको हो। सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय आसपास भ्रमण वर्षलाई सहयोगका लागि आयोजना गरिएको हो।

कोशी गाउँपालिकाको आयोजनामा शुरु भएको महोत्सव २९ गतेसम्म आयोजना हुनेछ। कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर कोशी गाउँपालिकाले महोत्सव गराएको हो।

महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको यात्रा गराउने व्यवस्था छ। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पर्यटकीय स्थलहरूको पहिचान गर्दै श्रोत साधन, पूर्वाधार निर्माण गर्न तथा प्रचारप्रसार गर्न लागिपरेको बेला कोशी टप्पुमा लागेको महोत्सवले अरु स्थानमा पनि सकारात्मक सन्देश जाने बताउनुभयो।

कार्यक्रममा प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुशियैतले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै नेपाल भ्रमण वर्ष सफल पार्न सबै साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटक बढाउन, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन महोत्सव आयोजना गरिएको कोशी गाउँपालिका प्रमुख अयूव अनसारीले बताउनुभयो।

महोत्सवमा विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर, स्थानीय हस्तकला र कृषि उत्पादनहरूको ३० वटा स्टल राखिएको छ। कोशी टप्पु आरक्ष २०३२ सालमा स्थापना भएको हो।

तर, यहाँ पर्यटक यकिन गरेर सरकारी स्तरको कार्यक्रम भने पहिलोपटक गरिएको हो। नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन्। जसमध्ये लगभग २ सय प्रजाति सिमसारमा निर्भर छन्। हाँसका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन्।

कोशी टप्पुमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइने गरेका छन्। यहाँ विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन्। कोशी टप्पुमा अर्नाको संख्या भने अहिले ४१९ वटा छन्।

१३ वटा अर्ना अघिल्लो वर्ष चितवन राष्ट्रिय निकुञ्ज सारिएको थियो। सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्र्गिकलोमिटर क्षेत्रमा फैलिएको यो क्षेत्रमा छाडा चौपाया छाड्नाले अर्नाको आहारा संकटमा पर्दै आएको छ। अर्नाको सरदर आयु २५ वर्षको हुन्छ र पोथीले जीवनकालमा पाँचवटा बच्चासम्म जन्म दिन्छ।

भाले अर्ना १८ महिनामा र पोथी अर्ना २ देखि ३ वर्षको उमेरमा प्रजनन्योग्य हुन्छ। गर्भधारण अवधि १० देखि ११ महिना रहन्छ। एक्लो भाले र बच्चासँग पोथी आक्रमक स्वाभावको हुन्छ।

महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको यात्रा गराउने व्यवस्था छ। आन्तरिक, ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरी एक लाख पर्यटकहरू भित्रयाउने आयोजकको उद्देश्य छ।

प्रतिक्रिया दिनुहोस्