एसएसपी राणालाई ५ दिन थुनामा राख्न आदेश



विराटनगर, (नेस)

यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणाउपरको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। एसएसपी राणालाई सरकारी वलिकको कार्यालय इनरुवामार्फत् सोमबार सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो।

सरकारी वलिकले १० दिनको म्याद मागेको भए पनि अदालतले ५ दिने म्याद दिएको छ। अदालत पुर्याइएका निलम्बित एसएसपी राणाउपरको जबरजस्ती करणीको अभियोगमा प्रहरी अनुसन्धानका लागि जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपको आदेश गरेको हो।

श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार सौरभ राणाउपरको अभियोगका सम्बन्धमा अदालतबाट प्रहरी नियन्त्रणमा रहने गरी ५ दिने म्यादको आदेश भएको छ। म्याद थप गर्नु पूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आ–आफ्नो तर्क राखेका थिए।

अदालत परिषरबाट बाहिरिदैं गर्दा संक्षिप्त प्रतिकृया दिदैं एसएसपी राणाले आफूमाथि लगाइएको आरोप झुटो भएको बताउनुभयो।
उहाँले केही दिनभित्र सबै सत्यतथ्य बाहिर आउनेसमेत बताउनुभयो। म्याद थपपश्चात राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ।

राणालाई प्रहरीले भीआईपी कक्षमा राख्दै आएको छ। अदालतबाट अघिल्लो दिन पक्राउ आदेश जारी भए पनि एसएसपी राणा स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको बताइएको छ।

यौनहिंसाको किटानी जोहेरीपश्चात एसएसपी राणालाई गृह मन्त्रालयले शुक्रबार नै निलम्बन गरिसकेको छ। राणाउपर पीडित महिलाले इटहरीको एक होटलमा आफूमाथि जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्