‘चियर्स’ सामाजिक परिदृश्य भित्र यथार्थ चित्रण



पुष्पराज गिरी ।

कथाको आधारभूत विषयवस्तु सामाजिक परिघटना र मानिसहरुको भोगाईको यथार्थ चित्रण वा घटनाहरुको विश्लेषणमा आधारित हुनुपर्छ । जसले मानवीय जीवनका भोगाईहरुलाई व्यक्त गरोस् । तबमात्र कुनै पनि कथाकार र कथालाई उत्कृष्ठता हासिल हुन्छ । यसै अभिप्रायमा कथाकार दिलीप शाहले लेखेको एउटा कथा संग्रह हो ‘चियर्स’ ।

चियर्स कथा संग्रह कथाकार दिलीप शाहको छैठौं प्रकाशित कृति हो जसलाई भुँडिपुराण प्रकाशनले गतवर्ष मात्रै प्रकाशित गरेको हो । यसअघि शाहका कथासंग्रहहरु साझा प्रकाशनबाट मौन धारण २०६४, श्रद्धा सुमन २०६८, मुर्दार काठमाण्डु २०६९ तथा याम्बुरी बुक प्वाईन्टबाट ‘बघिनी’ २०७० र जालो लघुकथा संग्रह २०६६ विवेक सिर्जनशील प्रकाशनबाट प्रकाशमा आइसकेका छन् ।

कथाकार शाहका बारेमा भन्नुपर्दा उनको जन्म वि.सं २०१६ मा जाजरकोट जिल्लाको खलङ्गामा भएको हो । नेपालमा आइएस्सी सम्मको अध्ययन पछि भारतको बैंलोरबाट एग्रीकल्चर साइन्समा स्नातक र पुनः त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । पेशागत रुपमा बैंकिङ्ग क्षेत्रमा लामो समय बिताएका उनको लेखन भने विशेष रुचिको विषय हो । तीसको दशकदेखि लेखन प्रारम्भ गरेका उनका कथाहरु सोही समयदेखि पत्रपत्रिकाबाट प्रकाशित हुन शुरु गरेको देखिन्छ । उनको पहिलो प्रकाशित कृति भने वि.सं २०६४ मा प्रकशित कथा संग्रह ‘मौन धारण’ हो ।

कथाकार शाहको कथाहरु विशेषत सामाजिक परिघटनाहरुको विषयवस्तुमा केन्द्रीत भएका पाइन्छन् । समाज र सामाजिक जनजीवनका भोगाइहरुलाई यथार्थ र कथनलाई विषय बनाएर आफ्नै शैलीमा सरल र सजिलो बुझिने भाषामा अभिव्यक्त गर्नुसक्नु उनको लेखकीय प्रवृत्ति वा विशेषता देखिन्छ । यिनै शैलीमा राजधानी काठमाडौं र शहरी जीवनको शेरोफेरो र केही राजधानी बाहिरका विषयलाई कथानक बनाएर लेखिएका कथाहरु शाहका पछिल्लो प्रकाशित कृति कथा संग्रह ‘चियर्स’ मा संग्रहित गरिएका छन् ।

‘झट्का’ शीर्षकमा कथाकारले काठमाडौंमा गएको पछिल्लो महाभुकम्पको त्रासदी अवस्थालाई उठान गरेका छन् । गोरखाको बारपाक केन्द्रविन्दू रहेको भुकम्पले काठमाडौंमा गतिलो झट्का दिन्छ । घरहरु हल्एिपछि त्रासमा रहेका राजधानीवासी पक्की घर छोडेर टेन्टको शरणमा पुग्छन् । तर धाक रवाफ र गफमा कुनै कमजोरी देखाउँदैनन् । ‘नेपालीका धेरै विशेषतामध्ये पहिचानयोग्य अर्को विशेषता छ । ऊ जहाँ, जुनसुकै परिस्थिति र स्थानमा डिङ हाँक्न सक्छ ।’ संकटमा पनि गफै गरेर विताउँने परिपाटिलाई कथाकार उजागर गर्दछन् । भुकम्प पीडितको रुपमा सरकारसँगै आश गरिन्छ । ‘होइन, हाम्रो सरकारको चाला के हो भन्या । उता भारतीय प्रधानमन्त्री मोदीले भुईंचालो गएको दुई घण्टामै राहतको घोषणा गरिसक्यो ।’ कथाका पात्रहरुको सम्वाद यस्तै छ । ‘आठ रेक्टर स्केलको भुईंचालो जाँदा पनि जिन्दगी बग्ने क्रम नरोकिने रहेछ ।’

चियर्स भित्रको शीर्षक ‘चियर्स’ काठमाडौंमा अक्सर युवा वा प्रौढहरुले भोग्ने गरेको प्रेम समस्या वा उल्झनहरुलाई प्रस्तुत गर्न खोजिएको छ । कथाका नायक चालिस वर्षसम्म अविवाहित छन् । पहिलेको प्रेम सम्बन्ध असफल भएपछिको अन्तरमनको पीडामा अल्झिएका उनी न अर्को प्रेम सम्बन्ध बनाउन सक्छन् न पुरानो प्रेम विर्सन । प्रेममा असफल हुँदैमा वा उमेर ढल्कंदैमा कुनै पुरुष भित्रका ईच्छाहरु मर्दैनन् । बढ्दो उमेरसँगै चाहनाहरु दविएर रहेका हुन्छन् । यस्तै भावहरु चियर्समा भेटिन्छ । उमेरको उत्कर्षमा पनि यौन कुण्ठाको आवेगलाई लिएर हिंड्ने पुरुष आजपनि हाम्रो समाजमा छन् ।

यस्तै कथा तर फरक प्रसंगको कथन छ शिर्षक ‘एक विधुरको डायरी’ । जसमा विधुर भन्ने वित्तिकै श्रीमती गुमाएको पुरुष । परिवार सदस्यबाट पनि एक्लो महसुस गरेर आफैसँग आफ्नै विगतसँग समय विताउने बाध्यतायुक्त समयको परिवेश उतारिएको छ । उस्तै समस्या छ शिर्षक ‘ल्याक्टो माने ल्यापटप’ मा । विदेशीयका छोराछोरीका आमाबाबा शहरमा एक्लै बस्छन् । करिअर बनाउन विदेश पठाएका छोराछोरी पढ्छ, काम गर्छन् र उतै बस्ने निधो गर्छन् । आजकल एस्तै छ समाजमा छोराछोरी विदेश अध्ययन गर्न पठाउनेको कथाव्यथा । यसै परिदृश्य छ, ल्यक्टो माने ल्यापटकको कथामा ।

राजधानी भन्दा टाढा सुदुरतपर्फको गुलरिया बजारभन्दा तिन किलोमिटर दक्षिण तर्फको एउटा गरिव सुकुम्बासी परिवारको छाप्रोबाट शुरुहुन्छ शीर्षक ‘लोकतान्त्रिक फल’ को कथा । माथि उल्लेखित कथनहरु भन्दा अलि भिन्न विषय, अलिक राजनीति र परिवर्तन पछिको अवस्थालाई चित्रित गर्न खोजिएको छ । प्रजातन्त्र हुँदै लोकतन्त्र आइसकेको छ तर गरिव वस्तीमा यसको फल कहिले फल्दैन ।

जे आएपनि उस्तै, जीवनका दुखद् परिस्थिति नफेरिएकालाई जे परिवर्तन भएपनि के काम । गरिवि, थिचोमिचो र अभावमा बाँच्नु नै छ । परिवर्तन कहिलेकाहीं चुनाव आउँदा आएजस्तो हुन्छ । छाप्रोमा नेताहरु आइपुग्छन् । पछि कहाँ पुग्छन् थाहै नहुने । जीवन त्यही सुदुरको छाप्रोमै कहिले घाम कहिले पानी । गरिवको जीवनमा लोकतान्त्रिक परिवर्तनले केही फरक ल्याएन भन्ने सन्देश कथाकारले दिन खोजेका छन् ।

कथा संग्रहको अन्तिम शीर्षक ‘चुराफुट्नु हुँदैन’ मा पुन अविवाहित पुरुषको मनोभावनालाई उजागर गर्न खोजिएको छ । अविवाहित हृदय जो विवाह बन्धनबट टाढा रहने निधो गरेको छ तर मन स्त्री स्पर्षको इच्छाबाट टाढा राख्न सक्दैन । एउटी स्त्रीसँगको कुरा उसँग जोडिन्छ । बाहिरी आडम्बरका कारण उ भाग्न खोज्छ तर स्त्री उ प्रति आशावादी हुन्छे । पुरुषलाई ज्ञान हुन्छ माया साट्दै सांसारिक चक्र पूरा गर्ने आत्मबोध हुन जान्छ । ‘मूर्ख मानव चुराको काम बज्ने हो । चुरा नफुटाएर प्रेमपूर्वक माया साट्दै सांसारिक चक्र पूरा गर्नु पो बुद्धिमानी हो ।’ कथाका पात्र भित्रको यौन कुण्ठा वा दविएका इच्छाहरुलाई मनोवैज्ञानिक रुपमा प्रस्तुत गर्दै आदर्शपूर्वक समाधानको ज्ञान प्रटक गर्दै कथाकार विश्राम लिन्छन् ।

यस्तै—यस्तै सामाजमा भइरहेका मानवीय परिघटनाहरुको परिदृश्यका यथार्थ परक विषयवस्तुहरु ‘चियर्स’ भित्रका शिर्षकहरुमा कथाकारले आफ्नो अभिव्यक्ति अभिव्यक्त गरेका छन् । शसक्त कथाहरुमा समाजका विभिन्न किसिमका यथार्थ घटनाहरुको झल्को दिने कुल २० वटा कथाहरु कथासंग्रह ‘चियर्स’मा समेटिएको पाइन्छ ।

कथाको भाषा शैली अत्यन्त सरल र सहजै बुझ्न सकिन्छ । कथाहरुलाई मुल्यांकन गर्दा अधिकांश कथाहरुको शीर्षक सार्थक छन् । चरित्र चित्रण स्वभाविक र यथार्थ परक नै छन् । राजधानी उपत्यकाको शहरी जीवन भित्रको गुम्सीएको अव्यक्त भावनाहरुलाई कथाकारले कथाका माध्यमबाट प्रस्तुत गर्न सफल देखिन्छन् । परिवर्तन हुन नचाहने प्रवृत्तिगत पात्रहरु र यथास्थितिमा परनिर्भरतामै रमाउने जीवनहरुको कुण्ठालाई मनोवैज्ञानिक रुपमा प्रस्तुत गर्न कथाकार सफल देखिन्छन् ।

कथाकारको भावना पात्रका माध्यमबाट अभिवक्त हुनुपर्छ । तर कतिपय कथामा कथाकार स्वयं बोलेको अनुभुति हुन्छ जुन कथाको लागि अस्वभाविक लाग्छ । कुनैकुनै कथा केही जबरजस्ती तन्काउन खेजेको जस्तो पनि देखिन्छ । तर उठान र अन्त्यको सामजस्यतालाई कथाकारले मिलाएका छन् । कतिपय कथा लघु उपन्यास जस्ता पनि लाग्दछन् । समग्रमा चियर्स एउटा राम्रो र पठनीय कथासंग्रहको रुपमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्