डढुवा रोगले गोलभेंडा सखाप



विनोदसिंह विष्ट, बैतडी।

डढुवा रोगले गोलभेंडा सखाप पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन्। गाउँपालिकाको वडा नम्बर ६ गोकुलेश्वरका किसानले लगाएको गोलभेंडामा डढुवा रोग लागेको हो। डढुवा र फाट्ने रोगले लाखौंको गोलभेंडा नष्ट गरेको किसानको भनाइ रहेको छ।

तरकारी खेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेंडामा उक्त रोग लागेपछि चिन्तित बनेका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो। ५ रोपनी बढी जमीनमा गरेको गोलभेंडा खेतीमा डढुवा रोग लागेको किसान रामसिंह मालको भनाइ छ।

मिहिनेत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ। उहाँले भन्नुभयो–‘डढुवा रोगले लगाएको सबै गोलभेंडा डढुवा रोगले सखाप पारेको छ।’

रामसिंहको मात्रै नभएर गोकुलेश्वरका अन्य ५० भन्दा बढी किसानले लगाएको गोलभेंडामा डढुवा रोग लागेको हो। बारीमा लगाएको गोलभेंडा डढुवा रोगले सखाप पारेपछि उनीहरू हैरान भएका छन्।

उक्त रोगका कारण यो सिजनमा गोलभेंडा भित्र्याउनै नपाउँदा धेरै घाटा व्यहोर्नुपरेको अर्का किसान प्रेमसिंह मालको दुखेसो रहेको छ। उहाँले भन्नुभयो–‘एक सिजनमा करिब एक लाखको गोलभेंडा बिक्री गर्ने गरेको भएपनि यो वर्ष डढुवा रोगले बारीको सबै गोलभेंडा सखाप पार्यो।’

तरकारी खेतीबाटै जीविकोपार्जन भइरहेको बेला यो वर्ष गोलभेंडामा लागेको डढुवाले धेरै घाटा लाग्दा समस्या भएको किसानको भनाइ छ।
तरकारीका रोग लागेको बेला किसानलाई कृषि प्राविधिक र औषधि पाउन सकेत मुश्किल हुने गरेको छ।

किसान हिरा खत्रीले यो वर्ष डढुवा रोगका कारण गोलभेंडा नष्ट हुँदा लाखौं क्षति भएको बताएका छन्। बेला–बेला तरकारी खेतीमा लाग्ने रोग कीराले हैरान हुनुका साथै तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नु परेको छ।

ढुसीका कारण गोलभेंडामा डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। ढुसी र चिसोको समयमा तुसारोलगायतका अन्य कारणले पनि यो रोग लाग्ने गरेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो।

बैतडीका किसानले तरकारी खेती तथा बाली बीमा नगर्ने गरेकोले क्षतीपुर्ती समेत पाउँदैनन्। गोकुलेश्वर क्षेत्र तरकारी खेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्