समाचार प्रभाव : द्वन्द्वपीडित दर्नालको घर तीव्र गतिमा बन्दै



कृष्णउदास खनाल, वीरगन्ज। 

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ मा द्वन्द्वपीडित सुभद्रा दर्नालको घर निर्माण धमाधम भइरहेको छ। उहाँले झेल्न परेको समस्या नेपाल समाचारपत्रमा २०७६ साल असोज ५ गते प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले घर निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएअनुसार उहाँकै सयोगमा अहिले घर निर्माण कार्यले गति लिएको हो।

करिब एक महिनाबाट निर्माणको कार्य शुरु भएको र अबको एक महिनाभित्रमा घर निर्माण सम्पन्न गरी पीडित सुभद्रा दर्नाललाई घर हस्तान्तरण गर्ने तयार रहेको निर्माणको जिम्मा लिइरहेको संस्था क्यूपेक मकवानपुरका अध्यक्ष प्रताप राईले जानकारी दिनुभयो।

सुभद्राका पाँच भाइ छोरामध्ये चार जना मुलुकमा भएका विभिन्न आन्दोलनका क्रममा सहभागी हुँदा कोही बेपत्ता र कोहीले शहादत प्राप्त गर्नुभएको हो। जेठो र माइला छोरा २०४६ सालको आन्दोलनमा सहभागी हुँदा शहादत प्राप्त भएको र काँहिलो र कान्छो तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा सहभागी हुँदा निधन भएको थियो।

उनीहरूको तत्कालीन सेना र प्रहरीसंगको भीडन्तमा परी ज्यान गएको बताइको छ। साँहिलो छोराको भने दुई वर्षअगाडि रोग लागेर मृत्यु भएपछि सुभद्रा बेसहारा बन्नुभएको हो।

यस विषयको खबर नेपाल समाचारपत्रमा प्रकाशित भएपछि मेयर महतले दशैंमा केही आर्थिक र खाद्यान्न सहयोग पनि गर्नुभएको थियो। आफूले जतिसक्दो चाँडो घर निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको र केही दिनमा नै सभद्रा दर्नाल नयाँ घरमा बस्न पाउनुहुने उहाँले बताउनुभयो। सुभद्राका पति नेत्रबहादुर दर्नालको पनि दुई वर्षअगाडि निधन भएको थियो।

आफ्नो जीवनमा यसअघि कहिल्यै खुसी नआएको भए पनि बिगत केही महिनादेखि भने खोसिएको थोरै नै भए पनि खुसी फर्किएको महसुस भएको बताउनुभयो। दयनीय रहेको सुभद्राको जीवनमा अब खुसीयाली छाएको छिमेकी बिन्द्रा मोक्तानले जानकारी दिनुभयो। सुभद्राको साथमा अहिले उहाँकी नातिनी अस्मिसा दर्नाल पनि रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्