ठगी मुद्दामा चार पक्राउ



बारा, (नेस)। 

इलाका प्रहरी कार्यालय सिमराले हातहतियार तथा खरखजानासहित पक्राउ परेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी हातहतियार, लागू औषध गाँजा र ठगी मुद्दामा पक्राउ परेका जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ का लोचन चमारका छोरा वर्ष ३८ का दिपलाल रामलाई हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

रामको घरबाट प्रहरीले शनिबार एक थान नलकटुवा पेस्तोलसहित त्यसमा लाग्ने ६ थान गोलीसमेत बरामत गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।

यसैगरी प्रहरीले निजगढ नगरपालिका १३ बस्ने मंगलसिंह तामाङ र रौतहट चन्द्रपुर नगरपालिका ८ बस्ने गनहर बैठालाई लागूऔषध गाँजा, एक थान मोटरसाइकल र २५ हजार नगदसहित जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ चकरीबाट पक्राउ गरेको हो।

त्यसैगरी प्रहरीले चाँदीको भाडोमा राखेर सिसाजस्तो टल्किने समानलाई नागमणी भन्दै ठगी गर्दै आएका कलैया उपमहानगरपालिका २६ बस्ने सरिक मियाँ धोबीलाई ठगी मुद्दामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरू सबैलाई बारा जिल्ला अदालत कलैयामा पेस गरी कारबाहीअगाडि बढाएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक पुरीले बताउनभुयो।

प्रतिक्रिया दिनुहोस्