फासीवाद उदय भएको आभास



कृष्ण प्रजापति
फरक संस्कृतिलाई दबाउने संस्कृतिलाई फासीवाद भन्ने गरिन्छ। आफू पनि बाँचौं र अरूलाई पनि बचाऔं भन्ने धारणा विपरीत आफूहरू मात्रै खाने, आफूहरू मात्रै मोजमस्ती गर्ने खालको राणाकालीन सोच नै फासीवाद हो। त्यो बेला ‘मै खाऊँ, मै लाऊँ सुख सयल मै गरुँ’ भन्ने मान्यताले काम गर्ने गरिन्थ्यो। त्यो फासीवाद हो।
हिजो जसरी आफूहरू मात्रै खाने, आफ्ना जहान परिवारलाई मात्रै ख्वाउने अनि अरूहरूलाई पढ्न पनि नदिने, शासन सत्तामा पनि केही गरी नल्याउने भन्ने खालका विभिन्न रोलक्रमहरू अपनाएको थियो। त्यही फासीवाद हो।
आज आएर देशमा प्रजातन्त्र र लोकतन्त्रको नाममा पनि यहाँका विविध भाषा, जाति एवं संस्कृतिको उत्थानको लागि भइरहेका प्रयासहरूलाई सरकारले निमिट्यान्न पार्ने खालका विभिन्न गतिविधि गरिरहेको छ। यो तानाशाही प्रवृत्ति वा फासीवादी प्रवृत्ति नै हो। यसले वर्तमान सरकार फासीवादतिर उन्मुख रहेको आभास पाइन्छ।

आज आएर देशमा प्रजातन्त्र र लोकतन्त्रको नाममा पनि यहाँका विविध भाषा, जाति एवं संस्कृतिको उत्थानको लागि भइरहेका प्रयासहरूलाई सरकारले निमिट्यान्न पार्ने खालका विभिन्न गतिविधि गरिरहेको छ। यो तानाशाही प्रवृत्ति वा फासीवादी प्रवृत्ति नै हो। यसले वर्तमान सरकार फासीवादतिर उन्मुख रहेको आभास पाइन्छ।

बाहिरी शक्ति भित्र्याएर भए पनि यहाँको शक्तिलाई दबाउने कार्य फासीवाद हो। एक समयमा कप्तान किनलोकको नेतृत्वमा काठमाडौं उपत्यका जित्नका लागि पृथ्वीनारायण शाहले बृटिस सेना भिœयाएर पनि फासीवादी प्रवृत्ति प्रदर्शन गरेका थिए। बृटिस सरकारको इशाराअनुरूप यहाँ कुनै पनि प्रकारको प्रजातान्त्रिक गतिविधि गर्न नदिईकन सर्वसाधारण जनतालाई भेडा–च्यांग्रासरह राख्ने प्रवृत्ति राणाकालको फासीवादी प्रवृत्ति थियो।
त्यसैले त्यस्तो प्रवृत्तिको विरोध गरी १९९७ साल माघ १०, माघ १३ र माघ १६ गते गरी तीन दिनमा चार सपुतहरूले यो देशको लागि आफ्नो ज्यान आहुति दिएका थिए। हामी त्यही सम्झनामा आज शहीद दिवस मनाइरहेका छौं। त्यसबाट यहाँ तानाशाही जहानिया राणा शासन व्यवस्थाले विश्रम लियो।
आज सो तानाशाही प्रवृत्ति पनि नयाँ ढंगमा लागू गर्न साम्राज्यवादी उपनिवेशवादी शक्ति लागिपरेका छन्। मिनिलियम च्यालेन्ज कर्पोरेसन नामले विदेशी रकम भिœयाएर यहाँको सडक, कुलो बनाइदिने नाममा विदेशीहरूलाई भित्र हुल्ने प्रयास भइरहेको छ। यो आत्मघाती पनि हुन सक्छ।

विदेशीले त्यत्तिकै अन्य देशमा सहयोग गर्दैनन्। एउटा न एउटा स्वार्थ नभएसम्म यहाँ अमेरिकी सहयोग सजिलै भित्र्याउँदैनन्। उनीहरूले राख्ने विभिन्न सर्तलाई मात्रै राम्ररी केलाएर हेर्ने हो भने बाहिरी राष्ट्रको स्वार्थ त्यसै स्पष्ट भएर आउने गर्दछ। त्यसैले खानुपर्यो भनेर चौबाटोमा बसेर खानुहुन्न भनिन्छ। प्यास लाग्यो भनेर विष सेवन गर्नुहुन्न भनिन्छ।

हामीले हामी आफूहरू गरिब भयौं भन्दैमा वा बाहिरका मानिस आएर हाम्रो जस्तो गरिब देशमा सहयोगको आश्वासन दिएर भन्दैमा सजिलै त्यो सहयोगलाई स्वीकार गर्नुहुँदैन। त्यसभित्र अदृश्यरूपमा घुसिएको अन्तर्राष्ट्रिय स्वार्थ के पो हो भनी खोतल्नु जरुरी छ। खास गरी अमेरिकाजस्तो विश्व साम्राज्यवादी देशले समाजवादी देशसँग टक्कर लिने राम्रो खेल मैदानको रूपमा नेपाललाई छान्ने गरेको पाइन्छ।

त्यसैले पनि एसियामा आफ्नो कब्जा जमाउने हो भने दक्षिण एसियाका विभिन्न कमी–कमजोरी रहेको देशमा आफ्नो सहयोगको नक्कली हात अगाडि बढाउन बाध्यता पनि अमेरिकालाई छ। चीनविरुद्ध गतिविधि गर्नका लागि सजिलो उपायको रूपमा यो स्थान युद्ध मैदानको रूपमा प्रयोग हुन सक्छ। यो कुरामा भने हामी नेपाली समयमै सचेत रहनु जरुरी छ।

सन् १९९१ पछि एकपल्टको लागि विश्व एकधु्रवको रूपमा देखा परेको थियो। त्यसको अर्थ अब अमेरिकी साम्राज्यवादको अगाडि टक्कर लिन सक्ने देश विश्वमा कुनै पनि रहेन। सोभियत रुसमा संशोधनवादी नेता खुश्चेभका कारण समाजवादी देश १५ गणराज्यमा पतन भएसँगै अब अमेरिकाले आफ्नो छत्रछाया संसारमा फैलिने भयो भनी सोचेको थियो। तर अमेरिका, जापान र बेलायतजस्ता पूँजीवादी राष्ट्रहरूले सयौं वर्ष लगाएर गरेको उन्नति र प्रगति चीनजस्तो समाजवादी राष्ट्रले तीस–चालीस वर्षभित्रै पूरा गरी देखायो।

चीनमा विश्वको आधी जनसंख्या छ। तैपनि चीनमा विकास निर्माणको लागि जनता र सेना एकढिक्का भएर रातदिन काम गर्ने प्रवृत्तिको विकास भएको छ। यो अमेरिकी साम्राज्यवादका लागि भने सह्य विषय होइन। त्यसैले पनि अमेरिकाले आफ्नो हिन्द प्रशान्त रणनीति बनाएर विश्वलाई आफ्नो साम्राज्यवादी कब्जामा लिने सोच अगाडि सारेको हो। हिन्द प्रशान्त रणनीनि एउटा सो समयमा शुरू गरेको अमेरिकी सैनिक गठबन्धन थियो।

अहिले आएर भने मिनिलियम च्यालेन्ज कर्पोरेसन नामले लागू गर्न खोजिरहेको शहस्राब्दी लक्ष्य परियोजना पनि अन्य देशमा सहयोगको रकम देखाएर आफ्नो हैसियत कायम गर्ने अमेरिकी रणनीति नै हो। यो परियोजना नेपालमा लागू गर्ने भयो भने नेपालले अमेरिकाबाट ५० अर्ब रुपियाँ पाउँछ।

चीनलाई जसरी पनि युद्धमा फसाउने नीतिअन्तर्गत अमेरिकाले विभिन्न रूपमा जालसाँजी अपनाइरहेको छ।

एक न एक स्थानको युद्धमा फसाएर सो देशको उन्नति र प्रगतिलाई बाधा पुर्याउने अमेरिकी सोच हो। त्यसैले काश्मिरमा हमला गरी भारतले सो स्थानसहित नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र पनि उसले आफ्नो नयाँ खाले राजनीतिक नक्सामा समावेश गरी सार्वजनिक गरेको थियो। यसरी कमजोर र सानातिना देशमा सहयोगको नाममा हैकम कायम गर्ने खाले प्रवृत्ति भारतसँग मात्रै होइन कि अमेरिकासँग पनि छ।

त्यसैले पनि अमेरिकाले इरान, इराक, अफगानिस्तान, लावस, सिरियाजस्ता प्रजातान्त्रिक मुलुकमा आफ्ना सेना पठाएर आक्रमण गरेको हो। यो समय नेपालमा सीधा आक्रमण नगरे पनि यहाँ अमेरिकी सेनालाई परेड खेल्न लगाउने र नेपाली सेनाको कमी–कमजोरीलाई पत्ता लगाएर हाम्रा आन्तरिक कुराहरू राम्ररी बुझ्ने मौका भने अमेरिकी साम्राज्यवादले अवश्य लिनेछन्।

त्यसैले पनि शहस्राब्दी चुनौती परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन नामले अमेरिकाले दिने रकमलाई लिएर सही गर्ने कुरालाई हाम्रो सदनले अनुमोदन गर्ने कुरा मिल्दै मिल्दैन। देश बचाउनका लागि यस्तो गम्भीर मामलामा पराराष्ट्रमन्त्रीले राजीनामा दिएर भए पनि प्रस्तावलाई वर्तमान संसद्बाट फेल गराउनुपर्दछ। देशको अगाडि पद र पैसा ठूलो कुरो होइन। देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र मौलिक चीजको रक्षा गर्नु महत्वपूर्ण कुरा हो।

त्यसैले यहाँको जाति, जनजाति, भाषा एवं संस्कृतिको रक्षा गर्ने कार्य हामी आफै मिलेर गर्नुपर्दछ। अरूले केही रकम दिएको भरमा यहाँ यो गरौंला, त्यो गरौंला भनी बस्ने हो भने भोलि हामीले पश्चात्ताप गरेर मात्रै पुग्दैन, यो देश एक दिन अरूको हातमा परी पुतलीझैँ खेलाएको पनि हामीले टुलुटुलु हेरिरहनुपर्ने हुन सक्छ। त्यसैले पनि वर्तमान सत्तासीन पार्टी नेकपाभित्र मिलिनियम च्यालेन्ज कर्पोरेसनलाई लिएर उचित हो वा होइन भनी बहस जारी रहनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्