अबिर चढाउन नहुने छङ्गमदेवी दर्शन गरे पुण्य मिल्ने धार्मिक मान्यता



सरस्वती न्यौपाने

रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो। प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक महत्वको हिसाबले पनि रसुवा उच्चस्थानमा छ। जिल्लाभित्र अनेकांै धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जुन स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा छैन। यस्तै धार्मिक महत्व बोकेको ठाउँ हो छङ्गमदेवी अर्थात् गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डाको छङ्गम डाँडास्थित पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छङ्गमदेवी मन्दिर।

यस मन्दिरमा अबिर चढाउन र धूपबत्ती बाल्न नहुने मात्र होइन, रातो लुगा लगाएर समेत जान हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ।गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा निवासी लवाङ ग्याल्बो घलेका अनुसार परापूर्वकालदेखि आफै उत्पीत्त भएको ढुङ्गाको ओडारजस्तो कोप्चेरोमा रहेको छङ्गमदेवी अरू देवीदेवताको भन्दा बेग्लै महिमा छ।

पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छङ्गमदेवी मन्दिरमा अबिर चढाउन र धूपबत्ती बाल्न नहुने मात्र होइन रातो लुगा लगाएर समेत जान हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ।

देवीको दर्शन गर्न जाँदा महिला मात्र जाने नहुने र अबिरले पूजा गर्न नहुने धूपबत्तीसमेत गर्न नहुने जनविश्वास रहँदै आएको छ। सो मन्दिरमा सोही जंगलमा पाइने धूपी मात्र बाल्न र चढाउनुपर्ने परम्परा रहेको छ। मन्दिर वरपरका रूखसमेत काट्न नहुने धार्मिक मान्यता रहेको छ।

धार्मिक मान्यताअनुरूप देवीको थाननजिक लापरबाही गरेर अरू देवीदेवतालाई जस्तो हेलचेक्र्याइँ गरेमा त्यस भेगमा बादल लाग्ने, अँध्यारो हुने गरेको स्थानीय बूढापाकाहरू बताउँछन्। देवीलाई सिक्का पैसा र गाईको दूध मात्र चढाउनुपर्ने धार्मिक मान्यता रहेको छ। पहिले पहिले यस ठाउँमा स्थानीयहरू गुफामा बस्ने गर्दथे। जंगलको बीचमा भएकाले बाघ कराउने गरेका कारण गुफा बस्न छोडेको स्थानीय बताउँछन्।

छङ्गम भनेको लामा र झाँक्रीले तपस्या गरेर बस्ने ठाउँ हो।त्यस ठाउँमा नै देवीको उत्पत्ति भएको हुनाले त्यस ठाउँको नाम छङ्गम भनिएको धर्मग्रन्थमा उल्लेख छ। डाँडाको बीचमा भएकाले छङ्गम डाँडा भनिएको स्थानीय समाजसेवी लवाङ गयाल्बो घलेले बताउनुभयो।

यस ठाउँमा साँझको सूर्य अस्ताएपछि जान नहुने किंवदन्ती रहेकाले घाम डुबेपछि कोही पनि जाने गरेका छैनन्। देवीलाई वर्षको दुईचोटि गाईको दूध चढाउने चलन रहेको छ। सोमबार र बिहीबार पारेर जानुपर्ने त्यहाँ जानुपर्ने परम्परा रहेको छ। त्यस क्षेत्रमा रहेको छङ्गमदेवी एउटा पवित्र र अरू जस्तो बेग्लै महिमा बोकेको देवीका रूपमा मानिन्छ।

मन्दिर कसरी पुग्ने ?

पासाङ ल्हामु राजर्मागको बोकेझुण्डाबाट ३० मिटर उकालो गएपछि ढुङ्गाको गुफा आकारको भाग रहेको छ वरपर हरियाली रूख–बिरुवा रहेका छन्। त्यसमा पहिले लामा झाँक्रीहरू गुफा बस्ने गरेको ठाउँ हो।

पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन सक्छ। गोसाइँकुण्डजत्तिकै धार्मिक पर्यटकीयस्थलका रूपमा प्रचार–प्रसार हुन सक्छ। यस्ता धार्मिक स्थलहरूको खोजेर पनि प्रचारमा ल्याउन जरुरी छ।

संरक्षणमा ढिलाइ

यस छङ्गमदेवीको संरक्षण गरी यसको महिमाका बारे विश्वव्यापीकरण गर्नुपर्ने देखिन्छ। यसबारे चासो राख्ने स्थानीय निकाय अहिले बेखबरको अवस्थमा रहेको छ।यहाँका स्थानीयहरू अझै पनि आफ्नो धर्म, संस्कृतिलाई जोगाउन लागिपरेका छन्। जसले यस्तो धार्मिक महत्त्वका साथै आस्थाको धरोहरलाई आजसम्म पनि जीवन्त राखेका छन्।

यस्तो धार्मिक आस्था बोकेको ठाउँ मानिस आफैले बनाएका भने होइनन्। हजार वर्षदेखि नै यो प्रकृतिको देन नै हुनुपर्छ।निकुञ्जक्षेत्रभित्र पर्ने पुराना गुम्बा, मानी, क्षोर्तेन, गुफा दरबार कुण्ड आदि सांस्कृतिक पुरातात्विक तथा ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

रसुवामा ८५ प्रतिशत बसोबास गर्ने स्थानीय तामाङ जातिले परम्परागतरूपमा प्रकृति, वनजंगल, हिमाल डाँडा (थुम्को) खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसार क्षेत्र आदिलाई हेर्ने दृष्टिकोण नै फरक छ र विश्वास गर्दछन्।

धार्मिक दृष्टिकोणले रसुवालाई भगवानले लुकाएको स्वर्गको एउटा पवित्र भूमिको रूपमा लिने गरिन्छ। यो क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपमा महत्वपूर्ण छ। प्राकृतिक वन्यजन्तुको संरक्षण र प्रचार प्रसार एवं पर्यटकहरूका लागि यो क्षेत्रमा आकर्षित गर्न सके धार्मिक पर्यटकको संख्या बढ्ने स्थानीय दाबा तामाङले बताउनुभयो।

जिल्लाका धर्म, कला, संस्कृति र सीपलाई जोगाएर त्यसबाट मनोरञ्जन दिन सके धार्मिक पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्न सकिने तामाङले बताउनुभयो।यो क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण गर्नु जरुरी देखिएको स्थानीयहरू बताउँछन्। साँच्चै भन्नुपर्दा रसुवा जिल्लाभित्र छङ्गमदेवीको महिमाजस्तै धार्मिक महत्वका गुम्बा, गुफा, कुण्ड, देवीदेवताका थानहरू प्रशस्त छन्। त्यस्ता सम्पदाहरूमा धेरैको ध्यान जान सकेको छैन।

भूगोल सानो भए तापनि धर्म र संस्कृतिमा भने रसुवा धनी जिल्लाको अग्रभागमा आउँछ। यहाँ हजारौं पर्यटक बाहै्र महिना घुम्न आउने गरेका छन्। जीवजन्तुप्रतिको मान्यता एवं विश्वासले यहाँका मानिसहरू अग्ला डाँडालगायतका अधिकांश स्थानमा फोहोरसमेत गर्दैनन्।

स्थानीय सरकारले उचित प्रचार प्रसार गरी यस्ता धार्मिक क्षेत्रको संरक्षणमा जोड दिने हो भने पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तामाङ बताउनुहुन्छ। देश विदेशबाट हजारौं पर्यटकहरू यस्ता धार्मिक क्षेत्रहरू घुम्न आउने भएकाले यसको संरक्षणमा लाग्नुपर्ने स्थानीय सुकुलाल वाइबाले बताउनुभयो।

छङ्गमदेवी मन्दिर लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको छ। नेपालको सिमसार क्षेत्रमा सूचीकृत १० सिमसार क्षेत्रअन्तर्गत पर्ने गोसाइँकुण्ड धार्मिक र पर्यटकीय हिसाबले महत्वपुर्ण ताल हो। त्यस्तै पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वरकुण्ड, दूधकुण्डजस्ता कुण्ड/तालहरू जिल्लाको पर्यटकीय र धार्मिक आस्थाका केन्द्र हुन्।

धर्म, संस्कारले भरिपूर्ण रसुवा आफैमा एक अनुपम जिल्लाका रूपमा रहेको छ। प्राकृतिक सुन्दरता र धार्मिक आस्थाले भरिपूर्ण भएपछि संसारका मानिसहरूको घुइँचो यस क्षेत्रमा लाग्ने गरेको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस्ता धार्मिक स्थलले विविध महत्व बोकेका छन्। पछिल्लो समयमा बोझोद्वारा पुरिन लागेको पार्वतीकुण्ड संरक्षणमा पनि नवीनतम आवाजहरू पनि आउन थालेका छन्।

तर त्यसको संरक्षणमा धार्मिक चुनौती पनि छ। धार्मिक विश्वासअनुसार कुण्डमा खन्न नहुने र जैविक विविधताको संरक्षणमा विश्वास राख्दा कुण्डको वरिपरि वनस्पतिको संरक्षण अपरिहार्य हुँदै गएको छ।

कुण्डको संरक्षणबिना वनस्पतिको पनि संरक्षण सुनिश्चित हुँदैन। यस्तै नेपाली इतिहासमा एक उदाहरणीय पात्र अमरसिंह थापाको हेल्वसानर अमरसिंह गुफा गोसाइँकुण्डमा रहनुले पनि जिल्ला तामाङ संस्कृतिअनुसार विभिन्न नाचको सांस्कृतिक महत्व राख्दछ।

यिनै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा यस क्षेत्रको महत्व बढेको छ। पौराणिक कथनअनुसार एक सय आठ कुण्डमध्येका विभिन्न कुण्डहरू यसै क्षेत्रमा रहेका छन्। यस्तै धार्मिक, जैविक विविधता, ऐतिहासिक तथा पर्यटकीय र सांस्कृतिक महत्वसँगै छङ्गमदेवी मन्दिरको पनि त्यतिकै महत्व रहेको छ।

जीविकोपार्जनका लागि प्रत्यक्ष प्रभाव पुर्याउने गोसाइँकुण्ड क्षेत्रसँगै दुर्लभ वन्यजन्तु, चराचुरुङगीको संरक्षण गरी त्यस क्षेत्रलाई पनि विकासको मार्गमा जोड्नुपर्ने आवाज उठ्न थालेको छ।

जंगलभित्र ठूलाठूला चट्टान रहेको यस पवित्र भूमिमा भगवान् शिव पानीको खोजीमा हिँड्दा ओझेलमा रहेको दुप्चेश्वर भन्ने ठाउँमा त्रिशूलले पानी निकालेको हो भन्ने किंवदन्ती रहेको छ। पछि सोले र बोकेझुण्डाका स्थानीयहरू निगालो काट्न जाँदा पत्ता लागेको भन्ने भनाइ रहेको छ।

त्यसै वरपर महादेव सँगसँगै छङ्गमदेवी पनि उत्पत्ति भएको मानिन्छ। छङ्गमदेवी मन्दिर वरिपरि अहिलेसम्म मानव संरचना बनेको देखिँदैन।
यस्तै तामाङ भाषामा छङ्गम भनेको गुफा बस्ने ठाउँ र त्यस गुफाभित्र उत्पत्ति भएकी देवी हुनाले छङ्गमदेवी भनिएको पाइन्छ। स्थानीय लवाङ फिन्जो घलेले बोकेझुण्डा पासाङ ल्हामु राजर्मागनजिकै रहे पनि धार्मिक हिसाबले स्थानीयलाई बाहेक कमैलाई थाहा छ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय सरकारले यस्ता ठाउँहरू पनि छ है भनेर आन्तरिक तथा बाह्य पर्यटकलाई लैजान कुनै पहल गरेको देखिँदैन। आफ्नो कला, संस्कृतिलाई जोगाइराखेको यस भेगमा तामाङ समुदायको बाहुल्यता रहेको छ। २१औं शताब्दीमा पनि आफ्नो धर्मसंस्कार र संस्कृतिलाई जीवन्त राखी यस्ता धार्मिक क्षेत्रलाई स्थानीयले जोगाएर राखेका छन्।

स्थानीय तामाङ जातिले परम्परागतरूपमा प्रकृति, वनजंगल, हिमाल, डाँडो, खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसारक्षेत्र आदिलाई भगवान् मानेर पूजा गर्छन्। रसुवामा तामाङ जातिको गाउँपिच्छे भेषभूषा, रहनसहन, कलासंस्कृति आदिमा अलग पहिचान भएकाले यी सबैको संरक्षण गर्न सके पर्यटकका लागि आर्कषणको केन्द्रविन्दु बन्न सक्छ।

यस लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हेर्न लायकका मुख्य आर्कषणहरू पनि रहेका छन् ती हुन्– गोसाइँकुण्ड, रसुवागढी, तिब्बत सीमाक्षेत्र भ्रमण, लाङटाङ, लिरुङ हिमाल (७ हजार दुइ सय ४५ मिटरको उचाइमा) रहेका छन् भने निकुञ्जमा विविधतामा अनेकता रहेको छ।

यस ठाउँमा गुरु रिम्पोक्षेको पैतालाका डोब, गुरु रिम्पोक्षेले राक्षसनी टिमोलाई मारेको ठाउँ, याल्मो यति बस्ने ओढार वेनक्याप बोम्बो थान मुण्डु गुम्बा ज्योमोल्हाङ क्षोलिङ गुम्बालगायतका थुप्रै धार्मिक क्षेत्रको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सम्पदको संरक्षण र प्रचारप्रसार एवं सेवा सुविधाको व्यवस्था गरेर प्रकृतिप्रेमी पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय आमा समूहकी अध्यक्ष पिंकी लामा बताउनुहुन्छ।

धार्मिक तथा सांस्कृतिक परम्परा र रीतिरिवाजमा प्राकृतिक स्रोत साधनको महत्वपूर्ण स्थान छ। प्राकृतिक स्रोत साधनको विनाशले धार्मिक तथा सांस्कृतिक परम्परा तथा रीतिरिवाजमा नकारात्मक असर पुर्याएको लामा बताउनुहुन्छ। लाङटाङ क्षेत्र धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्ने उहाँ बताउनुहुन्छ।

पर्यटन विकास र आधुनिकीकरणको प्रभावलले परापूर्वकालदेखि नै जगेर्ना गर्देै आएको प्र्रकृृति सम्बद्ध खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवान्ले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउनुहुन्छ। छङ्गमदेवीजस्तै उच्च महिमा यहाँका धेरै गाउँ ठाउँका नामसँग उहिलेका लोककथामा जोडिएका छन्।

गोसाइँकुण्ड, भैरवकुण्ड र भैरव झर्ना सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जडिबुटी पनि पाइन्छन् भने भगवान्लाई खुसी पार्न यहाँका स्थानीयले चोखोनितो र आफ्नो धर्म र संस्कृति छोडेका छैनन्। गुरु रिम्पोक्षेको तान्त्रिक शक्तिलाई बौद्ध र बोम्बो धर्म दुवैमा समानरूपमा प्रयोग भएको पाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्