नेताको तलुवा चाट्ने विद्यार्थी कहिल्यै नेता बन्न सक्दैन



मदन भण्डारी,स्ववियु सदस्य

साविक अनेरास्ववियु, सहसचिव, आरआर क्याम्पस

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो। आउँदै गरेको स्ववियु निर्वाचनको सभापतिमा बलियो दावेदार मानिने उहाँ हालसम्मको ऐतिहासिक संरचनालाई बचाउने मात्र होइन थप दीर्घकालसम्म भयंकर शक्तिशाली बनाउने क्षमता भएको एक व्यक्तित्वको रूपमा चिनिनुभएको छ। यसै सन्दर्भमा नेपाल समाचारपत्रका लागि मनोज रेग्मीले गरेको कुराकानी :

तपाई एकताका गाउँ बचाउने अभियानमा अथवा आन्दोलनमा लाग्नुभएको थियो। वास्तवमा त्यो घटना के थियो बताइदिनुहोस् न ?

आन्दोलन रहरले उठ्दैनन्। आन्दोलन पीडाले उठ्छन्। आन्दोलनका निम्ति विषयवस्तु चाहिन्छ। मैले आन्दोलन गरेको विषयवस्तु सानो थिएन। प्युठानको लुप्लुङ गाउँ धनञ्जय गोत्रीय भण्डारी समाजको उद्गमस्थल जहाँ चार सय बस्तीको गाउँ छ। भौगोलिक विविधता, संस्कृतिले भरिपूर्ण र सम्पूर्ण जातजातिको फूलबारीजत्तिकै हाम्रो गाउँमा नेपाल सरकार भूगर्भ तथा खानी विभागको नीति र ऐन, कानुन तथा गाउँलेसँग गरिएका सम्झौता विपरीत एक कम्पन्नीले ढुङ्गा उत्खनन गरेको थियो।

हामीले त्यहाँका सम्पूर्ण निकायका व्यक्ति प्रशासनिक निकायका पदाधिकारी, प्रहरी, पत्रकार सम्पूर्णलाई लिएर गएका थियौं। तर, मिलोमतोको खेल त्यहाँ व्यापक चल्यो र यो रोकिएन। हामी अझै पनि आन्दोलनमै छौं।

त्यसरी गाउँलाई नै धरापमा राखेर उत्खनन गर्दा मानिसको जीवन नै धरापमा पर्ने भएकाले आन्दोलन उठेको थियो। अर्को कुरा जनताको गाँस, बास र कपासमा उठिबास लागिसकेपछि समृद्ध नेपाल र सुखी नेपाली भन्ने अवधारणालाई आत्मसात् गर्दै जनताको खुसी खोस्ने उक्त कम्पनीविरुद्ध हामी उठेका थियौं। विगत सात महिनादेखि उक्त कम्पनीको काम रोकिएको छ।

शैक्षिक क्षेत्रको सुधारमा लाग्ने एउटा विद्यार्थी नेता गाउँ बचाउने अभियानमा लाग्दा त्यहाँको राजनीतिक संयन्त्र, प्रशासन तथा नियमनकारी निकाय के हेरेर बसेको थियो ?

मैले आवाज उठाएको ठाउँ मेरो जन्मभूमि हो। मुख्य रूपमा अनेरास्ववियुको दायित्व शैक्षिक मुद्दा मात्रै होइन। हामी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन भए तापनि सरकारलाई समेत औंला उठाउन सक्ने समेत अनेरास्ववियु हो। वास्तवमा पार्टीको बागडोरलाई विद्यार्थी सङ्गठनले नै सम्हालेर अगाडि बढाएको थियो। त्यसैले हामी आवाज उठाउन पछाडि हट्दैनौं।

अब कुरा आयो – गाउँ बचाउने अभियानको। जब मेरो जन्मभूमिकै रक्षा मैले गर्न सक्दिनँ, तब म विश्वविद्यालय वा क्याम्पसमा आएर देशभरिका विद्यार्थीका समस्यालाई कसरी सुझाउन सक्छु। त्यसैले म त्यस भूमिको रक्षामा लागेको हुँ। अब कुरा आयो त्यहाँको प्रसासनले के हेरेको थियो भन्ने कुरा।

एउटा माफियाहरूको कम्पनीले गैरकानुनी तवरले राज्य सरकारलाई कर पनि नतिरिकनै तमाम भ्रष्टाचार भएको एक विद्यार्थीले देख्यो र आवाज उठायो। हामीले त्यहाँका सम्पूर्ण निकायका व्यक्ति प्रशासनिक निकायका पदाधिकारी, प्रहरी, पत्रकार सम्पूर्णलाई लिएर गएका थियौं। तर, मिलोमतोको खेल त्यहाँ व्यापक चल्यो र यो रोकिएन। हामी अझै पनि आन्दोलनमै छौं।

यहाँलाई एउटा विद्यार्थी नेताका गुणहरू कस्ता हुनुपर्छ जस्तो लाग्छ ?

सबैभन्दा पहिलो कुरा त विद्यर्थी नेता पढ्नका निम्ति क्याम्पस छिर्नुपर्छ। विद्यार्थी नेता अध्ययनशील, चरित्रवान् र अनुशासित हुनुपर्छ। एउटा विद्यार्थी नेता अरूको आदर गर्न जान्ने हुनुपर्छ। देशका निम्ति वा शैक्षिक संस्थाका निम्ति वा जनताका निम्ति वा विद्यार्थीका निम्ति कहाँ कुन सम्स्या हो, त्यस समस्यालाई अलिक टाढासम्म देख्न सक्ने मान्छे चाहिँ विद्यार्थी नेता हुनुपर्छ।

यस वैज्ञानिक, चामत्कारिक र अत्याधुनिक युगमा नेपाललाई कस्तो बनाउने, विशेष गरी नेपालको शैक्षिक निति कस्तो बनाउने, शैक्षिक कोर्स कसरी डिजाइन गर्ने र विद्यार्थीले कस्तो शिक्षा आर्जन गर्दा देशलाई पनि फाइदा हुन्छ र व्यक्तिलाई पनि कस्तो फाइदा हुन्छ भन्ने कुरा विद्यार्थी नेताले ख्याल गर्नुपर्छ। यससँगै विद्यार्थी नेता विद्यालय र समाजप्रति उत्तरदायी हुन अत्यन्तै जरुरी हुन्छ।

राज्यनीतिका कारण विद्यार्थी राजनीतिमा प्रवेश गर्न डराएका हुन् ?

वास्तममा राजनीति गलत बिलकुलै होइन। राजनीति कि त गरिनुपर्दछ, कि त बुझ्नुपर्दछ। एउटा सचेत नागरिकले राज्यसत्ता सञ्चालन गर्ने निति हो राजनीति। राज्यका सम्पूर्ण अङ्गहरू सञ्चालन, प्रशासन र व्यवस्थापनको पाटोलाई हेर्ने एउटा अङ्ग हो राजनीति। देशभित्रका प्रत्येक घटनाक्रमलाई सँगसँगै लिएर जाने पाटो राजनीति हो।

यदि राजनीति जस्तो विषयप्रति चासो छैन भने उक्त व्यक्तिले जीवनमा केही गर्नै सक्दैन। नेपालको व्यवस्थापिका कार्यपालिका न्यायपालिका पत्रकारिता वा प्रशासनिक संयन्त्रहरू राजनीतिमै गएर ठोकिन्छन्। यस्तै अन्तर्राष्ट्रिय स्तरको सम्बन्धलाई पनि राजनीतिले सबैभन्दा बढी बढावा दिएको हुन्छ। यसर्थ राजनीति घिनलाग्दो खेल होइन।

राजनीतिको गलत प्रचार मात्रै गरिएको होइन। तर केही गलत मान्छेहरूको व्यक्तिगत चित्रण पनि गरिएको हो। राजनीति निस्वार्थ समाजसेवा हो। अहिले यसलाई केही गलत व्यक्तिले यसलाई फोहोरी खेल बनाउने प्रयत्न गरिरहेका छन्। कमाउने धन्दाका निम्ति छिरेका केही व्यक्तिहरूले राजनीतिलाई व्यापार बनाउन खोजिरहेका छन्। तर राजनीति आफ्नो भलोको लागि नभई देश र जनताको हितका लागि गरिन्छ। त्यसैले राजनीति तपाइँँ, हामी सबै मिलेर सुधार्नुपर्छ। नेपाली जनता मिलेर सुधार्नुपर्छ।

विद्यार्थी नेताहरू खालि मन्त्री अथवा नेताका प्यारो बनेर हिँड्ने प्रवृत्ति छ नि, यो कहिले अन्त्य हुन्छ ?

राजनीति छोटो यात्रा बिलकुलै होइन। यो लामो यात्रा हो। राजनीतिमा कहिलेकाहीँ जिउँदो हुँदा नपाइएका उपलब्धिहरू मरेपछि पनि पाउन सकिन्छ। कार्ल माक्र्स जिउँदो हुँदा त्यति प्रख्यात थिएनन्, मरेपछि त्यति धेरै प्रख्यात भए। क्षणिक रूपमा पछाडि लाग्ने, नेताको चाकडी गर्ने वा त्यस्तो गुलामी प्रथालाई अवलम्बन गर्ने मान्छेहरू छोटो रेसका घोडाहरू हुन्।उनीहरू छिटो थाक्छन् र उनीहरूको यात्रा छिटो सकिन्छ। दिगो हुन सक्दैन।

तत्काल केही उपलब्धि हासिल गर्नका निम्ति वा आफ्नो स्वार्थ सिद्ध गर्नका निम्ति तत्काल मिल्ने पनि धेरै छन्। तर तिनीहरू राष्ट्रिय राजनीतिसम्म पुग्न कदापि सक्दैनन्। राष्ट्रिय राजनीतिसम्म पुग्ने मान्छेले दूर दृष्टिकोण, भिजन, मिसन तथा त्यस्ता विकास योजनाहरूलाई लिएर अगाडि बढ्नुपर्छ।आफ्नो स्पष्ट मार्गदर्शन हुनुपर्दछ।

एउटा नेताहरूको हुलबाट निस्किएको मान्छे त्यो कदापि नेता बन्न सक्दैन। नेता त हजारौं लाखौं मानिसहरूको मनबाट उत्पन्न भएको हुनुपर्दछ। उसले अनेक दुःख पीडा र उत्पीडन भोगेको हुनुपर्छ। आफ्नो हैसियत बुझेर विद्यार्थी नेतामा भएका कमी–कमजोरीहरूलाई सुधार गर्दै लैजानुपर्दछ। हामीले हाम्रा समर्थकहरूको भन्दा पनि आलोचकको कुरा बढी सुन्नुपर्छ। कम्तीमा उनीहरूले हामीलाई सुधार्ने मौका त दिन्छन्। त्यसैले कसैको चाकडी गरेर यहाँ हुनेवाला केही छैन। 

पार्टी एकतापछि दुई ठूला विद्यार्थी संगठन एक बनेका छन्। के टाउका मिलेर मात्रै हुन्छ, कार्यकर्ता मिल्नुपर्दैन ?

नेकपा प्रचण्ड नामको एउटा सेनाको कमान्डर र केपी ओली नामको अर्को कमान्डर मात्रै मिलेर बनेको पार्टी होइन। उहाँहरू जस्तै हजारौं लाखौं महत्वपूर्ण व्यक्तित्वहरूद्वारा यहाँसम्म ल्याइएको पार्टी हो।

हाम्रो पार्टी सिद्धान्तले चल्ने हो मान्छे मात्रैले चल्ने होइन। हामी त्यस सिद्धान्तलाई जीवनमा लागु गर्न हिँडेका कार्यकर्ताहरू हौं। हाम्रो समाजवाद हुँदै साम्यवादमा पुर्याउने लक्ष्यका साथ जनताको बीचमा आएको पार्टी नेकपा हो। तलका कुरा नमिलेजस्तो देखिने कुरा सामान्य हो, क्षणिक हो र यो दीर्घकालसम्म टिक्दैन।

बेला बेलामा क्याम्पसमा हुने तोडफोड, तालाबन्दी र क्याम्पस प्रमुख थुनामा परेका र कुटिएका समाचार किन आर्थिक पाटोसँगै जोडिएर आउँछन् ?

विद्यार्थी नेता विद्यार्थीका हक–अधिकार सुनिश्चित गर्नका निम्ति, उनीहरूमाथि हुने अन्याय, अत्याचार, शोषण र दमनलाई मुक्ति गर्न बनेको हुन्छ। अनेरास्ववियुको स्कुलिङले के भन्छ भने देशभक्त, जनवादी र प्रगतिशील विद्यार्थी साथीहरू मात्रै कुशल विद्यार्थी नेता हुन्। यसभन्दा पहिला कैयौं आन्दोलनहरू भए। कहिले घुसपैठ भए होलान्।

मलाई लाग्छ – त्यस्ता खाले क्रियाकलपमा अनेरास्ववियुका बफादार कार्यकर्ताहरू हुनुहुँदैनथ्यो। त्यहाँ अन्य कुनै तत्वले पनि आफ्नो हावी देखाएको जस्तो लाग्छ। संगठनलाई कमजोर बनाउने बदनियतका साथ, संगठनमाथि प्रहार गर्नका निम्ति कुनै न कुनै तत्वहरूलाई घुसपैठको रूपमा प्रयोग गरेर अनरास्ववियुलाई बदनाम गर्न गरिएको जस्तो मलाई लाग्छ।

म आर आर क्याम्पसमा राजनीति गर्न र सिक्न २०७० सालमा छिरेको हुँ। अहिलेसम्म मैले त्यस्ता आर्थिक लेनदेन र त्यसले गर्दा निम्त्याएका लडाइँ–झगडाहरू खेप्नुपरेको छैन र क्याम्पसमा यस्तो हुन पनि दिइनेछैन।

लामो समयपछि स्ववियु निर्वाचन हुँदै छ। त्रिविले तयारी थाल्न क्याम्पसहरूमा पत्राचार पनि गरिसकेको छ। सोही चुनावमा सभापति बन्ने तपाईँको दाबेदारी सफल होला ?

अब आउने निर्वाचनमा दाबेदारी गर्ने म मात्रै नभएर आरआर क्याम्पस अन्य थुप्रै साथीहरू हुनुहुन्छ। २०३६ सालदेखि हालसम्म अनेरास्ववियु त्यहाँको जाज्वल्यमान सङ्गठन हो। अनेरास्ववियुले यसकारण जित्दछ जहाँ अनेरास्ववियुसँग विद्यार्थीको मन जोडिएको छ, विद्यार्थीहरूको आत्मा जोडीएको छ। अनरास्ववियुले विद्यार्थीहरूका निम्ति गरेका सेवा र लगानी उल्लेखीय छन्।

अनरास्ववियुले मात्रै हामीलाई न्याय र मुक्ति दिन सक्छ है भन्ने भाव पैदा भएको छ। त्यसैले जितको दाबेदारी गर्न सकिएको हो। देशभरका तमाम क्याम्पसका विद्यार्थीले आगलागी र ढुङ्गामुढा गरिरहँदा पनि आरआर क्याम्पसका विद्यार्थीले मतदान गरे। यो कार्य निकै नै प्रसंसनीय छ। त्यस्तो बखतमा पनि अनरास्ववियु विजयी भयो।

त्यसमा म सबैभन्दा बढी भोट ल्याएर जित्ने त्यति वेलाको स्ववियु सदस्य बनँे। त्यो किन त भन्दा म सधैं विद्यार्थीहरूको मन र मुटुमा बस्ने गरेको छु। शैक्षिक गुणस्तरमा ध्यान दिएको छु। विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने प्रयत्न गरेको छु। अन्य अखिलका योद्धाहरू पनि यसमा लागिपर्नुभएको छ। यसकारण म के भन्दछु भने हाम्रो दाबेदारी सफल हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्