खेलकर्मीको आर्थिक अवस्था सुदृढ गरिनुपर्छ : ढकाल



काभ्रे पनौतीका दीपेन्द्र ढकाल सानै उमेरदेखि राष्ट्रियस्तरका खेलाडी बनेर आफ्नो भविष्य बनाउन चाहन्थे। उहाँले खेलाडी जीवनमा भन्दा पनि निर्णायकमा ऐतिहासिक उपलब्धि हासिल गर्नुभयो। मार्सल आर्टस् विधाको तेक्वान्दो खेलमा सानै उमेरमा अन्तर्राष्ट्रिय निर्णायक बन्नुभयो। उहाँ नेपाली सेनाबाट डब्ल्यूटीए तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बन्ने पहिलो नेपाली निर्णायक हुनुहुन्छ। साथै कम उमेरमा अन्तर्राष्ट्रिय निर्णायक हुनेमा पनि उहाँ पहिलो नेपाली निर्णायक हुनुहुन्छ। काभे्रको कुसादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेलेका उहाँ २०७० सालदेखि निर्णायकमा लाग्नुभएको हो। नेपाली सेनामा आबद्ध भएका हाल भक्तपुरस्थित सैनिक आवासीय विद्यालयमा प्रशिक्षकमा समेत कार्यरत हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप ः

तपाईं खेलाडी जीवन छाडेर अन्तर्राष्ट्रिय निर्णायक कसरी बन्नुभयो ?

खेल जीवनमा मैले चोटले गर्दा निरन्तरता दिन सकिनँ। मैले २०७० सालदेखि निर्णायकमा ध्यानकेन्द्रित गरें। मेरो मेहनतको फल पनि पाएँ। मैले चीनको उसी शहरबाट सन् २०१७ मा तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाएको हुँ।

राज्यको लगानीबिना खेलक्षेत्रको विकास गर्न सकिँदैन। अझै पनि खेलक्षेत्र सरकारको प्राथमिकतामा परेको छैन। खेलाडीप्रति पनि राज्यको ध्यान पुगेको छैन। खेलकर्मीकोे आर्थिक अवस्था सुदृढ गर्ने बाटो बनाइदिएमा नेपाली खेलाडीले खेल जीवन छाडेर विदेश पलायन हुने अवस्था नै आउँदैन। खेलाडीहरू आर्थिक अवस्थाकै कारण पलायन हुन बाध्य छन्। यस्तो कुरामा राज्यले हेर्नुपर्ने हो।

नेपालबाट ६ जना गएकामा म मात्र उत्तीर्ण भएँ। म मात्रै एक जना सेनातर्फ निर्णायक पनि हुँ। उसीमा १ सय ४औं अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक सेमिनारमा मैले यसको लाइन्सेन्स प्राप्त गरेको हुँ। निर्णायक बन्न पनि गाह्रै छ। पहिला नियमित कक्षा लिनुपर्यो, त्यसपछि लिखित परीक्षा दिनुपर्यो। त्यसपछि मात्रै नतिजा निस्कन्छ।

तपाईं तेक्वान्दोमा कहिलेदेखि लाग्नुभयो ?

२०५८ सालदेखि तेक्वान्दो खेलें। २०६० सालमा ब्ल्याक बेल्ट लिएँ। त्यसपछि एसएलसीका लागि बीचमा ग्याप भयो। मैले प्लस टु काभ्रेबाटै पास गरें। २०६२ सालदेखि फेरि खेल्न शुरू गरें। सातौं राष्ट्रिय खेलकुद खेल्दा घाइते भएर बीचैमा तेक्वान्दो फेरि छाड्नुपर्यो।

फुर्सदमा फेरि मैले पढाइलाई निरन्तरता दिएँ। मैले पोलिटिकल विषयमा स्नाकोत्तरसमेत गर्न भ्याएँ। खेलसँगै पढाइको पनि आवश्यक छ, त्यसैले मैले पढाइलाई पनि सँगै लगेको हुँ। त्यसपछि २०६७ सालदेखि सेनामा प्रवेश गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थिएँ। पछि म निर्णायकमा लागेको हँु।

२०७० सालदेखि विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको छु। हाल मैले भक्तपुरको सैनिक विद्यालयमा तेक्वान्दोमा प्रशिक्षण पनि दिइरहेको छु।

कति जना मेरा चेलाले विभिन्न प्रतियोगितामा पदक पनि जितेका छन्। हालै सम्पन्न एभरेस्ट तेक्वान्दोमा पनि मैले सिकाएको प्रशिक्षार्थी दुई जनाले स्वर्ण पदक जितेका छन्।

पहिलेको तुलनामा १३औं सागपछि नेपालमा तेक्वान्दोको अवस्था कस्तो देख्नुभएको छ ?

तेक्वान्दोबारे पहिलाका मान्छेले बुझेका थिएनन्। फुटबल, क्रिकेट, बास्केटबल, भलिबल टिम गेममा बढी आकर्षित हुन्थे। अहिलेका पुस्ताले तेक्वान्दो आत्मरक्षाका लागि समेत खेल्न थालेका छन्।

अहिले महिला हिंसा बढेकाले पनि मार्सल आर्टस् सिक्नुपर्छ भन्ने ज्ञान भयो। विभिन्न घटना समाजमा घटिरहेको हुन्छ, महिलाहरूलाई पनि मार्सल आर्टस् चाहिएको अभिभावकले बुझिसकेका छन्।

तेक्वान्दो अरू खेलभन्दा सहज पनि छ। सिक्नका लागि अहिले बढी मात्रामा तेक्वान्दो सिक्ने भइरहेको छ। यसमा आत्मरक्षा कसरी गर्ने भन्ने कुरा सिकाइन्छ। आफूलाई प्रहार गर्यो भने कसरी त्यसलाई हिर्काउने, आफू कसरी बच्ने भन्ने कुरा सिकाउने हुनाले तेक्वान्दोमा अहिले धेरैजसो आकर्षित भइरहेका छन्।

अर्को १३औं सागमा तेक्वान्दोले नै बढी पदक ल्याएको, राज्यले पनि मोटो रकम पुरस्कार दिने घोषणा गरेकाले तेक्वान्दोको अवस्था राम्रै देखेको छु।

खेललाई बलियो बनाउनुभन्दा राज्यको पदक जित्नेलाई पुरस्कार दिने चलन कस्तो लाग्छ ?

राज्यले पदक विजेतालाई रकम दिने घोषणा गर्नु नराम्रो होइन, रामै्र लाग्छ। तर अर्को दृष्टिले हेर्ने हो भने यो रकमले खेलाडीलाई कतिसम्म पाल्ला? प्रश्न यहाँनेर आउँछ। साग विजेतालाई पुरस्कार दिएर, शहर घुमाएर मात्रै सरकारको जिम्मेवारी सकिँदैन।

यदि नेपाली खेलकुदलाई साँच्चिकै उन्नतितिर लैजाने हो भने पुरस्कारसँगै खेललाई बलियो बनाउनु आवश्यक छ। नत्र भने उत्कृष्ट खेलाडी गुमनाम नै भएर जानेछ। खेलाडी भनेका मुलुकको आधारस्तम्भ हुन्। तर उनीहरूप्रति राज्यले ध्यान दिन सकिरहेको छैन।

यहाँ कतिपय खेलाडीले लामो समयसम्म खेल जीवनमा लागेर पनि बाध्य भई देश छाडेका छन्। गाँस, बासको व्यवस्था गरिदिएमा राज्यले खेलाडीलाई विदेश पलायन हुनबाट बचाउन सकिन्छ।

भन्ने हो भने हामी यही क्षेत्रमा हाम्रो भविष्य खोज्न चाहन्छौं, यसका लागि सबै क्षेत्रको सहयोगको आवश्यकता छ। आर्थिक अवस्थाकै कारण नयाँ पुस्ता खेलक्षेत्रमा आकर्षित हुन छाडेका छन्।

खेलप्रति राज्यको भूमिका कस्तो हुनुपर्छ त ?

यस्तो छ खेलाडीलाई सम्मान वा रकम पुरस्कार दिएर मात्रै पुग्दैन। राज्यले सम्मान गर्यो त्यो खेलाडीलाई प्रेरणादायी कुरा हो, त्यो मान्छु। तर त्योसँगै प्रशिक्षक र निर्णायकलाई पनि राज्यले हेरिदिएको भए अझ राम्रो हुन्थ्यो।

राज्यको लगानीबिना खेलक्षेत्रको विकास गर्न सकिँदैन। अझै पनि खेलक्षेत्र सरकारको प्राथमिकतामा परेको छैन। त्यस्तै खेलाडीप्रति पनि राज्यको ध्यान पुगेको छैन।

खेलकर्मीको आर्थिक अवस्था सुदृढ गर्ने बाटो बनाइदिएमा नेपाली खेलाडीले खेल जीवन छाडेर विदेश पलायन हुने अवस्था नै आउँदैन। खेलाडीहरू आर्थिक अवस्थाकै कारण पलायन हुन बाध्य छन्। यस्तो कुरामा राज्यले हेर्नुपर्ने हो।

प्रशिक्षक र निर्णायकलाई राज्यले वास्ता नगरेकै हो त ?

खेलमा जति पनि खेलाडीको भूमिका महत्वपूर्ण हुन्छ त्यति नै निर्णायकको त्यसभन्दा ठूलो महत्व हुन्छ नि। एउटा सफल खेलाडी भएपछि मात्रै निर्णायक हुन्छ। राष्ट्रिय खेलहरू धेरै खेलाउनुपर्छ। प्रशिक्षक र निर्णायकमा पनि ए, बी, सी भनेर वर्ग छुट्याएको हुन्छ।

हामी निर्णायक ए वर्गमा पुगेपछि अन्तर्राष्ट्रिय निर्णायक बन्न सकिन्छ। हामी त आफ्नै खर्चले निर्णायकमा गएका हौं। यदि खेलकुद क्षेत्रको विकास नेपालमा गर्ने हो भने खेलकुद विश्वविद्यालयको व्यवस्था गर्न पनि आवश्यक छ।

अहिले पनि कतिपय खेलकर्मी खेलमा हुने प्रतिस्पर्धामा सफलता प्राप्त हुने विषयले गर्व महसुस भए पनि भविष्य सोच्दा भने चिन्तित हुनुपर्ने अवस्थामा रहेका छन्। खेलाडी भएर पनि सहज जीवन बाँच्न सकिन्छ भन्ने स्थिति आउने हो भने नेपालको खेलकुद क्षेत्रले धेरै ठूलो फड्को मार्न सक्छ।

नेपाली खेलाडीले ओलम्पिक, एसियनमा पदक जित्न सक्ने कतिको अवसर रहेको छ ?

राज्यले लगानीमार्फत खेलाडीको आयस्तरदेखि जीवन यापन गर्ने वातावरण तयार गरिदियो भने पक्कै पनि नेपालले एसियन खेलकुदमा पदक ल्याउन सक्छ जस्तो लाग्छ। यस्तो भयो भने ओलम्पिकमा समेत शीर्ष खेलाडीले पदक ल्याउन सकिन्छ।

नेपालमा खेलेर जीवन यापन गर्न सक्ने नभएकाले पनि विदेश पलायन हुने, रोजगारीलाई सँगसँगै लैजानुपर्ने बाध्यता छ। यदि उनीहरूको जीवन यापन गर्न सक्ने बनाइदियो भने खेलाडीको ध्यान खेलमा मात्रै जानेछ त्यसपछि अवश्य पदक ल्याउन सकिन्छ।

चीनको उहानमा भएको सातौं विश्व सैनिक खेलकुदमा तपाईंले निर्णायकमा कस्तो अनुभव बटुल्नुभयो ?

सो प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक बनेको मेरो पहिलो अवसर हो। मैले सन् २०१७ मा अन्तर्राष्ट्रिय निर्णायक बनेको २ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको खेलमा निर्णायक बन्ने सौभाग्य प्राप्त गरें। पहिलो अवसरमा मैले राम्रै पनि गरें।

त्यहाँको अरू केही अनुभवबारे बताइदिनुहुन्छ कि ?

प्रतियोगिताका लागि विश्वभरबाट ओइरिएका पाहुनाको स्वागतमा चीनले प्रस्तुत गरेको आतिथ्यता र व्यवस्थापकीय कौशल जो कसैका लागि प्रेरणादायी छ। प्रतियोगिताको व्यवस्थापकीय शैली आउँदा दिन यस्तै भव्य र सफल कार्यक्रम आयोजना गर्न चाहने अन्तर्राष्ट्रिय समुदायका लागि सिक्ने पाठशालाकैरूपमा स्थापित भएको थियो।

विमानस्थलदेखि खेलस्थलसम्म यातायात र सुरक्षा प्रबन्धमा खेल अवधिभर कहीं पनि कमजोरी र चुकेको भनेर खोट लगाउन ठाउँ थिएन र पाइनँ पनि। प्रतियोगितामा सहभागी हुन आएका पाहुना कतै पनि अलमलमा नपरून् भनी कलेजमा अध्ययनरत तालिम प्राप्त मृदुभाषी छात्रछात्रालाई स्वयंसेवकका रूपमा परिचालन गरिएको थियो।

चीनले समापन समारोहमा एउटा पनि पटाका भने पड्काएको थिएन। चीनले पटाका नपड्काएर पनि प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

त्यहाँबाट नेपालले सिक्नुपर्ने केही छ कि ?

नेपालले आगामी सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा चिनियाँ शैलीको अतिथि सत्कार, संस्कार र व्यवस्थापनको यस्तै अनुसरण हुन सके नेपाल सरकार र पर्यटन व्यवसायीका लागि मात्र होइन, सम्पूर्ण नेपालीकै लागि श्रेयस्कर ठहरिनेछ।

नेपालको सैनिक कूटनीति सम्बन्ध विस्तार र ‘भिजिट नेपाल २०२०’को प्रचारप्रसार गर्ने सुवर्ण अवसर भने हामीले पायौं।

तपार्इंको अबको लक्ष्य भनेको के हो ?

म अन्तर्राष्ट्रिय निर्णायक बनेपछि यसभन्दा अझ माथि जाने लक्ष्य लिएको छु। मेरो अबको लक्ष्य भनेको ओलम्पिकमा समेत निर्णायक बन्ने हो। यसका लागि मैले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निभाउनुपर्ने हुन्छ।

अहिले म दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायक बन्ने कोसिस गर्दै छु। यसका लागि मलाई ८ अंकको आवश्यकता छ। ८ वटा विश्व र्याङ्किङको प्रतियोगिता खेलाएमा म दोस्रो श्रेणीमा पुग्न पाउनेछु। राज्यले व्यवस्था गर्न सक्नुपर्छ।

राज्यले खेल खेलाउन जाने व्यवस्था मिलाइदिनुपर्छ। मुख्य कुरा लगानीकै आएपछि राज्यले लगानी गर्नु पनि पर्छ। जान आउने खर्च चाहियो, विश्वभरि खेल भइरहन्छ त्यसका लागि प्रतिस्पर्धा गरेर छनोट हुनेलाई पठाउनुपर्छ। कसरी हुन्छ नीति बनाएर राज्यले हेरिदिने हो भने हामी अझै माथि जान सक्नेछौं। सधैं पकेट मनी खर्च गरेर जान पनि सकिँदैन।

 

प्रतिक्रिया दिनुहोस्