खगोल विज्ञानको अध्ययन अनुसन्धानमा सहयोगी विज्ञान संग्रहालय



डा. सनतकुमार शर्मा
कार्यकारी निर्देशक
विपि कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालय विकास समिति

नेपालले २१औं शताब्दीमा विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको छ। सरकारले पहिलोपटक नेपालमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान संग्रहालय स्थापना गरेर विज्ञान जान्न खोज्नेका लागि ठूलो सहयोग गरेको छ। वर्षांै लामो कठोर र प्रयासपछि स्थापना भएर सञ्चालनमा आएको संग्रहालयले अन्तरिक्ष विज्ञानको अध्ययन अनुसन्धान तथा विकास एवम् जनमानसमा वैज्ञानिक चेतना तथा संस्कार प्रवाह गर्ने कार्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। पछिल्लो संग्रहालयले विज्ञानप्रविधि, अन्तरिक्ष विज्ञान क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निजर्माण गर्ने, नयाँ नयाँ खोज र अनुसन्धान गर्ने वैज्ञानिकका लागि स्थान जुटाइदिने, खगोल विज्ञानको विषयमा जानकारी गराउन विभिन्न कार्यक्रम आयोजना गर्नेलगायतका काम गर्दै आइरहेको छ। यसै सन्दर्भमा संग्रहालयले गरेका कामको विषयमा समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्मासँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानी :

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय स्थापना गर्नुको उद्देश्य के हो ?

अन्तरिक्ष विज्ञान नै एउटा राष्ट्रको समग्र विकासको परिसूचक एवम् राष्ट्रिय गौरवको आधार भएकाले यस क्षेत्रको विकासले एउटा राष्ट्रको समृद्धिलाई प्रतिबिम्वित गर्दछ भने यस क्षेत्रको अविकसित अवस्थाले राष्ट्रको पछौटेपनलाई दर्शाउँदछ।

तसर्थ आज सम्पूर्ण विश्व नै अन्तरिक्ष अन्वेषण र अध्ययन अनुसन्धानमा अहोरात्र संलग्न छ। मानव चन्द्र विजयपश्चात् मंगलग्रहमा आफ्नो उपनिवेश स्थापना गर्नमा अग्रसर भइसकेको छ। टेराफर्मिङ (अन्य ग्रह उपग्रहलाई पृथ्वी समान बनाउनु) र अन्तरिक्ष पर्यटनजस्ता कुराहरू विज्ञान कथामा मात्र सीमित नरहेर वास्तविकतामा परिणत भइसकेका छन्।

यस्तो परिस्थितिमा नेपालमा एक मात्र अन्तरिक्ष विज्ञानको अध्ययन अनुसन्धान तथा विकास एवम् जनमानसमा वैज्ञानिक चेतना तथा संस्कार प्रवाह गर्ने कार्यमा संलग्न यस संस्थाको अत्यधिक महत्व रहेको छ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरूसमेत सिर्जना गरी यस क्षेत्रमा निरन्तर रूपमा कार्य गरी रहेको छ।

विश्वमा अन्तरिक्ष विजयको महाअभियानको प्रारम्भसँगै चन्द्रमा तथा अन्य आकाशीय पिण्डहरूलगायत अन्तरिक्षको अन्वेषण तथा शान्तिपूर्ण प्रयोगसम्बन्धी सन्धि सम्झौतामा नेपाल १६ अक्टोवर १९६७ मा पक्ष राष्ट्र रहन गएको सन्दर्भमा नेपालमा प्लानेटेरियम, बेधशाला तथा विज्ञान सङ्ग्रहालयको स्थापना, सञ्चालन तथा विकास गरी जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारमा अभिवृद्धि गर्न, खगोल विज्ञान, खगोल भौतिक विज्ञान, अन्तरिक्ष विज्ञान तथा ज्योर्तिर विज्ञानमा अध्ययन अनुसन्धान गर्न, विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनमानसमा प्रवाहित गर्न, विज्ञान सङ्ग्रहालयको स्थापनाबाट विद्यार्थीमा ‘गर र सिक’ को सिद्धान्तअनुरूप विद्यार्थी तथा शिक्षकमा विज्ञानका कठिन र दुरूह सिद्धान्तलाई सरल र सहज रूपमा बुझ्न सक्ने आधारको निर्माण गर्न विकास समिति ऐन, २०१३ बमोजिम बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरेभटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको स्थापना भएको हो।

बीपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयलाई नेपालकै पहिलो विज्ञान सङ्ग्रहालय मानिन्छ, यो सङ्ग्रहालय कहिलेदेखि सञ्चालमा आएको हो र ? यसको प्रमुख उद्देश्यहरू के के हुन् ?

बीपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालय नेपालकै पहिलो विज्ञान सङ्ग्रहालय हो। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गएको वैशाख २८ गते उद्घाटन गर्नुभएको हो।

लगत्तै सर्वसाधारणका लागि खुला गरिएको हो। औपचारिक रूपमा ‘गर र सिक’ को सिद्धान्तअनुरूप प्रदान गरिने शिक्षाले विद्यार्थीको ज्ञानको क्षेत्रलाई बढाउन, नवीनतम् ज्ञान प्राप्त गर्न र विज्ञानको क्षेत्रमा कार्यरत रहन अभिप्रेरणा प्रदान गर्दछ।

यसका साथै वैज्ञानिक अवधारणालाई सहज रूपमा बुझ्न र यसलाई जीवनपयोगी रूपमा जीवनमा लागू गर्ने कार्यमा सहजता प्रदान गर्दछ। एउटा समाजमा विज्ञान साक्षरता प्रार्दुभाव गर्नमा विज्ञान सङ्ग्रहालयले अहम् भूमिका निर्वाह गरेको हुन्छ। यसले जनमानसमा वैज्ञानिक चेतना तथा विज्ञानको सार्थक ज्ञानलाई आत्मसात् गर्न एउटा समाजलाई अभिप्रेरित गर्दछ।

त्रिभुवन विश्वविद्यालय परिसरमा १ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको विज्ञान सङ्ग्रहालयको अत्याधुनिक भवन निर्माण भइसकेको, विज्ञानका गहनतम् सिद्धान्तलाई प्रस्तुुतीकरण गर्ने ४० भन्दा बढी इन्ट्राएक्टिभ एक्जिबिट्स, रोबोटिक्स, वनस्पति विज्ञानका २ सयभन्दा बढी एक्जिबिट्स, जीव विज्ञानका एक्जिबिट्स, मानव विकासक्रमका १० वटा एक्जिबिट्स, भूगर्भ विज्ञान तथा जलवायुसम्बन्धी एक्जिबिट्स, भौतिकशास्त्रका केही एक्जिबिट्स, डीएनएसम्बन्धी केही एक्जिबिट्स, मेडिकल साइन्सका एक्जिबिट्स, तथा त्रिआयामी थिएटर (अन्तरिक्ष यात्रा, सेटलाइट तथा बह्माण्डसम्बन्धी त्रिआयामी चलचित्रहरू) समेत जडान भइसकेका छन्।

यो सङ्ग्रहालय राष्ट्रको प्रथम र अत्याधुनिक सङ्ग्रहालय रहेको छ। राष्ट्रमा कुनै पनि स्थानमा साइन्स सिटी नभएको अवस्थामा यस क्षेत्रलाई नै साइन्स सिटीका रूपमा क्रमिक रूपमा स्थापित गर्दै एसियाको अन्य साइन्स सिटीको समकक्षमा रूपान्तरण गर्न लागिएको छ।

विज्ञान सङ्ग्रहालयमा विज्ञानका विद्यार्थीले के कस्ता कुरा सिक्न पाउँछन्, हालसम्म कतिले भ्रमण गरिसकेका छन् ?

कक्षाकोठाको बोझिल वातावरणभन्दा विज्ञान सङ्ग्रहालयमा विद्यार्थीले विज्ञानका सिद्धान्तलाई सहज रूपमा बुुझ्ने, स्मरण शक्ति तीक्ष्ण हुने, सिद्धान्तहरू सहज रूपमा स्मरण रहने र कार्यक्षमतामा वृद्धि हुने कुरा अनेकौं अनुसन्धानले देखाएका छन्।

यस विज्ञान सङ्ग्रहालयमा विद्यार्थीले मेकानिकल, एरोडाइनामिक्स, साउन्ड, लाइट, इलेक्ट्रिसिटी, इलेक्ट्रोनिक्स, इलोक्ट्रोमेग्नेटिज्म, बोट्नी, जुलोजी, जेनेटिक्स, रोवोटिक्स, फ्युजन, फिजियोलोजी, एस्ट्रोनोमी, जियोलोजी, जलवायुसम्बन्धी आदि अन्तरिक्षसम्बन्धी तथा थ्रीडी चलचित्रहरूबाट ब्रह्माण्डको अध्ययन गर्ने अवसर प्राप्त गर्दछन्। कलेज तथा स्कुलका विद्यार्थी निरन्तर रूपमा समूह–समूहमा तथा सर्वसाधारण पनि निरन्तर रूपमा यस सङ्ग्रहालयमा आइरहेका छन्, र सङ्ग्रहालयमा भ्रमण गर्नेको संख्या उल्लेख्य रहेको छ।

समितिको प्रारम्भमा नै बीपी प्लानेटेरियम भनेर उल्लेख गरिएको थियो तर प्लानेटेरियम स्थापना भएको देखिँदैन यस सम्बन्धमा के कस्ता कार्यहरू भइरहेका छन् ?

यस समितिको प्रमुख उद्देश्य प्लानेटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय स्थापना र सञ्चालन गर्ने हो। साथै खगोल विज्ञानको अध्ययन–अनुसन्धान गर्नु पनि हो। नगरकोटमा बेधशालको स्थापना भई सञ्चालनमा छ। त्यहाँ अध्ययन–अनुसन्धानको कार्य भइरहेको छ।

कीर्तिपुरमा विज्ञान सङ्ग्रहालय भवनको निर्माण भई उपकरणहरूसमेत जडान गरी तथा थ्रीडी थिएटरसमेतको स्थापना गरी सञ्चालनमा ल्याई सकिएको छ। प्लानेटेरियमका लािग डिजाइन, इस्टिमेट तयार भइसकेको छ।

यसको निर्माण प्रक्रिया अघि बढाउन सरकारले केही रकम पनि विनियोजित गरिसकेको छ। यसै आर्थिक वर्षमा यसको प्रारम्भिक काम गर्ने भएका छौं। आशा गरांै आगामी आर्थिक वर्षको अन्त्यतिर देशमा प्लानेटेरिमय स्थापना हुनेछ।

खगोल विज्ञानको क्षेत्रमा के कस्ता अन्य कार्य भइरहेका छन्। अनुसन्धानका लागि के–कस्ता सुविधा उपलब्ध रहेका छन् ?

विगतमा खगोल विज्ञानको विषयमा राष्ट्रमा कुनै पनि प्रकारको कार्यहरूको प्रारम्भ गरिएको थिएन। तसर्थ यस समितिले नै प्रथमपटक नेपालमा बेधशालाको स्थापना गरी अन्तरिक्ष विज्ञानको अध्ययन अनुसन्धानको प्रारम्भ गर्यो।

तत्पश्चात त्रिविको सहयोगमा खगोल विज्ञानको पाठ्यपुस्तक तयार गरी भौतिकशास्त्रमा स्नातकोत्तर तहमा ऐच्छिक पेपरका रूपमा पाठ्यक्रममा समावेश गर्न सफल भयांै। स्नातकोत्तर तहमा खगोल विषयमा अनुसन्धान गर्ने विद्यार्थीलाई छात्रवृद्धिसमेत व्यवस्था गरी प्रतिवर्ष १०–१५ जना विद्यार्थीलाई तिरन्तर रूपमा नगरकोट बेधशालाबाट अध्ययन अनुसन्धान गरिरहेका छन्।

आकाशिय पिण्डहरूको अनुसन्धानका लागि उपयुक्त स्थलको छनोट गरी २ हजार १ सय मिटरको उचाइमा नगरकोटमा अत्याधुनिक बेधशाला तथा अतिथिगृहसमेतको निर्माण भएको र उक्त बेधशाला स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीका लागि एउटा प्रयोगात्मक कक्षाका रूपमा मात्र नरहेर एउटा राष्ट्रिय गौरवका रूपमा पनि रहेको छ।

बेधशालामा नासा, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन, साउथन अब्जरभेटरी, युरोपियन युनियन, इन्टर युनिभर्सिटी सेन्टर फर एस्ट्रोनोमी एन्ड आर्टौफिजिक्सका वैज्ञानिकले समेत समयसमयमा यस बेधशालामा आएर अनुसन्धान गर्ने गरेका छन्।

बेधशालामा १६ इन्चको टेलिस्कोपबाहेक सीसीडी, सेल्फ गाइडिङ सेपट्रोसस्कोपलगायतका अत्याधुनिक अन्य उपकरणहरू पनि समुपस्थित रहेका छन्। र यसबाट अन्तरिक्ष विज्ञानमा निरन्तर रूपमा अध्ययन–अनुसन्धान हुनुका साथै स्नातकोत्तर विद्यार्थीले सय पूर्णाङ्कको विशेष पेपर यसै बेधशालामा सम्पन्न गर्ने गरेका छन्।

हामी निरन्तर रूपमा काठमाडौ तथा देशमा विभिन्न भागमा गएर खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञानका स्कुल सञ्चालन गरिरहेका छौं। साथै हामी यस विषयमा निरन्तर रूपमा राष्ट्रिय स्तरको जर्नलसमेत प्रकाशन गरिरहेका छौं। यसको अलावा अहिले ठूलो संख्यामा देशभरि खगोल विज्ञानमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ।

भौतिकशास्त्र केन्द्रीय विभाग, त्रिवि, गोल्डेनगेट कलेज, अमृत साइन्स क्याम्पस, पाटन सयुक्त क्याम्पस तथा देशमा अन्य कलेजमा पनि ठूलो संख्यामा विद्यार्थीहरू खगोल विज्ञानमा अध्ययन गरिरहेका छन्।

खगोल विज्ञानको कार्य गर्ने क्षेत्र कहाँ–कहाँ छ ?

खगोल विज्ञानको कार्य गर्ने क्षेत्र सम्पूर्ण ब्रह्माण्डमा नै हो। यो शताब्दी नै अन्तरिक्ष विज्ञानको शताब्दी होे। यस क्षेत्रमा दिनानुदिन नवीनतम् अनुसन्धान, नवीनतम् उपलब्धि प्राप्त भइरहेका छन्। मानवको अन्तिम लक्ष्य भनेकै अन्तरिक्ष हो।

अन्तरिक्षमा मानव कलोनीको स्थापना, अन्तरिक्षबाट साधन र स्रोत रित्तिएको पृथ्वीमा खनिज धातुुलगायत पदार्थ आयात, अन्य ग्रहमा मानवको उपनिवेशको स्थापनाजस्ता नवीनतम् क्षितिज विद्यार्थीका लागि/अनुसन्धानकर्ताका लागि खुला हुँदै गइरहेका छन्।

एस्ट्रो–बायो, एस्ट्रो मेडिसिनजस्ता नवीन विज्ञानका शाखा पनि आजका नवीनतम् अनुुसन्धानको क्षेत्रहरू हुन्। यस क्षेत्रमा कार्य गर्न अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि राष्ट्रमा मात्र होइन विश्वमा नै कार्य गर्ने अनेकौं अवसर समुपस्थित छन्।

हालै विज्ञान तथा प्रविधि नवप्रवर्तन नीति जारी भएको छ। यसले सङ्ग्रहालय विकास समितिको विकासमा के कस्तो भूमिका निर्वाह गर्ला?

विज्ञान नवप्रवर्तन नीतिले संस्था विशेषभन्दा पनि राष्ट्रको विज्ञान तथा प्रविधि क्षेत्रको समग्र विकास लागि अहम् भूमिका निर्वाह गर्न सिर्जना गरिएको छ।

तथापि राष्ट्रमा वैज्ञानिक चेतना तथा संस्कार प्रार्दुभाव गर्न र अन्तरिक्ष विज्ञानको विषयमा समेत नीतिमा उल्लेख भएकाले निश्चय नै यस नीतिले विज्ञान तथा प्रविधिको क्षेत्र तथा यस संस्थाको विकासमा अहम् भूमिका निर्वाह गर्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा यस क्षेत्रमा के–कस्ता कार्य भएका छन् ?

चाइना साइन्स एन्ड टेक्नोलोजी म्युजियमसँग बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले हालै सम्झौता गरेको छ।

यसअन्तर्गत चाइना साइन्स एन्ड टेक्नोलोजी म्युजियमले ९० आइटमभन्दा बढी उत्कृष्ट तथा अत्याधुनिक उपकरणहरू यस समितिलाई दिने कुरा उल्लेख छ।

मार्चको दोस्रो सप्ताहमा २ जना चाइना साइन्स एन्ड टेक्नोलोजी म्युजियमका उच्च पदस्थ अधिकारी नेपालमा यी उपकरण स्थापनाका लागि पूर्वाधारको निरीक्षण गर्ने तथा यस समितिलाई भविष्यमा अझै बढी सहयोग र सहकार्य गर्ने कुरामा समेत छलफल हुनेछ।

मार्चको अन्त्यतिर वा अप्रिलको प्रथम सप्ताहतिर उपकरणहरू नेपालमा आएर जडान हुनेछन्। ती उपकरणको निर्माण कार्य सम्पन्न भई काठमाडौंमा पठाउनका लािग तयार अवस्थामा राखिएका छन्।

चाइना साइन्स एन्ड टेक्नोलोजी म्युजियमका उच्च पदस्थ पदाधिकारी हस्तान्तरण समारोहमा स्वयम् उपस्थित हुनेछन्। भविष्यमा चाइना साइन्स एन्ड टेक्नोलोजी म्युजियमले यस क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गर्ने कुरामा हामी विश्वस्त छौं।

अन्त्यमा अन्य केही कुरा राख्न चाहनुहुन्छ कि ?

म विद्यार्थी शिक्षा तथा सर्वसाधारणलाई नेपालको प्रथम तथा एक मात्र विज्ञान सङ्ग्रहालयको अवलोकनमा आउनका लागि आह्वान गर्दछु। तपाईंहरू परिवारसहित भम्रण गर्न आउनुहोस्। यहाँ विज्ञान तथा प्रविधिका उत्कृष्ट उपकरण रहेका छन्।

पारस्परिक रूपमा संवाद गर्न तथा हिँड्न सक्षम मानव सदृश रोवर्टसँग कुराकानी गर्नुहोस्, आफैं विज्ञानका विविध सिद्धान्तलाई प्रत्यक्ष रूपमा प्रस्ट्याउने उपकरणहरू सञ्चालन गरेर हेर्नुहोस्, थ्रीडी थिएटरमा अन्तरिक्ष अन्वेषण, चन्द्रमामा अवतरण, स्याटलाइटहरूको प्रक्षेपणजस्ता कुरालाई प्रत्यक्ष रूपमा वास्तविक रूपमा आफ्नै अगाडि घटित भएजस्तो अनुभव गर्नुहोस्, मानव विकास कसरी भयो भन्ने तथ्य ज्ञात गर्नुहोस्।

यस भ्रमणबाट निश्चित रूपमा यहाँहरूले विज्ञानका कतिपय गहन सिद्धान्तलाई बुझ्न सक्षम हुनुहुनेछ र एउटा नयाँ आनन्दको अनुभूति गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्