पत्रकारिता विभागको समुन्नतिका लागि गाली खान तयार छु



प्रा. चिरञ्जीवी खनाल
विभागीय प्रमुख
पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग, त्रिवि

त्रिभुवन विश्व विद्यालयअन्तरगतको पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनाल पछिल्लो महिना विवादमा हुनुहुन्छ। विभाग र प्रा. खनालका गतिविधिलाई लिएर आलोचना गर्दै केही सञ्चारमाध्यममा आलेख र टिप्पणीहरू निरन्तर प्रकाशित भएका छन्। विभाग तथा प्रा. खनाललगायत शिक्षकहरूबाट कतिपय आरोपको खण्डन र उठेका मुद्दाहरूलाई प्रष्ट पार्ने काम पनि भएको छ। तरपनि धेरै सबालहरू अनुत्तरित नै रहेका कारण विभागीय प्रमुख प्रा. खनालसँग नेपाल समाचारपत्रका लागि कपिल काफ्ले र अर्जुन कार्कीले कुराकानी गर्नुभएको छ।

प्रा. खनाल, हाम्रो यस अन्तर्वार्ताको उद्देश्य विभाग र तपाईंमाथि उठाइएका सबालहरूका सम्बन्धमा तपाईंका धारणा बुझ्नु नै हो, तर सुरुवात भने तपाईंको अभिरुचिबाट गरौं। पत्रकारिता र प्राध्यापनमा कहिलेदेखि कसरी लाग्नुभयो ?

पत्रकारितामा मेरो रुचि त विद्यालय पढ्दादेखिकै हो। भोजपुरबाट काठमाडौं आएपछि समाज दैनिक, युगध्वनि, रूपरंग, जनपुकारलगायतका साप्ताहिकमा काम गरें। यो चालीसको दशकको कुरा हो।

यसैबीच केही समय वरिष्ठ पत्रकार सोमनाथ घिमिरेको युग संवादमा पनि संलग्न भएँ। त्यसैबीच प्राध्यापन पेशामा आउने अवसर मिल्यो। २०४६ सालदेखि म पत्रकारिता प्राध्यापन पेशामा लागें। सुरुवात आरआर क्याम्पसमा सहायक प्राध्यापकबाट भयो।

अहिले तपाईं पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको विभागीय प्रमुख हुनुहुन्छ, यस जिम्मेवारीमा रहेर तपाईंले गर्नुभएका उल्लेखनीय काम के के हुन् ?

२०७२ साल मंसिरदेखि मलाई त्रिभुवन विश्व विद्यालयले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी दियो। म यहाँ आउँदा विभागमा कर्मचारी र शिक्षकको दरबन्दी शून्य थियो। म आएपछि, विभागका विद्यार्थीलाई पत्रकारिता विभागसँग आवद्ध हुनेगरी परिचय–पत्र दिलाइयो।

विभागको आम्दानी पनि विभागकै खातामा जम्मा गराउने पहल भयो। यसका लागि भोगेको तनाब र श्रम उल्लेख गर्ने हो भने निकै पाना भरिन्छन्। फलस्वरूप आरआर क्याम्पससमेतको सहयोगमा विभागको आम्दानी २०७३ सालदेखि विभागकै खातामा राख्न त्रिविले अनुमति दियो।

पत्रकारिता र आम सञ्चारका क्षेत्रमा केही दशकअघि जस्तो अभ्यासले मात्र काम गर्ने अवस्था अहिले छैन, शैक्षिक योग्यता हासिल गरेर मात्र यस क्षेत्रमा प्रवेश गर्ने र व्यावसायिक ढंगले काम गर्दै आफ्नो करियर निर्माण गर्ने बेला छ। त्यसैले पनि यस विभागलाई आक्षेप लगाउनुअघि भित्र–बाहिर रहेका सबै महानुभावले गम्भीर बनिदिनु आवश्यक छ।

शिक्षकहरूको दरवन्दी पनि त्रिविसँग अनुनय विनय गर्दागर्दा आठ वटा बनाइयो, तर यो प्रयाप्त छैन। अहिले पाँच जनामात्रै छन् बाँकीका लागि गौडधुप जारी छ। कर्मचारीतर्फ, एक जना लेखा अधिकृत त्रिविले खटाएको छ। बाँकी दरवन्दीका लागि पनि दौडधुप जारी छ। विभागमा हाल अनुसन्धन कमिटीको गठन गरिएको छ।

यसले विस्तारै अनुसन्धन र प्रकाशनजस्ता कामहरू सुरु गर्नेछ। २०५८ सालदेखि स्तातकोत्तर सुरु गरिएको यस विभागमा त्यसभन्दा माथि पढ्न चाहनेहरूका लागि अवसर थिएन र त्यसको विभागलाई दवाव थियो।

विभागीय प्रमुखका रूपमा मैले धेरै दवाव सहें, केही गर्नु मेरो कर्तव्य थियो। त्यसैले २०७४ सालमा एमफिल कोर्सका लागि विश्वविद्यालयले अनुमति दियो र सञ्चालन हुनथाल्यो। सँगसँंगै पाठ्यक्रममा आधारिक विद्यावारिधि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले नै शुरू गर्यो।

पत्रकारिता केन्द्रीय विभागको शैक्षिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

पत्रकारिता विभागमा स्नातकत्तोर र एमफिलको पढाइ सञ्चालन भइरहेको छ। स्नातकोत्तरको हरेक सेमेस्टरमा ४० देखि ६० विद्यार्थी छन् र कुल एक सय ८६ जना आजको मितिमा अध्ययनरत छन्। यो अन्तरवार्ता दिइरहँदा नयाँ भर्नाका लागि एक सय २१ जनाको निवेदन आएको छ।

तर पूर्वाधारको हिसावले निकै अपुग छ। आरआर क्यम्पससंँगको सहमतिमा कक्षाकोठाहरू लिएर सीमित स्रोत–साधनमा सञ्चालित छ। यसरी हेर्दा हामी प्रारम्भिक अवस्थाबाट अघिबढ्दैछौं।

धेरै पूर्वाधार र आधारभूत वस्तु र सेवा पुर्याने काममा दौडधुप जारी छ तर पनि शिक्षक–विद्यार्थी र कर्मचारीको अथक लगन र सर्मणले एमफिल तेस्रो समूहले पनि पढाइ पूरा गर्दैछ।

अहिले सरकारले पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका लागि जग्गा र भवन निर्माण गर्न बजेट छुट्याएको छ। भवन र आवश्यक स्रोत–साधन जुटाएपछि बल्ल विभावको परिकल्पना अनुसारको गुणस्तरीय शिक्षा दिन सहज हुनेछ।

यस पत्रकारिता विभागबाट उत्पादित विद्यार्थीले बाहिर कार्यक्षेत्रमा कस्तो भूमिका र गतिविधि गरेको पाउनुभएको छ ?

यहाँबाट अध्ययन गरेर जाने धेरै विद्यार्थी आज मिडियाको नेतृत्वसम्म पनि पुग्नसकेका छन् र व्यावसायिक ढंगले काम गर्दै नेपाली पत्रकारिताको इतिहास सबल बनाउन भूमिका खेलिरहेका छन्। यो हाम्रालागि गौरवको विषय पनि हो।

त्यसैगरी प्राध्यापन क्षेत्रमा पनि मिडिया क्षेत्रमा अनुभव बटुलेका साथीहरू छन् जसले पत्रकारिता र आम सञ्चार विषयलाई गुणस्तरीय बनाउन सघाइरहेका छन्। यो सम्पूर्ण सफलताको श्रेय त्रिभुवन विश्वविद्यालय र यसमा संलग्न प्राध्यापनरत साथीहरू तथा विद्यार्थीमा जान्छ।

तपाईंको चार वर्षे कार्यकाल त सकियो नि, तर तपाईं पुनः विभागीय प्रमुख हुनुपर्छ भनेर लागिरहनुभएको छ ?

म त्यसरी लागेको छैन। यसका लागि त्रिविको आफ्नो प्रक्रिया छ। त्यही प्रक्रियाअनुसार हुनसक्छ, मलाई अर्काे व्यवस्था नभएसम्मको लागि विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ।

केही वर्षअघि नै तपाईं पिएचडी गर्न भर्ना हुनुभएको थियो, यो कहाँ पुग्यो ?

सहप्राध्यापक हुदाँ पिएचडीको प्रक्रिया अघि बढाएको थिएँ। यसैबीच त्रिविले प्राध्यापक पदका लागि विज्ञापन खुलायो। मैले निवेदन दिएँ र छानिएँ। त्यसपछि विभागीय प्रमुखको जिम्मेवारी पनि पाएँ।

विभाग भित्रका विभिन्न समस्याको समाधान मेरालागि चुनौती बनेर आए, मैले चाहँदाचाहँदै पनि पिएडी कोर्ष अघि बढाउन नसकेकै हो। मेरो प्राथमिकतामा विभागको सुदृढीकरण परेका कारण मैले आफ्नो व्यक्तिगत कति चाहनाहरू त्याग गर्नुपर्ने अवस्था आयो।

पिएचडीमा भर्ना भएकाले पनि तपाईंलाई प्राध्यापक बनाइयो, तर तपाईंले पिएचडी नगरेकाले तपाईंको प्राध्यापक पद नै उधारो भयो भन्ने टिप्पणी छ नि ?

यसो होइन, प्राध्यापक हुन पिएचडी गर्नैपर्छ भन्ने छैन, तर पिएचडी भएका व्यक्तिले निर्धारित अंक प्राप्त गर्दछन्, मजस्ता पिएचडी नगर्नेलाई त्यो नम्बर प्राप्त हुँदैन, मैले पनि पाएको होइन।

प्राध्यापक भएर पनि अनुसन्धानात्मक आलेखहरू तयार पार्न नसकेको भनेर गरिएको आलोचनाप्रति तपाईंको जबाफ के छ ?

कत्ति पनि नभएको होइन। तर मैले चाहेको परिमाणमा पनि शोधमूल आलेख तयार पार्न नसकेको चाहिं सत्य हो। किनभने विभागीय प्रमुखको जिम्मेवारी र प्रशासनिक तथा शैक्षिक कार्यक्रममा बढी व्यस्त हुनुपरेकाले केही कमी महसुस भएको छ।

प्राध्यापक बन्न आधार मानिएका तपाईंका पुस्तक अनुसन्धानात्मक भएनन्, त्यसमा गुणात्मकता रहेन, एक संस्थालाई त तपाईंले कितावको समीक्षा गर्न पनि रोक्नुभयो भनिएको छ नि ?

पुस्तक शैक्षिक सामग्रीका रूपमा तयार पारिएका हुन्। समीक्षाका लागि कुनै संस्थालाई मैले रोकेको छैन।

अन्तर्राष्ट्रिय प्रचलन विपरीत त्रिविको पत्रकारिता विभागलाई अन्तरसांकायिक बनाउनुहुन्न भनेर तपाईंले अडान राख्नुको कारण के हो ?

पत्रकारिता स्नातकोत्तर तहको पाठ्यक्रम म प्रमुख हुनुअघि नै बनेको हो। यसलाई इन्टरडिसिप्लिनरी बनाउने वा नबनाउने भन्ने विषय विभागीय प्रमुखको मात्र हुने होइन। यसमा त्रिविको ध्यानाकर्षण भएको हुनसक्छ। त्यसैले एमफिलमा केही हदसम्म यसको प्रयोग गर्न त्रिविले थालेको छ।

तपाईं स्वयम् स्नातकोत्तरमा पत्रकारिता नपढेको व्यक्ति प्राध्यापक हुनुहुन्छ, तर किन त्रिविमा स्नातकोत्तर पढ्न चाहिं पत्रकारितामा स्नातक गरेकै हुनुपर्छ भनेर अडान लिनुहुन्छ ?

यो सबै मैले गर्ने होइन, त्रिविको नियम र कार्यविधिअनुसार हुने कुरा हो।

तपाईंलाई त्रिवि पत्रकारिता विभागमा सिन्डिकेट चलाएको आरोप छ। अहिले त्रिवि सेवा आयोगले पत्रकारिताको उपप्राध्यापकको परीक्षामा आवेदकले स्नातक तहमा पत्रकारिता नपढेको भए स्नातकोत्तर वा विद्यावारिधिमा पत्रकारिता पढेको भएपनि आवेदन गर्न नपाउने व्यवस्था गरेको छ। यो बाहिरी प्रतिस्पद्र्धा रोक्न जानाजान लादिएको सिन्डिगेट होइन ?

यसबारेमा मेरो कुनै हात छैन।

तपाईं पूर्वाधारको आँकलनविना नै पिएचडी कोर्स सुरु गरेर गल्ती गरेको स्वीकार गर्नुहुन्छ ?

यो पत्रकारिता विभागले ल्याएको कार्यक्रम होइन, मानविकी तथा सामाजिक शास्त्र डीन कार्यालयले ल्याएको कार्यक्रम हो। केही सोचेरै ल्याएको हुनसक्छ।

पत्रकारितामा पिएचडी कार्यक्रम मुख्य सुपरभाइजर र सुपरभाइजरको अभावमा एक व्याचभन्दा अरू हुन नसक्ने भयो, होइन ?

यो प्रश्न पनि डीन कार्यालयसँग नै सम्बन्धित छ।

उपप्राध्यापक देवराज अर्याललगायत जो पत्रकारिताइतर विषयका हुनुहुन्छ, तपाईंले ल्याउनुभयो र उहाँलाई खुसुक्क अध्ययन बिदा मिलाएर चीन पनि पठाउनुभयो जसले कार्यक्रम बीचमै छोडेर फर्केका कारण चिनियाहरू पुनः अर्को अवसर नदिने अवस्थामा छन् भन्ने आरोपमा तपाईंको के भनाइ छ ?

उहाँलाई मैले ल्याएको होइन, उहाँ त्रिवि सेवा पास गरेर त्रिविले पठाएरै आउनुभएको हो। मैले बुझेसम्म उहाँले पत्रकारिता पनि पढ्नुभएको छ। उहाँलाई त्रिविले नै चीन पठाएको हो, मैले होइन।

सिनियर साथीहरू हुँदाहुँदै मनपरेको व्यक्ति भएकै कारण अर्याललाई नै निमित्त विभागीय प्रमुख बनाउनुभयो र यसको जानकारी अरू प्राध्यापक साथीहरूलाई दिनु पनि भएन भनिन्छ नि ?

विभागका सदस्यहरूमध्ये जसले बढी समय विभागका लागि दिनसक्छ उसलाई निमित्त दिन सकिन्छ।

उपत्यकामा स्नातक–स्नातकोत्तर स्तरमा पढाइ हुने कलेजमा भाइभा लिन अरूलाई पठाए हुनेमा पारिश्रमिकका लोभले आफै जानुहुन्छ, हो ?

परीक्षामा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले खटाउँछ। त्यस कार्यालयले परीक्षामा पठाएको सन्दर्भमा सम्बन्धित कलेजबाटै पारिश्रमिक लिनेगरी पठाउने भएकोले मलाई खटाइएको अवस्थामा त्रिविको कर्मचारीका हैसियतले म कसरी नाइँ भन्नसक्छु।

अब सन्दर्भ रह्यो नम्बरको, परीक्षामा सम्मिलित गराउने विद्यार्थीको सन्दर्भमा स्वयं कलेज र आन्तरिक परीक्षककै जिम्मेवारी रहने भएकोले बाह्य परीक्षकले मात्र नम्बर थपेर सम्भव हुने विषय हुदैन।

तपाईंलाई भाइभा लिइदिन बोलाउने केही कलेजका कर्मचारीले तपाईं भाइभा लिनै नगएको तर पारिश्रमिक बुझाउन भने मार्कसिटसहित तपाईंकै अफिसमा कर्मचारी आएको गुनोसो गरेछ नि ?

कलेजको संयोजन नभई परीक्षा हुने सम्भावना हुँदैन। परीक्षाको नियमभन्दा बाहिर पारिश्रमिक लिने कुरै भएन। यी मनगणन्ते आरोप मात्र हुन्।

त्रिवि पत्रकारिता स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा पहिला २.७ जीपीए पासमार्क भन्नुभएछ, पछि ३ जीपीए भन्नुभएछ, पास भएँ भनेका विद्यार्थी फेल घोषित भएछन्, दोहोर्याएर परीक्षा दिनुपरेछ ?

यो त्रिवि सेमेस्टर कार्यविधिअन्तरगतको कुरा हो। विभागको निर्णयले हुने होइन।

तपाईंले सप्तगण्डकी क्याम्पस, भरतपुर पठाएका उपप्राध्यापकसँगै भाइभाका लागि जाने एक व्यक्तिले एक छात्रालाई फेल नम्बर १७ लाई पास बनाइदिन ४० हजार रुपियाँ घूस मागेको घटना बाहिर आएपछि तपाईंले कुनै छानबिन गर्नुभयो ?

मैले कसैलाई भाइभामा पठाउने होइन, यसरी पठाउने काम त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुको हो। बल्खुले अराएअनुसार काम गर्ने भएको हुनाले यो ममाथि लगाइएको आरोप मात्र हो।

सेमेस्टर सिस्टममा ४० विद्यार्थी कक्षामा हुनुपर्नेमा, एक सय २० सम्म भर्ना लिनुहुन्छ र एउटै कक्षामा खाद्नुहुन्छ, ?

स्रोत–साधनका सम्बन्धमा मैले अडाडि नै जबाफ दिइसकें।

पिएचडीसम्म पढाइ हुने सिडीजेएमसीको आफ्नो पुस्तकालयसम्म छैन, इन्टरनेट पनि छैन, अपडेट नै नभएका कोर्स पढाइ हुन्छ भन्ने टिप्पणीमा तपाईं के भन्नुहुन्छ ?

हामीसँग स्थानाभावले गर्दा विद्यार्थीलाई पुस्तकालय र खासगरी वाचनालय दिन नसकेकोमा हामी दुखी छौं। न्यूनतम स्रोत–साधनका बाबजुद पनि कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। तर, सबै आवश्यकता बल्खुमा आफ्नै भवन बनेपछि पूरा हुने विश्वास लिएको छांै।

विद्यार्थीलाई भनेको मानेनौ भने नम्बर घटाइदिन्छु, फेल गराइदिन्छु भन्नेगर्नुहुन्छ हो ?

विद्यार्थीलाई राम्रो अंकका साथ उत्तीर्ण गराउन हरदम प्रयास रहने विभागका कुनै पनि सदस्यबाट यस्तो धम्की दिने काम कल्पनासम्म गर्न सकिन्न।

सेमेस्टर प्रणालीमा नियमित हाजिर हुने विद्यार्थीलाई प्रतिविषय ५ अंक दिने अधिकार सम्बन्धित विषय शिक्षकको हुन्छ। यसको प्रक्रियाबारे जानकारी दिनु मात्र धम्की हुन सक्तैन।

पत्रकारिता बिए तेस्रो वर्षका एक विद्यार्थीको फोटोग्राफी विषयमा १ नम्बर घटाएर फेलै गराइदिनुभयो भन्ने आलोचना छ ?

मैले त्यस्तो काम गर्ने कुरै आउँदैन, यस बारेमा मलाई कुनै जानकारी नै छैन। कुनै परीक्षासम्बन्धी नतिजामा चित्त नबुझेमा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले निवेदन लिने व्यवस्था गरेको छ।

तपाईं विभागीय प्रमुख भएको व्यक्ति अर्को समान निकाय नेपाल खुला विश्व विद्यायको विषय समितिको अध्यक्ष बस्नु नहुने, स्वार्थ बाझ्ने अवस्था आउने भन्ने टिप्पणी छ नि ?

मलाई विज्ञ टोलीमा राखेको हो, त्यो कुनै तलवी जागिर थिएन।

पत्रकारिता पिएचडी शोधका लागि तपाईं सुपरभाइजर बन्न चाहने तर डीन कार्यालय तपाईं आफै पीएचडी नभएकाले त्यो जिम्मेवारी लिन नसक्ने ठान्ने कारणले विवाद सिर्जना भएको हो ? “म सुपरभाइजर हुन नपाए २२ पीएचडी स्कलरको भविष्य जेसुकै होस्” भनेको हो ?

कदापि होइन। सुपरभाइजर कसलाई बनाउने भन्ने क्षेत्राधिकार डीन कार्यालयको हो, विभागीय प्रमुखले चाहेर हुने काम यो होइन।

अन्य विषयबाट आएर सोझै पत्रकारितामा स्नातकोत्तर गरेका विद्यार्थीलाई त्रिविले समकक्षता दिदैन भनेर अडान राख्दैआउनुभएको हो ?

मैले अडान राख्ने कुरै हुँदैन, यो त्रिविको नियम र प्रक्रियाअनुसार हुने कार्य हो।

पत्रकारिताको उपप्राध्यापक पदका लागि निवेदन दिन आएकी एक योग्य महिलाको फाराम अन्तिम अवस्थामा फिर्ता गरिदिनुभयो रे ?

यो मेरो कार्यक्षेत्र होइन। मैले निवेदन लिने नलिने भन्ने कुरै आउँदैन।

विभागीय प्रमुखको एक कार्यकाल पूरा गरेर पनि पुनः तपाईं यही पदमा दोहोरिन चाहनुको कारण बल्खुमा बन्ने विभागको केन्द्रीय भवनको निर्माणका लागि छुट्याइएको २५ करोडको भान्से बन्ने लोभका कारण हो भन्ने आरोप छ नि ?

यसका लागि भवन निर्माण समिति छ, निर्माण प्रक्रिया र विधि छ। कामको विधिसम्मत अनुगमन र लेखापरीक्षण हुन्छ। यसरी कुनै व्यक्तिलाई आधारहीन आरोप लगाउनु पूर्वाग्रह मात्र हो।

नेपालमा पत्रकारितामै पिएचडी गरेका केही व्यक्तिहरू हुदाहुदै पनि उनीहरूलाई ल्याइयो भने तपाईको पर्दाफास हुन्छ भनेर नल्याएको भनिन्छ नि, यसमा केही भन्नुहुन्छ ?

विभागमा कोही सेवा गर्न आउन चाहन्छ भने त्रिविले प्रश्रय दिन्छ नै, त्यसमा त्रिविको खास विधि र प्रक्रिया छ। त्यो पूरा गर्नुपर्छ। मैले व्यक्तिगत रूपमा कसैलाई रोक्ने भन्ने कुरै आउँदैन। यो सबै आरोप मात्र हो।

अहिलेको जमानामा विदेशमा रहेको प्राध्यपकहरूबाट पनि थेसिस सुपरभाइज गराउने वा तोक्न सकिने प्रावधान हुदाहुदै पनि तपार्इंको कलेजमा इन्टरनेटको सुविधा पनि राख्न नसक्ने वा यसको महत्व नै नदिने भन्ने आरोप छ। यसमा के भन्नुहुन्छ?

पिएचडीसम्बन्धी कार्यक्रम हाल डिन कार्यालयअन्तरगत रहेकोले सुपरभाइजर तोक्नेसन्दर्भको व्यवस्था पनि उसकै जिम्माको हुरा हो। जहाँसम्म इन्टरनेट सुविधाको कुरा छ, पत्रकारिता विभागमा यो उपलव्ध छ। विभागको वेबसाइट निर्माण तथा सञ्चालनको प्रक्रिया सुरु हुने तयारीका साथ काम भैरहेको छ।

निष्कर्षमा केही भन्नु छ कि ?

पत्रकारिता विभागको समुन्नति मेरो लक्ष्य हो र कर्तव्य पनि। मैले कुनै कसर बाँकी नराखी आफ्नो क्षमताले भ्याससम्म सेवा गरेको छु। जसले पनि निष्पक्ष ढंगले मेरा कामको समीक्षा गरेहुन्छ। तर, मेरो आग्रह छ, पूर्वाग्रह राखेर कसैले नहेरिदियून्।

पत्रकारिता विभागको गरिमा बढे मात्र यसबाट उत्पादित हरेक विद्यार्थीको प्रतिष्ठा बढ्छ भन्ने कुरामा म सचेत छु, म पत्रकारिता विभागको समुन्नतिका लागि गाली खान तयार छु। साथै, व्यक्तिगत स्तरमा उत्रिएर आरोप लगाउनेहरूलाई पनि यस विषयमा सचेत रहन आग्रह गर्दछु।

किनभने पत्रकारिता र आम सञ्चारका क्षेत्रमा केही दशकअघि जस्तो अभ्यासले मात्र काम गर्ने अवस्था अहिले छैन, शैक्षिक योग्यता हासिल गरेर मात्र यस क्षेत्रमा प्रवेश गर्ने र व्यावसायिक ढंगले काम गर्दै आफ्नो करियर निर्माण गर्ने बेला छ।

त्यसैले पनि यस विभागलाई आक्षेप लगाउनुअघि भित्र–बाहिर रहेका सबै महानुभावले गम्भीर बनिदिनु आवश्यक छ। अन्त्यमा, संयोगले यही विभागले तीन वर्षअघि सुरु गरेको दर्शनाचार्य (एमफिल) प्रथम समूहका विद्यार्थीका रूपमा तपाईंहरू दुवैले सहभागिता जनाउनुभयो, समुत्तीर्ण पनि हुनुभयो तर निकै अभावका बीच कोर्स पूरा गर्नुभयो। आशा गरौं, पछि आउने पत्रकारिताका विद्यार्थीले यति धेरै दुख गर्नुपर्दैन।

 

प्रतिक्रिया दिनुहोस्