दूरसञ्चार प्रविधिका सबल र दुर्बल पक्ष



ढुनबहादुर बुढाथोकी

अहिले दूरसञ्चार क्षेत्रले निकै छलाङ मारेको छ। आकाशवाणी तथा टेलिग्राफ इतिहास भइसकेका छन्। एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापित गरिसकेको छ। वायरलाइनको विकल्कमा वायरलेस प्रविधि विकास भइरहेको छ।

केबीपीएस विकल्पमा एमबीपीएस गतिको इन्टनेट माग बढ्दो छ। वानजी, टुजी, सेकेन्ड एन्ड हाफजी विस्थापित भई थ्रीजी तथा फोरजीको फक्राउँदो मात्र छैन यसै वर्ष अर्थात् २०२० मै पाँचौं पुस्ताको इन्टरनेट पस्कने तर्खर गरिँदै छ।

एन्ड्रोइड प्रविधिको कारण सबथोक अटोमेसन भएको छ। चीनमा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निश्चित लेन प्रयोग गर्नुपर्ने प्रावधान हुनु मोबाइलप्रतिको क्रेज नै हो । आइप्याड प्रयोग गर्न किड्नीसमेत बिक्री गरेको नजिर हुनु क्रेजको अर्को दृष्टान्त हो। जुन आफैंमा दूरसञ्चार प्रविधिको एउटा आयाम नै हो। यस हिसाबले दूरसञ्चार प्रविधिले सबल र दुर्बल दुवै पक्षको जन्म दिएको छ।

त्यसो त विश्वमा टेलिफोनको आविष्कार सन् १८७६ मा भएको हो। दूरसञ्चार क्षेत्रको १ सय ४३ बर्से कालखण्डमध्ये पछिल्लो ३० वर्षमा अघिल्लो १ सय १३ बर्से कालखण्डभन्दा कैयौं गुणा तरक्की भएको छ।

सन् २०१९ को अन्त्यमा विश्वको जनसंख्या ७ अर्ब ७५ करोड पुग्दै गर्दा करिब ८ अर्ब ३० करोड सेलुलर मोबाइल, ९३ करोड ९० हजार फिक्स टेलिफोन र ४ अर्ब १३ करोडको इन्टरेनट सेवा वितरण भएको छ।

जहाँ घनत्व मोबाइलको १०९ प्रतिशत, फिक्स टेलिफोनको १२.१ प्रतिशत र इन्टरनेटको ५३.६ प्रतिशत पुगेको छ। दूरसञ्चार प्रविधिका कारण भित्रिएको कम्ती ठूलो उपलब्धि होइन, यो।

सेवाप्रदायक संस्थाहरू पहिलो, दोस्रो, तेस्रो, चौथो हुँदै पाँचौं पुस्ताको इन्टरनेट पस्कन हौसिएका छन्। पछिल्लो पुस्ताको सेवामा लाभको मात्र अधिक हुने हुँदा सेवाप्रदायक त्यसतर्फ केन्द्रीभूत भएका हुन्।

आममानिसले आयको २–३ प्रतिशत दूरसञ्चार क्षेत्रमा खर्चिने गरेको आईटीयुको प्रतिवेदनले देखाएको छ। विश्व जीडीपीमा दूरसञ्चार क्षेत्रको योगदान सन् २०१५ मा १.५ ट्रिलियन अमेरिकी डलर रहेकोमा २०१९ मा २.४० ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान छ। दूरसञ्चार प्रविधि सिर्जित आर्थिक उपादान हो, यो।

यसै पनि २१ औं शताब्दी सूचना प्रविधिको युग हो। साँच्चिकै भन्नुपर्दा दूरसञ्चार प्रविधि हाम्रो जीवनशैली बनिसकेको छ। अहिले वयष्कले मात्र के, बच्चाबच्चीसमेत दूरसञ्चार प्रविधिबाट शायदै अछूतो छन्। यसैले भनिन्छ, ‘ए बेबी इज बर्न डिजिटाइज।’ वास्तवमै आममानिसको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जीवनको प्राणवायुजस्तै बनेको छ वर्तमान अवस्थामा दूरसञ्चार क्षेत्र।

दूरसञ्चार क्षेत्रमा लगानी गर्ने कैयौं लगानीकर्ता अहिले विश्व अर्बपति सूचीमा दर्ज भइसकेका छन्। मेक्सिकन नागरिक कार्लोस स्लीमहेलु, अमेरिकन नागरिक मार्क जुगरबर्ग, भारतीय नागरिक अनिल अम्बानी दूरसञ्चार क्षेत्रमा लगानी गरी अर्बपति बनेका हुन्।

त्यस्तै औंलामा गर्न सकिने दूरसञ्चार क्षेत्रका उद्योगहरूले सिंगो दूरसञ्चार क्षेत्रलाई हाँकिरहेका छन्। जहाँ अमेरिकाको एटी एन्ड टी, चीनको जेटटीई, हुवावे, भारतको रिलायन्स, एअरटेल, हङकङको टेलिस्टार, कतारको कतार टेलिकम, श्रीलंकाको श्रीलंकन टेलिकम, कोरियाको एलटीडीकन, पाकिस्तानको पाकिस्तान टेलिकम, मलेसियाको डिजी, सिलिकम, बेलायतको बीआईटी, ताइवानको चंगह्वा, अस्ट्रेलियाको टेलिस्ट्रा, सिंगापुरको सिंगटेल, जापानको निप्पन कम्पनीले दूरसञ्चार क्षेत्रको नेतृत्व गरेका छन्।

सेलुलर मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याबलेट, नोटबुकको प्रयोग बढ्दो छ। मौसम जान्न, भाषा परिवर्तन गर्न, मिति जानकारी लिन, कुनै स्थान पत्ता लगाउन, कुनै चिजको अर्थ जान्न, कुनै चिज प्रयोग गर्ने तरिका पहिल्याउन, विश्वका ताजाताजा जानकारीहरू लिन एन्ड्रोइड प्रविधि सहयोगी बन्दो छ। एन्ड्रोइड प्रविधिको कारण सबथोक अटोमेसन भएको छ।

चीनमा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निश्चित लेन प्रयोग गर्नुपर्ने प्रावधान हुनु मोबाइलप्रतिको क्रेज नै होे। आइप्याड प्रयोग गर्न किड्नीसमेत बिक्री गरेको नजिर हुनु क्रेजको अर्को दृष्टान्त हो। जुन आफैंमा दूरसञ्चार प्रविधिको एउटा आयाम नै हो। यस हिसाबले दूरसञ्चार प्रविधिले सबल र दुर्बल दुवै पक्षको जन्म दिएको छ। जुन निम्नबमोजिम रहेको छ।

दुर्बल पाटाहरू

तथ्याङ्कीय विभेद ः अहिले विश्वमा मोबाइल तथा फिक्स टेलिफोनको समष्टिगत घनत्व १ सय २० प्रतिशत पुगेको छ। यसको मूल कारण विकसित मुलुकमा एक व्यक्तिले एकभन्दा बढी दूरसञ्चार सेवा उपभोग गर्नु हो। जहाँ अफ्रिका तथा एसियाका कैयौं मानिसले दूरसञ्चार सेवाको मुखसम्म देख्न पाएका छैनन्।

यहाँसम्म कि विकसित मुलुकमा फिक्स टेलिघनत्व ३५.६ प्रतिशत हुँदा अति कम विकसित मुलुकमा १ प्रतिशतभन्दा कम छ। सेलुलर मोबाइल घनत्व विकसित मुलुकमा १ सय २९ प्रतिशत हुँदा अति कम विकसित मुलुकमा ७५ प्रतिशतमै सीमित छ। इन्टरनेट उपभोगको अवस्था झनै नाजुक छ। विश्वका ४६ प्रतिशत अर्थात् ३ अर्ब ५० करोड मानिस इन्टरनेट सेवाबाट विमुख छन्।

सक्रिय उपभोक्ता ः मोबाइल सेवा लिनु (सब्सक्राइबर) र सक्रिय (एक्टिभ) अवस्थामा रहनु फरक–फरक कुराहरू हुन्। लिएको सेवा ठोसरूपमा उपयोग गरेको हुँदैन वा गरिँदैन भने त्यो सेवा लिनुको कुनै अर्थ रहँदैन।

हाल मोबाइल घनत्व १ सय ९ प्रतिशत पुुगिरहँदा सक्रिय प्रयोगकर्ता (एक्टिभ सब्सक्राइबर) ८३ प्रतिशत मात्र रहेको छ। यसको अर्थ हाल विश्वका ६ लाख ८८ हजार मानिसले मात्र ठेटरूपमा मोबाइल ब्रोडब्यान्ड उपयोग गरिरहेका छन् भन्ने लाग्छ।

इन्टरनेट गति ः इन्टरनेट सेवामा उपभोक्ताको लागि यसको गतिले विशेष अर्थ राख्छ। तथापि, युरोप, अमेरिका र पूर्वी एसियाली मुलुकमा इन्टरनेटको गति उच्च भए तापनि अफ्रिका तथा एसियाली मुलुकहरू उपभोक्ता अड्की–अड्की चल्ने इन्टरनेटबाट आक्रान्त छन्। ब्रोडब्यान्ड इन्टरनेटको बेन्चमार्क अमेरिकामा २५ एबीपीएस, दक्षिण कोरियामा २९ एबीपीएस हुँदा नेपाल तथा भारतको ५१५ केबीपीएस मात्र हुनु यसैका सबुत हो।

तथ्याङ्यीय दास ः दूरसञ्चार प्रविधिमा भएको विकासले बाबुनानी कम्प्युटर खेलमा एकोहोरिँदा पढाइमा उनीहरू बिग्रँदा छन्। सामाजिक सञ्जालका कारण नयाँ पुस्ता एकलकाटे बनिरहेका छन्। भर्चुल प्लेसमा सबथोक पाउन सकिन्छ भन्ने सोचका कारण नयाँ पिँढीमा सिर्जनशीलता मर्दो छ। नयाँ पुस्ताद्वारा साइबर अपराधको हरकत बढ्दो छ।

किशोरकिशोरीमा प्रोनोग्राफीको लत लाग्दो छ। थिङ्क ट्यांकसमेत तथ्याङ्कीय नोकर (डिजिटल स्लेभ) बनिरहेका छन्। आज बाबु–छोराछोेरी, श्रीमान्–श्रमतीबीचको सम्बन्ध, रसरंग, भावना तथा बोलचाल विशृङ्खलित हुँदो छ। स्मरण रहोस्, अहिले फेसबुकमा मात्र २ अर्ब मानिस अनुबन्धित छन्।

सबल पाटाहरू

कृत्रिम बौद्धिकता : दूरसञ्चार प्रविधिमा भएको विकासका कारण ई–एजुकेसन, ई–बैंकिङ, ई–सपिङ, डिस्ट्यान्ट लर्निङ, भिडियो कन्फ्रेन्सिङ, टेलिमेडिसिन, अनलाइन सपिङ, भर्चुल अफिस सम्भव भएको छ।

उपभोक्तालाई सञ्चारको उपयुक्त माध्यम छनौटको अवसर प्राप्त भएको छ। समय, पैसा, मसी, कागज र श्रमको मनग्य बचत भएको छ। सकारात्मक प्रभाव कार्यको गुणवत्ता र उत्पादकत्वमा पनि परेको छ।

एन्ड्रोइड टेक्नोलोजीको विकासले आर्टिफिसियल इन्टेजेन्सी, भर्चुल पर्चेज, भर्चुअल ट्राभल, गुगल क्लास, गुगल भिडियो सम्भव हो। ऊर्जा कम खपत गर्ने प्रविधि विकास हुँदा विश्वव्यापी उष्णता कम गर्न मद्दत मिलेको हो।

क्लाउड सम्पत्ति : दूरसञ्चार प्रविधिमा भएको विकासका कारण ब्रोडब्यान्ड सेवा उपलब्ध भएको हो। ब्रोडब्यान्ड सेवा उपयभोग गर्नु भनेको डाटाको सम्बन्ध क्लाउडसँग हुनु हो। तथ्यांक सुरक्षा गर्न क्लाउड सबैभन्दा सुरक्षित र भरपर्दो स्थान साबित भएको छ।

क्लाउडको कारण पेन ड्राइभ वा हार्डडिक्सको आवश्यक नपर्ने भएको छ। क्लाउडमा सुरक्षित तथ्यांक इन्टरनेट पहुँच भएको अवस्थामा जहाँसुकै र जहिलेसुकै रिट्रब गर्न सकिने सुविधा उपलब्ध छ।

निःशुल्क एप्लिकेसन :  तुजुक गर्नुपर्ने कुराचाहिँ फेसबुकमा आबद्धता जनाउन, युट्युबमा भिडियो हेर्न, भाइबर, इमो वा मेसेन्जरमार्फत कल गर्न, विकिपिडियामार्फत कुनै कुराको जानकारी लिन, गुगलमार्फत चाहेको कुरा खोज गर्न बेग्लै शुल्क चुकाउनुपर्दैन। इन्टरनेटको महसुल तिरे पुग्छ।

जबकि एप्लिकेसनको आफ्नै लागत हुन्छ। महत्वपूर्ण कुराचाहिँ इन्टरनेटबाट प्राप्त हने सूचना चुकाइने महसुलको तुलनामा कैयौं गुणा उपयोगी हुने गरेको छ।

स्मार्ट विश्व : दूरसञ्चार प्रविधिले कठिनभन्दा कठिन कार्यलाई अटोनेमेसन/रोबोटाइजेसन गरेको छ। दूरसञ्चार प्रविधिका कारण अहिले विश्व संस्कृति दिनानुदिन स्मार्ट बनिरहेको छ। स्मार्ट सिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट इनर्जी, स्मार्ट ड्राइभिङ हाइब्रिड कार त्यसका उदारहण हुन्। दूरसञ्चार प्रविधिमा भएको विकासले रोजगारीका नवीन अवसरहरू पैदा भएका हुन्। यसैले दूरसञ्चार क्षेत्रलाई अबको आर्थिक भविष्य ठानिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्