आयात प्रतिस्थापनका लागि अर्गानिक खेतीलाई अगाडी बढाउन जोड



यमलाल भुसाल, बुटवल ।

अर्गानिक तरकारी खेतीलाई विशेष प्राथमिकता दिएर तरकारी आयातलाई न्युनीकरण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उन्नत जातको खेतीले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्ने भएकाले अर्गानिक तरकारी खेती गर्नु पर्ने र आयातलाई न्युनीकरण गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको दोस्रो औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवका सन्दर्भमा शनिबार मेला सचिवालयमा आयोजित “तिलोत्तमामा अर्गानिक तरकारी खेतीका संभावना र चुनौती” विषयक गोष्ठीमा सहभागि सरोकारवालाहरुले विषादीरहित तरकारी उत्पादनमा जोड दिएका हुन् ।

कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले उद्योग व्यवसायसँगै संघले कृषि र पर्यटनलाई पनि विशेष प्राथमिकक्ता दिएर सोही अनुसारका कार्यक्रम अगाडी बढाएको वताउनु भयो । उहांले अर्गानिक खेतीलाई अगाडी बढाउन यस क्षेत्रका किसानहरुलाई प्रोत्साहन गर्ने र उनीहरुले उत्पादन गरेका तरकारीको वजारीकरणमा संघले सहयोग गर्ने नीति संघले लिएको बताउनु भयो । विषादीको बढ्दो प्रयोगलाई न्युनीकरण गर्दै नगरलाई अर्गानिक तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन सकिने प्रशस्त संभावना रहेको उहांले बताउनु भयो ।

अहिले बजारमा दैनिक उपभोग्य तरकारीको माग स्वदेशी उत्पादनले नपुगेर भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकोले आयात प्रतिस्थापनका लागि पनि अर्गानिक खेतीलाई अगाडी बढाउन आवश्यक रहेको उहांले बताउनु भयो ।

कृषि जेटीए अमृत श्रेष्ठले अर्गानिक खेतीलाई चाहिने कच्चा पदार्थ नेपालमै रहेकाले बाहिरबाट आयात गर्नु नपर्ने भन्दै माटोको सुरक्षा, जैविक मलको प्रयोग लगायतका कुरातर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममाा प्राङ्गारिक कृषिः संभावना र चुनौती विषयक अवधारणा प्रस्तुत गर्दै पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक प्रकाश घिमिरेले ढुंगे युगदेखि नै कृषि खेती सुरु भएको भन्दै सामाजिक, आर्थिक, वातावरणीय पक्षका साथै खाद्य सुरक्षाको लागि पनि अर्गानिक उत्पादन जरुरी रहेको उल्लेख गर्नुभयो । कृषि, पशु र वन एक अर्काका परिपुरक भएकाले सदावहार र दीगो कृषिका लागि सबै मिलेर जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती गर्न सके यसले अर्गानिक उत्पादन बढाउन सकिने उपप्रध्यापक घिमिरेले बताउनु भयो ।

तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख डोमलाल भुसालले नगरपालिकाले तरकारी र मकै पकेट क्षेत्र घोषणा गरेर किसानलाई अर्गानिक खेतीतर्फ प्रोत्साहन गरेको र विषादीको बढ्दो प्रयोगलाई न्युनीकरण गर्ने नीति लिएको वताउनु भयो । कार्यक्रममा राममणि क्याम्पसका प्राध्यापक बाबुराम भण्डारीले नगरपालिकाले बनाउन लागेको स्थानीय पाठ्यक्रममा अर्गानिक कृषि र सचेतनाका कुरालाई समेट्न आग्रह गर्नुभयो ।

तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार नवराज श्रेष्ठले विषादीयुक्तm खानेकुराले रोगको संक्रमण बढेको भन्दै अर्गानिक खेती र यसको प्रयोगकालागि स्थानीय तहले जनचेतना अभिबृद्धिलगायतका कार्यक्रममा विशेष भूमिका खेल्नुपर्ने वताउनु भयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, गोष्ठी अन्तक्र्रिया उपसमितिका संयोजक एवं संघका उद्योग उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महासचिव कमल कंडेललगायतले पनि अर्गानिक खेतीका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्