काठमाडौंमा मासुको मूल्य आकाशियो, चिकेन होलिडेले मूल्य वृद्धि भएको दाबी



न्युज अफ नेपाल, काठमाडौं ।

गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ ।

चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ ।

१० दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए ।

कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो ।

व्यवसायीले जुन उद्देश्यका लागि चिकेन होलिडे मनाएका थिए अहिले त्यो पूरा भएको छ । एक महिना अवधिमा कुखुराको मासुको मूल्य प्रतिकिलो १६० रुपैयाँले बढेर ३७० रुपैयाँ कायम भएको छ । काठमाडौंको खुद्रा बजारमा मासुको मूल्य त्यो भन्दा पनि धेरै हुनसक्ने बताइएको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले गत हप्ता तोकेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा तयारी मासुको प्रतिकिलो मूल्य ३५० रुपैयाँ छ । जसमा प्रतिकिलो १५ रुपैयाँ नाफा राखेर खुद्रा व्यापारीले उपभोक्तालाई बिक्री गर्दा मासुको उपभोक्ता मूल्य ३६५ रुपैयाँ हुनु पर्ने हो तर अधिकांश स्थानहरुमा ३७० रुपैयाँभन्दा बढीमा मासु खरिद–बिक्री भएको छ ।

फार्मिङ एण्ड एग्रिकल्चर रिसर्च म्यानेजमेन्टले उल्लेख गरेअनुसार काठमाडौंमा तयारी मासुको मूल्य ३१५, पोखरामा ४१०, धनगढीमा २८० र इटहरीमा ३०० रुपैयाँ प्रतिकिलो हो । तर बजारमा यो भन्दा धेरै मूल्यमा मासु बिक्री भईरहेको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले बजारमा मासुको मागको तुलनामा आपूर्ति नभएका कारण मासुको मूल्य बढेको बताएको छ । वर्षभरिमा कुखुराको मासुको सबैभन्दा बढी माग हुने महिना हो माघ र फागुन । मासु व्यवसायीहरुका अनुसार पिकनिक, बिहे र अन्य कामका लागि अत्यधिक मासुको खपत यो दुई महिनामा हुन्छ । व्यवसायीले यही सिजनको मौका छोप्न चिकेन होलिडेको रणनीति लिएका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौंमा प्रत्येक दिन तीन लाख किलो तयारी कुखुराको मासुको खपत हुन्छ । एक सय ६० रुपैयाँ मूल्यवृद्धि हुँदा काठमाडौं उपत्यकाबाट मात्रै एक दिनमा ४ करोड ४८ लाख रुपैयाँ कमाउने उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्