सुरक्षाकर्मीको कडाइपछि तस्करको भागाभाग



सुभेन्द्र दास, लहान।

सिरहामा प्रहरी प्रमुखको रुपमा उमाप्रसाद चतुर्वेदी र सशस्त्र प्रहरी उपरीक्षक प्रविन कंडेल आउनासाथ सिरहाबाट हुने तस्करी नियन्त्रणउन्मुख हुँदै गएको छ।चतुर्वेदी र कंडेलको सिरहामा आगमनपछि तस्करहरू सिरहाका नाका छाडेर भाग्न थालेका छन्।

करिब एक महिना पहिला सिरहा प्रहरीका प्रमुखमा सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक चतुर्वेदी र सशस्त्र प्रहरीको ७ नम्बर गण सिरहामा गत साउनमा सरुवा भएर आउनुभएका सशस्त्र प्रहरी उपरीक्षक कंडेल आउनासाथ सिरहाका तस्कर नाका छाडेर भागेका छन्।

सिरहामा एसपी चतुर्वेदी र कंडेल आउनुभन्दा पहिला तस्करहरूले प्रहरीलाई नै आर्थिक प्रलोभनमा पारेर तस्करीको लाइन सञ्चालन गर्ने गरेको भए पनि अहिले नेपाल प्रहरीका एसपी चतुर्वेदी तथा सशस्त्र प्रहरीका एसपी कंडेलले तस्करीमा कडाई गरेपछि तस्कर सिरहाका नाका छाडेर अन्य नाका जान बाध्य भएका छन्।

एसपी चतुर्वेदी भन्नुहुन्छ– ‘आफ्नो पहिलो काम र कर्तव्य भनेको सिरहा जिल्लामा शान्तिसुरक्षा कायम गर्ने हो र त्यसपछि अवैध लागूऔषध ओसारपसार र हातहतियार ओसारपसार तथा तस्करी नियन्त्रण गर्ने काममा लागेको छु।’

त्यसैगरी सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका सशस्त्र प्रहरी प्रमुख एसपी कंडेलले आफ्नो जिम्मेवारी राजश्व चुहावट नियन्त्रण गर्ने र लागूऔषध तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने तथा नेपाल प्रहरीलाई थप बलको रुपमा सहयोग गर्ने र संगठनले दिएको निर्देशनअनुरुप काम गरिरहेको बताउनुभयो।

एसपी चतुर्वेदीले सिरहा जिल्लामा रहेकोे प्रहरी चौकी तथा ईलाका प्रहरी प्रमुख वा कुनै पनि प्रहरीले तस्करहरूसंग साँठगाँठ गरेको पाइए कार्यस्थलमा नै कारबाही गर्ने चेतावनी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्