कांग्रेस नेताको ‘मास्क’



नेता रामचन्द्र पौडेलको नाकमा मास्कले घाउ बनायो र उहाँ उपचारार्थ आकस्मिक कक्षमा भर्ना हुनुभयो। यो समाचार पढेर तपाईं हाँस्नु त भएन नि ’ हाँस्नु हुन्न है, खासगरी कोही बिरामी भएको अवस्थामा त झनै हाँस्नै मिल्दैन।

त्यसमाथि नेपाली कांग्रेसका कर्मठ नेता पौडेललाई जाबो मास्कले चुनौती दिइरहेका बेला आनन्द मान्ने त कुरै हुँदैन। खासमा, मास्क केपी ओली पक्षीय रहेछ कि के हो ’ ओलीले कुनै दिन चिन्ता प्रकट गर्नुभएको थियो– मानिसहरु मास्क लगाएर सरकारको विरोध गरिरहेका छन्।

काठमाडौंमा कुनै धुलो–धुवा नभए पनि सरकारलाई विरोध गर्नकै लागि लगाइएका भनिएका मास्कमध्येको एक थियो कि त्यो पौडेललाई घाउ बनाइदिने मास्क ’ धरहरालाई के पनि शंका छ भने, धुमबाराहीको ह्याम्स अस्पतालमा बिहीबार बरामद भएको मास्कमा नेकपा जनाउने कुनै बस्तु हुनुपर्छ।

मास्क अलि साँघुरो थियो त्यसैले नाकको डाँडीमा घाउ बनायो भनेपछि गम्भीर षड्यन्त्र झल्किन्छ। नेता पौडेल वास्तवमा जिन्दगीभर षड्यन्त्रको शिकारमा परेका पीडित व्यक्तित्व हुनुहुन्छ। पछिल्लो पटक उहाँलाई शेरबहादुरले षड्यन्त्र गरेर ‘हामी मिल्यौं’ भन्ने संकेत गर्दै हात उठाएर फोटो खिचाईकन मिडियामा प्रकाशित–प्रसारित गराइदिनुभयो।

सोझा पौडेललाई लटरपटर पारेर आफ्ना मुद्दामा सहमत गराउने र सानो व्यक्तिगत हितको कुनै काम गरिदिएझैं गर्ने देउवाले फोटो खिचाएलगत्तै नाकमा घाउ हुन्छ भने शंकाको सुई बुढानीलकण्ठतिर पनि सोझिन्छ। तर, हाँस्न भने मिल्दैन।

प्रतिक्रिया दिनुहोस्