नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गरौं



सरकारले हरेक दिन आर्थिक समृद्धिका नारा लगाइरहँदा नेपालका गाउँ खालि हुने क्रम बढिरहेको छ। गाउँ ज्येष्ठ नागरिकको घरजस्तो भइसकेको छ। दुःखका साथ भन्नुपर्छ– कतिपय गाउँ महिलाका भरमा चलेको छ।

गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ। सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैँ मालिक बन्न सकिन्छ। तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने गलत मान्यता अझै पनि हाबी भएको छ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार वार्षिक ६ लाख नेपाली युवाशक्ति विदेश पलायन हुने गरेका छन्। युवा विदेशिने क्रममा कमी होइन, दिनहुँ बढोत्तरी भइरहेको छ। स्वदेशमा यसको विकल्प नखोज्ने हो भने दशकौँसम्म नेपालीले विदेशमै श्रम बेच्दै दासत्वको जीवन बिताउनुपर्नेमा कुनै द्विविधा छैन।

आफ्नो सीप र क्षमताअनुसार स्वदेशमा रोजगार पाउन नसकेको तीतो यथार्थ भए पनि विदेश पलायन हुनु नै अन्तिम विकल्प होइन।
वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण बढ्दो छ। एसईई उत्तीर्ण गरेका युवा प्लस टु पनि नपढ्दै विदेशको सपना देख्न थाल्ने मानसिकता छ। उच्च शिक्षा सकेर प्रमाणपत्र हातमा लिएर बसेका युवाहरूको सपना पनि विदेशमै रहेको पाइन्छ।

देखासिकी होस् वा बाध्यता, अभिभावकहरू नै युवापुस्तालाई विदेश जान प्रोत्साहित गरिरहेका छन्। वैदेशिक रोजगारीको सपनाले मनमा जरो गाडेपछि युवापुस्ता गाउँ–शहरमा अडिनै नसक्नेजस्ता भएका छन्। दृष्टान्तका लागि जापनिज र कोरियन भाषा पढ्नेहरूको लर्कोलाई लिन सकिन्छ।

स्वदेशमा श्रम गर्नु देशको अस्तित्वसँग गाँसिएको विषय हो। तर, रोजगारीका विकल्पहरूको खोजी नगरी राज्य भने रेमिट्यान्स भित्रिएको बहानामा केको न्यानोमा हराइरहेको छ। सरकारले आर्थिक समृद्धिको रट लगाए पनि स्वदेशमै युवाहरूलाई रोक्ने रणनीति बनाउन सकिरहेको छैन। सरकार र युवाशक्तिको सोचमै परिवर्तन नआएसम्म न समृद्धि सम्भव छ, न त वैदेशिक पलायन रोक्न नै सम्भव।

मुलुकले आर्थिक र सामाजिकरूपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ। काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लागिपर्नुपर्छ। विदेशमा पनि तलब नपाएर बिचल्लीमा परेका, चर्को श्रम शोषणमा परेका, विदेश–मोहले परिवार नै बिगारेका दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन्। सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न सक्नुपर्छ।
– प्रविन डल्लाकोटी, धादिङ।

प्रतिक्रिया दिनुहोस्