अलपत्र पुस्तकालय



किताबको हेरचाह ज्ञानको सम्मान हो। हिजै मात्र सरस्वती पूजा गरेर श्रीपञ्चमी मनाएका हामी नेपालीका लागि किताबको महिमा थाहा नभएको होइन। पछिल्लो समय किताब मात्र नभएर विद्युतीय अभिलेख पनि यस्तै ज्ञानको स्रोत भएको छ।

त्यसैले परम्परागत पुस्तकालयले समेत डिजिटल सञ्जालबाट पनि ज्ञान बाँडिरहेका छन्। भौतिकरूपमा स्थानीय पुस्तकालयको सेवा लिनु आफ्नो ठाउँमा छ, हामी काठमाडौंमा बसेर क्यालिफोर्निया र कराँचीको डिजिटल पुस्तकालयमा प्रवेश गर्ने र त्यहाँको ज्ञान हासिल गर्ने अवसरमा छौं। यस अवस्थामा परम्परागत र आधुनिक दुवै संरचनाका पुस्तकालयको संरक्षण, संवद्र्धन र उपयोग बढाउने वातावरणको विकास आवश्यक छ।

राजधानीमा रहेका ६ दशक लामो इतिहास बोकेको राष्ट्रिय पुस्तकालय र चार दशक पुरानो केशर पुस्तकालयको अवस्था दयनीय बन्दै गएको समाचार प्रकाशमा आइसकेको छ। दुवै पुस्तकालय भवन पुनर्निर्माण हुने भएपछि त्यहाँका पुस्तक कहाँ राख्ने समस्या देखिएको छ।

लामो इतिहास बोकेका र राष्ट्रिय पहिचानसँग गाँसिएका यी दुई पुस्तकालयको अवस्थाबारे सरकार गम्भीर देखिएको छैन। दुवै पुस्तकालय प्रशासनले पुस्तकालय स्थानान्तरण गर्न तालुकदार निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बारम्बार पत्राचार गरेको देखिन्छ।

तर हालसम्म समस्या समाधान हुन सकेको छैन। २०१३ साल पुस महिनामा स्थापना भएको राष्ट्रिय पुस्तकालय र २०३६ साल साउनमा स्थापना भएको केशर पुस्तकालय नेपालका धरोहर हुन्, यहाँ नेपालको मात्रै होइन विश्वको इतिहासको ज्ञान हासिल गर्न सकिन्छ।

राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरीद गरेर र अनेक स्रोतबाट पुस्तक संकलन गरी स्थापना गरिएको राष्ट्रिय र राणा प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केशर शमशेरले संग्रह गरेका पुस्तकहरूको संग्रह केशर पुस्तकालयका सयौं वर्ष पुराना ग्रन्थलाई कसरी जोगाउने भन्ने विषय गम्भीर छ।

दुवै पुस्तकालय प्रशासनले मन्त्रालयमा पत्र पठाएको महिनौं बितिसकेको छ। कहिले बजेट दिन्छ र पुस्तकहरू व्यवस्थापन गरौंला भनेर पुस्तकालय प्रशासन कुरिरहेको छ। २०७२ साल वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनेको दुई भवनको पुस्तक जोगाउन त्यतिबेलादेखि नै समस्या थियो।

बल्लतल्ल सोही भवनमा पुस्तकालय सञ्चालन गरेको दुई पुस्तकालयको भवन पुनर्निर्माण गर्नुपर्ने भएपछि त्यहाँका पुस्तक कहाँ सार्ने भन्ने समस्या भएको छ। केशर पुस्तकालयमा करिब ६ सय हस्तलिखित ग्रन्थसहित नेपाली र विदेशी भाषाका करिब ६० हजार पुस्तक छन्।

राष्ट्रिय पुस्तकालयमा करिब एक लाख पुस्तक संग्रहित छन्। हुन त सरकारले नेपालमा रहेका ८ सय ८३ सार्वजनिक र सामुदायिक पुस्तकालयलाई कसरी सामयिक र आधुनिक बनाउने भन्ने विषयमा कुनै ठोस योजना ल्याउन सकेको छैन।

दुई पुस्तकालयबाहेक मदन, कीर्तिपुरस्थित केन्द्रीय, डिल्लीरमण, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय सञ्चालनमा छन्। यी पुस्तकालयले लाखौं पाठकलाई सेवा दिइरहेका छन्।

भएका पुस्तकालयलाई कसरी आधुनिक बनाउने र दुई पुस्तकायलको पुस्तक कसरी जोगाउने भन्ने विषयमा तत्काल सोच्नुपर्ने अवस्था छ। अन्य पुस्तकालयहरू जेनतेन सञ्चालन भइरहेपछि ऐतिहासिक दुई पुस्तकालयलाई समयमै जोगाउन र इतिहासको पहिचान दिने पुस्तकलाई बचाउन जरुरी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्