‘गलत भनिस्, यो देश सिर्फ राजाको हो’



दीपक खनाल

द्वन्द्वको पीडा कतिसम्म गहिरो हुन्छ भन्ने कुरा संगीता खड्काका युद्धका ती दिनहरू (एक पत्रकारको भोगाइ) पढेपछि थाहा हुन्छ। यो पंक्तिको मूलशीर्षक यान्त्रणाशिविरका एक पात्रको ‘भविष्यवाणी’ हो।

‘द्वन्द्व’ आफैमा ध्वंस होइन, सबै द्वन्द्व ध्वंसात्मक हुँदैनन् पनि, कतिपय द्वन्द्वहरू समाज रूपान्तरणका लागि मार्गदर्शक हुन्छन्। तर द्वन्द्वले सीमा नाघेपछि, धैर्यता टुटाएपछि वा समयमा नै द्वन्द्वको पहिचान गरी कारण र समाधानका उपायहरू नखोजेपछि त्यसले हिंसात्मक रूप लिन्छ। मुलुकले अनाहकमा क्षति बेहोर्नुपर्छ। सर्वसाधारण जनताले द्वन्द्वरत पक्षको दोहोरो मार र चपेटामा पर्नुपर्दछ।

सामान्यरूपमा उठेको असन्तुष्टि वा द्वन्द्वलाई तत्कालीन सरकारले समयमा नै मतलब नराख्दा वा बेवास्ता गर्दा मुलुक १० वर्षे गृहयुद्धमा फसेको इतिहास अझै ताजा छ। यसको कारण १७ हजार मानिसको मात्र ज्यान गएन, राज्यले करोडौं क्षति बेहोर्नुपर्यो।

त्यसको मारमा संगीता खड्काजस्ता जनपक्षीय पत्रकारले अनेक यातना–प्रताडना सहनुपर्यो। मुलुकले कृष्ण सेन इच्छुकजस्ता होनहार पत्रकार, कवि र देशभक्तलाई गुमाउनुपर्यो। विद्रोही शक्तिबाट डेकेन्द्र थापा, ज्ञानेन्द्र खड्काजस्ता पत्रकारले मारिनुपर्यो।

संगीताको युद्धका ती दिन उहाँले हिरासत र जेलमा भोग्नुपरेका कहालीलाग्दा यातनाका फेहरिस्त हो वा भनौं वकपत्र हो। निकै जीवन्तरूपमा दैनिकी शैलीमा उल्लिखित पुस्तकका प्रत्येक शीर्षक पढ्दा सङ्कटकालका ती चरम आतङ्कमय दिनको स्मरण हुन्छ।

एकअर्थमा यो द्वन्द्वकालीन समयको इतिहासको एउटा कोसेढुंगा पनि हो। मुलुक द्वन्द्वमा फस्दा मानवीय जीवनको मूल्यबोधलाई कसरी खरानी बनाइन्छ भन्ने एक साक्षी प्रमाण हो। बर्बरकालीन युगमा झैं यो एक्काइसौं शताब्दीमा पनि कसरी चर्चर यातना दिइँदोरहेछ भन्ने कसी हो।

राजनीतिक स्थिरता कायम भएर मुलुक समाजवाद–उन्मुख यात्रामा लामबद्ध भएको मानिए पनि एउटा पक्ष अहिले पनि असन्तुष्ट छ। यो पुस्तक पढ्दा र आफ्नै जेलकालीन जीवनका नमीठा दिनहरू सम्झँदा यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समेत असन्तुष्ट स्वरलाई त्यतिबेलाझैं यातना दिइँदोहोला जस्तो लाग्छ।

कतै–कतै आदरार्थी (तिमी, तपाईं)मा कमजोरी देखिए पनि समग्रमा पुस्तक पठनीय र नेपाली द्वन्द्व पत्रकारिताको महत्वपूर्ण सन्दर्भ–सामग्री अर्थात् ‘लिटेचर रिभ्यु’ बन्न सक्छ।

साथै, यसले द्वन्द्वको घाउ र त्यसले निम्त्याएको सङ्कटकालको दुखाइको अनुबोध गराउनसक्छ। सारमा एक सङ्घर्षशील नारी, एउटा पत्रकार अनि एउटा मान्छेले भोगेको चरम यातनाको जीवन्त दस्तावेज हो युद्धका ती दिन।

प्रतिक्रिया दिनुहोस्